प्रवर्द्धक, सञ्चालक र उच्च व्यवस्थापनले आ-आफ्नो संस्थाको गोप्य सूचनाहरु बाहिर चुहावट गरेर सेयर बजारमा चलखेल गरेको घटनाहरु विगतमा फाट्टफुट्ट सुन्नमा मात्र आउँथ्यो, जुन अहिले आम भइसकेको छ। वित्तिय संस्थाहरुको त्रैमासिक वित्तिय विवरण वा सञ्चालक समितिले प्रतिफल घोषणा गर्ने औपचारिक जानकारी प्रकासित नहुँदै बजारमा अप्रत्यासित कारोबार देखिन थाल्नु यसैको उपज हो।
नैतिक र कानुनी रुपमा नमिल्ने यस्ता सूचना चुहावट गरेर अहिले सीमित वर्गले फाइदा उठाउने गरेका छन्। हुनत गोप्य सूचनाहरु चुहावट नेपालको सन्दर्भमा नयाँ होइन। विगतदेखि नै सरकारी टेन्डर, बजेटमा समावेश गरिएका करका दर र दायराहरु, नयाँ नियम कानुनसँग सम्बन्धित सूचनाहरु समय अगावै चुहावट हुने गरेकै हो। तर सूचना चुहावट अहिले सेयर बजार प्रभावित पार्ने गरी सुचिकृत कम्पनीका अधिकारीहरु स्वयंमबाट हुन थालेको छ। सीमित वर्गले फाइदा लिने र पहुँच नभएकाहरु सँधै पछाडि पर्ने यस्ता विकृति विरुद्ध कानुनी रुपमै केही गर्न जरुरी भइसकेको छ।


कुनै पनि संघ संस्थाको गोप्य सूचनाहरु समय अगावै चूहावट गरि धितोपत्रको कारोबारमार्फत सीमित वर्गले फाइदा लिन्छन् भने त्यो 'इनसाइड डिलिङ' हो । पदको दुरुपयोग गरेर सूचना चुहावट हुने यस्ता विक्रृति रोक्नका लागि नियमनकारी निकाय, सरकारी संस्थाहरु उदासिन नै देखिन्छन् ।
'इन्साइड डिलिङ'का कारण देखिने गरी कोही पिडित बनेको घटना वाहिर आउँदैन। यसको प्रमुख कारण नेपालको सन्दर्भमा यस्ता किसिमको कारोबारको खासै चर्चा नभएर पनि हो। यस्तो गैरकानुनी कार्यले नीतिगत तहमा नै प्रसय पाउने गरेकाले पनि 'इन्साइड डिलिङ'का कारण पिडित बनेको घटना बाहिर आउन नसकेको हो। निति निर्माण तहमा बसेकादेखि पहुँचवाला आर्थिक बुद्धिजिविमा पनि यस खालको विचार विमर्श हुँदैन
त्यसो त आफ्नो र सानो समूहको फाइदाका लागि नेता, कर्मचारी वा पहुँचवालाबीच सूचना चुहावट गर्न होड नै चल्ने गर्छ। जबकी यस्ता सूचनाको पहुँच एकैचोटी सबैमा हुनु पर्छ, जसले गर्दा सबैले तुलनात्मक लाभको विश्लेषण गरी आफ्नो लगानी नीति बनाउन सकुन्।
इन्साइड डिलिङजस्तो अपराधमा राज्यका निकायहरु मौन देखिनु एकदमै दुखद हो । बैंक, बीमालगायत कम्पनीहरुको गोप्य सूचनाहरु त्रैमासिक वित्तीय विवरण, नयाँ योजना, लगानिकर्तालाई दिइने प्रतिफल आदिको पहिलै सूचना चुहावट हुँदा बजार विपरित तरिकाले प्रभावित भईरहेको देखिन्छ।
स्वस्थ रुपमा पुँजी बजारको अभ्यास हुनु पर्छ भन्ने हो भने, सबै लगानिकर्ताहरुले एकै खाले सूचनाको आधारमा कारोबार गर्ने वातावरण हुनु पर्छ। तर इनसाइड डिलिङले सीमित वर्गले लाभ लिइसकेपछि पहुँच नहुने लगानीकर्ताले सूचना पाउँछन्। पहिले नै चलखेल भइसकेको हुनाले औपचारिक माध्यमबाट सुनचा आइसक्दा लगानीकर्ताको पुँजी क्षयीकरण हुने सम्भावना हुन्छ।
सबैमा एकै समयमा सही सुचना आउने वातावरण बनाउन जरुरी छ। सम्पूर्ण लगानिकर्ताहरुको सूचना माथिको अधिकार सुनिश्चित गर्न नियामक निकाय र सरकारले कानुनी व्यवस्था नै गर्नुपर्छ। त्यसमा पनि नियमक निकायले अझ बढी भूमिका यसमा खेल्न जरुरी छ। नियामकले बजारमा अप्रत्यासित रुपमा हुने मूल्यको बृद्धि वा गिरावटको सूक्ष्म अध्ययन गर्न आवश्यक छ।
इनसाइड डिलिङ र इनसाइडर (सुचना चुहावट गर्ने) को बारेमा विगूल नै फूक्न जरुरी छ। 'इनसाइडर डिलिङ'लाई रोक्नका लागि विगुल फुक्नेहरुलाई कानुनले पनि संरक्षण दिनुपर्छ। पुँजी बजारमा 'इनसाइडर डिलिङ' बन्द गर्ने हो भनेे विगूल फूक्नेहरुको संरक्षण गर्ने कानून बनाइनु पर्दछ।
विश्वको अन्य मूलकहरुमा यस्ता गलत कार्यहरुको विगुल फूक्ने कार्यलाई संस्थागतरुपमा नै संरक्षित गरिन्छ। त्यहाँ विभिन्न गलत कार्यहरु जस्तै नियम र प्रकृयाविनाको कार्य, संस्थाको सम्पति अनधिकृत रुपमा प्रयोग, संस्थाको गोप्य सूचनाहरुको दुरुपयोगजस्ता कार्यहरुको विगूल फूक्नेलाई संरक्षित तथा पूरस्कृत गरिन्छ। विकसित मूलकहरुमा सूचनाको हिसावले संवेदनसिल भनिएको सर्म्पूण कार्यलयको कर्मचारीहरुलाई गलत कार्य विरुद्ध विगुल फूक्न प्रेरित गरिन्छ। जुन हाम्रो सन्दर्भमा अति आवश्यक देखिन्छ।
यो पनि पढ्नुस् http://www.bizmandu.com/content/-6803.html









