किन्न जाने साना कम्पनीले पनि दिन्छन् उच्च प्रतिफल

बिजमाण्डू
२०७१ बैशाख २० गते ००:०० | May 3, 2014
किन्न जाने साना कम्पनीले पनि दिन्छन् उच्च प्रतिफल

विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । लगानीकर्तालाई सल्लाह दिंदा कतिपय सेयर विश्लेषक ठूला ब्लु चिप कम्पनीहरुको सेयर किन्न सुझाउँछन् । विश्लेषकहरुको नजरमा एभरेष्ट, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, चिलिमे लगायतका कम्पनी हुन्छन् । यी कम्पनीहरुमा हुने संस्थागत शुसासन, लगानीकर्ताले पाउने प्रतिफलको रेसियो लगायतका पक्ष पनि उनीहरुले हेर्छन ।

विश्लेषक र लगानीकर्ताका लागि बजारका यस्ता ठूला कम्पनी पहिलो रोजाईमा पर्नु स्वभाविक हो । तर के बजारमा ठूला कम्पनी मात्रै प्रतिफल दिन्छन् ?
 
उदाहरण १.
एक लगानीकर्ताले २०७० बैशाख १७ गते चिलिमे जलविद्युत् कम्पनीको सय कित्ता सेयर किनेका थिए । त्यतिखेर चिलिमेको सेयर एक हजार एक सय ३४ रुपैयाँमा किनबेच भइरहेको थियो । यो आधारमा एक सय कित्ता सेयरको लागि ती व्यक्तिले एक लाख १३ हजार चार सय रुपैयाँ तिर्नुपर्यो ।
कम्पनीको २०७१ साल बैसाख १७ गते प्रति सेयर मूल्य एक हजार आठ सय ७० रुपैयाँ छ । यो नयाँ मूल्यको आधारमा सय कित्ता सेयर अब एक लाख ८७ हजार रुपैयाँ बराबर भयो । त्यस्तै, कम्पनीले यो बीचमा १० प्रतिशत नगद र ३० प्रतिशत बोनस सेयर दियो । लगानीकर्ताले नगद वापत एक हजार रुपैयाँ पाए भने बोनस वापत पाएको ३० कित्ता सेयरको अहिलेको नयाँ मूल्यको आधारमा ५६ हजार एक सय रुपैयाँ भयो ।
उनले गरेको एक लाख १३ हजार चार सय रुपैयाँ लगानी अहिले सबै जोडेर दुई लाख ४४ हजार एक सय रुपैयाँ बराबर भएको छ । अहिले उनले आफ्नो लगानीबाट एक सय २३ प्रतिशत बढि प्रतिफल पाए ।

Tata
GBIME
Nepal Life

उदाहरण २
उनै लगानीकर्ताले २०७० बैशाख १७ गत चिलिमेको सट्टा मितेरी विकास बैंकमा लगानी गरेको भए, त्यसको परीणाम के आउँथ्यो ?
उनले मितेरीको सय कित्ता सेयर किन्न प्रतिकित्ता एक सय २९ रुपैयाँका दरले १२ हजार नौं सय रुपैयाँ तिर्नुपर्यो । २०७१ साल बैशाख १७ गते बैंकको सेयर मूल्य चार सय १० रुपैयाँ पुगेको छ । यसबीचमा बैंकले २० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश पनि दियो ।
उनले नगद लाभांशवापत पाँच सय रुपैयाँ पाए भने बोनस वापत पाएको २० कित्ता सेयरको अहिलेको मूल्यको आधारमा आठ हजार दुई सय रुपैयाँ पुगेको छ । सुरुमा १२ हजार नौं सय रुपैयाँ लगानी गरेका उनले अहिले सबै जोडेर ४९ हजार सात सय रुपैयाँ कमाए । यो रकम लगानी गरेकोभन्दा दुई सय ८५ प्रतिशतले बढि हो ।

त्यसैले लगानीकर्ताले संधै ठूलो कम्पनी मात्रै पछ्याउनुपर्छ भन्ने हुँदैन्, साना कम्पनीबाट पनि राम्रो फाइदा लिन सक्छन् । ब्रोकर्स एशोसिएसनका अध्यक्ष नरेन्द्रराज सिजापति भन्छन्, लगानीकर्ताले यो कुरा नबुझेका होइनन्, तर लगानी व्यवस्थापनको क्रममा यस्ता कम्पनी पाखा लाग्ने गरेका छन् ।
उनले भने, ‘लगानीकर्ताहरु अहिले लगानी विविधिकरणलाई पनि आत्मसाथ गरिरहेका छन्, यसो हुँदा घुमिफिरी ठूुला कम्पनी नै छनौटमा राख्ने लगानीकर्ताहरुको बानी बसेको छ ।’
जस्तो, जलविद्युतको एउटा, बाणिज्य बैंकको एउटा, इन्स्योरेन्सको एउटा कम्पनी छान्दा पनि ठूला कम्पनी नै छनौटमा परेका छन् । ठुलै कम्पनीलाई लगानीकर्ताले बढि महत्व दिनुमा त्यस्ता कम्पनीहरु प्रति लगानीकर्ताको विश्वास मुख्य कारक भएको सेयर विश्लेषक अमृतनाथ रेग्मी मान्छन् ।
‘संसारमै पनि लगानीकर्ताले धेरै महत्व दिने भनेकै धेरै सञ्चित तथा जगेडा कोष भएका कम्पनीलाई हो । निश्चय नै साना कम्पनीहरुको तुलनामा ठूला कम्पनीमा यस्तो रकम धेरै हुन्छ’, रेग्मी बताउँछन् ।
तर साना कम्पनी पनि धेरै प्रतिफल दिने अवस्थामा हुन्छन र लगानी विविधिकरण गर्दा साना र ठूला सबै कम्पनीलाई मिलाउन ठीक हुने उनको सुझाव छ । उनी साना कम्पनीबारे भन्छन्, ‘निश्चय नै साना माछा ठुलाको दाँजोमा स्वादिला हुन्छन्, साना कम्पनी पनि यस्तै स्वादिला हुन् ।’
कतिपय लगानीकर्ता साना कम्पनीको तुलनामा ठूला कम्पनीको सेयर जहिले पनि सजिलैसँग खरिद बिक्री गर्न सकिने भएकोले पनि आकर्षण रहेको मान्छन् । हामीले छानेका धेरै मूल्य भएका केही कम्पनीको तुलनामा कम मूल्यका भएका साना कम्पनी पनि रेग्मीले भने झै स्वादिला देखिएका छन् ।

कहाँ हुन्छ फाइदा ?
एभरेष्ट बैंकको २०७० बैसाख १७ मा एक हजार पाँच सय ४४ रुपैयाँ थियो । अहिले बैंकको सेयर मूल्य ४२.४८ प्रतिशतले बढेर दुई हजार दुई सय रुपैयाँ पुगेको छ । बैंकले १० प्रतिशत बोनस सेयर ५०.५३ प्रतिशत नगद लाभांश दिएको छ ।
मुक्तिनाथ बिकास बैंकको सेयर मूल्य पनि यो अवधिमा ८७ प्रतिशतले बढेर पाँच सय २० रुपैयाँ भएको छ । बैंकको २०७० बैसाख १७ मा सेयर मूल्य दुई सय ७८ रहेको थियो । बैंकले यसबीचमा २० प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले १० बराबर तीन अनुपातमा हकप्रद सेयर पनि दिएको छ

स्ट्याण्डर्ड चार्टर्डको २०७० बैसाख १७ मा सेयर मूल्य एक हजार आठ सय २५ रुपैयाँ थियो । हाल बैंकको एक हजार सात सय ९९ रुपैयाँ मूल्य रहेको छ । मूल्य १.४२ प्रतिशतले घट्यो । बैंकले १० प्रतिशत बोनस र ४० प्रतिशत नगद लाभांश दिएको थियो ।
सिटी डेभलपमेन्ट बैंकको २०७० बैसाख १७ मा एक सय ५६ रुपैयाँ सेयर मूल्य थियो । १२६ प्रतिशतले मूल्य बढेर अहिले तीन सय ५३ मा सेयर कारोबार भइरहेको छ । बैंकले २१.३८ प्रतिशत बोनस सेयर दिएको थियो ।

नबिल बैंकको २०७० बैसाख १७ मा एक हजार सात सय ७० रुपैयाँ रहेकोमा ९.६० प्रतिशतले मूल्य बढेर एक हजार नौं सय ४० मा कारोबार भइरहेको छ । बैंकले २५ प्रतिशत बोनस र ४० प्रतिशत नगद लाभांश दिएको थियो ।
सिद्धार्थ बैंक, बाणिज्य बैंक भएपनि सेयर मूल्य कम हुने मध्येमा पर्छ । २०७० साल बैसाख १७ गते बैंकको सेयर मूल्य दुई सय ८३ रहेकोमा अहिले ९०.४५ प्रतिशतले बढेर पाँच सय ३९ रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले १२ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पनि दिएको छ ।

बुटवल पावर कम्पनीको एक बर्ष अगाडी सेयर मूल्य सात सय ५४ रुपैयाँ थियो भने अहिले सात सय ८५ मा कारोबार भइरहेको छ । मूल्य ४.१ प्रतिशतले बढेको छ । यसबीच कम्पनीले १८ प्रतिशत नगद लाभांश दिएको छ भने तीन बराबर दुई अनुपातमा हकप्रद सेयर ।
कृषि बिकास बैंकको एक बर्ष अगाडी सेयर मूल्य दुई सय ३० रहेकोमा एक सय १० प्रतिशतले मूल्य बढेर चार सय ८४ रुपैयाँ पुगेको छ । बैंकले हाल भने ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

अरुणभ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य एक बर्षको अवधिमा करिब ६० प्रतिशतले बढेर चार सय ४६ रुपैयाँ पुग्यो । कम्पनीको २०७० बैसाख १७ मा मूल्य दुई सय ७९ थियो । कम्पनीले यसबीचमा एक बराबर एक अनुपातमा हकप्रद सेयर दिएको छ ।
विश्व बिकास बैंकको पनि सेयर मूल्य एक बर्षको अवधिमा ७०.५ प्रतिशतले बढेर दुई सय २० रुपैयाँ पुगेको छ । बैंकको २०७० बैसाख १७ मा एक सय २९ रुपैयाँ सेयर मूल्य थियो । बैंकले १८ प्रतिशत बोनस र चार बराबर एक अनुपातमा हकप्रद सेयर दिएको छ ।

यो एक बर्षको अवधिमा बीमा कम्पनीहरुले पनि उल्लेख्य प्रतिफल दिएका छन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सेयर मूल्य एक बर्षयता दुई सय ५७ प्रतिशतले बढेर तीन हजार पाँच सय २९ रुपैयाँ पुगेको छ । कम्पनीले यसबीच ३० प्रतिशत बोनस र चार बराबर एक अनुपातमा हकप्रद सेयर दिएको छ ।
बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्नुपर्ने कारण र यसबर्षबाट बार्षिक रुपमा एक्चुअरी रिपोर्ट सार्वजनिक गर्न थालेकाले पनि आकर्षण र मूल्य बढेको हो । त्यसैले कम्पनीहरुको आकर्षण र तिनीहरुबाट हुने प्रतिफल प्राप्त दर फरक फरक भइरहने हुँदा यी पक्षमा पनि ध्यान दिन विश्लेषक रेग्मीले सुझाव दिएका छन् ।
अहिले पनि केही बीमा कम्पनीको बीमा कोष (सञ्चिती) चुक्तापूँजी भन्दा धेरै रहेकोले पनि लगानीकर्ता आकर्षित भइरहेको उनी बताउँछन् । तर, यस बीचमा कम मूल्य भएका र राम्रो प्रतिफल दिने कम्पनीहरुमा पनि लगानी गर्न ठिक हुने उनी बताउँछन् । जसले गर्दा जोखिम भइहाले पनि धेरै घाटा व्यहोर्ने अवस्था नआओस ।
सुशासन, वित्तीय अवस्था र विगतमा दिएको प्रतिफलको दर हेरेर लगानीकर्ताले कम्पनी छान्नुपर्ने सुझाव विश्लेषकहरुको छ । कम्पनीले सार्वजनिक गर्ने भावी योजना पनि लगानीकर्ताले हेर्नै पर्छ । कम्पनीको बजार विस्तार योजनामा पनि मूल्य भर पर्छ । यस अघि कम्पनीले गरेको बजार विस्तार, निर्णयको परिपक्वता पनि कम्पनी छान्ने आधार हुनसक्छन् ।