एनसेलका ग्राहकलाई विकिपिडियामा सित्तै पहुँच, ‘ज्ञानको भण्डार’ बढाउन नयाँ स्किम

बिजमाण्डू
२०७१ बैशाख २३ गते ००:०० | May 6, 2014
एनसेलका ग्राहकलाई विकिपिडियामा सित्तै पहुँच, ‘ज्ञानको भण्डार’ बढाउन नयाँ स्किम
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई डाटा सेवामा विकिपिडिया सित्तैमा चलाउन दिने भएको छ । विश्वकै ठूलो अनलाइन पुस्तकालय विकिपिडियाको सञ्चालक विकिमिडिया फाउण्डेसनसँग सहकार्य गर्दै ‘विकिपिडिया जिरो’ स्किम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 
बुधबारदेखि यो सेवा सुरु हुने कम्पनीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अब एनसेलबाट इन्टरनेट चलाउने ग्राहकले निःशुल्क विकिपीडिया चलाई त्यसमा रहेका करौडौँ जानकारीमुलक लेख तथा अध्ययन सामग्री हेर्न र पढ्न सक्नेछन् । साथै, विकिपिडियामा नेपाल बारे जानकारी अपलोड गर्न समेत अब सजिलो हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानलरले बताए । 
‘मोबाइल सेवा प्रदायकको काम भ्वाइस र डाटा सेवा दिने मात्र होइन’ उनले भने ‘यसले समाजसँग जोडिएका कैयन् अरु काम पनि गर्न सक्छ र हामीले ‘विकिपिडिया जिरो’ मार्फत् त्यसैको सुरुवात गरेका हौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाए किसानलाई डाटा दिएर बजार र मूल्यमा सहजता ल्याउने बारे समेत आफूहरुले काम गर्न सक्ने उनले बताए । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले अजरबैजानमा सञ्चालन गरेको अजरसेलले किसानलाई सित्तैमा डाटा सेवा दिएपछि उनीहरुको बजार र मूल्यमाथि पहुँच बढेको उनको भनाइ छ । 
विकिपिडिया संसारकै ठुलो अनलाइन विश्वकोष हो । प्रत्येक महिना ५० करोड व्यक्तिले विकिपिडिया चलाउने तथ्याङ्क छ । विश्वका दुई सय ८७ भाषामा तीन करोड भन्दा बढी लेख/सामग्री विकिपिडियामा उपलब्ध छन् । विश्वभरका ८० हजार स्वयंसेवक लेखकले यी लेख/रचना तयार गरेका हुन् । यस्तो विशाल सन्दर्भ सामग्रीमा सहज पहुँचले नेपालको शैक्षिक र चेतनाको स्तरमा समेत ठुलो योगदान पुग्ने कम्पनीको कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले बताइन् । 
प्राविधिक कारणले ओपेरा मिनी, ब्ल्याकबेरी तथा अरु प्रोक्सी ब्राउजर चलाउने ग्राहकले भने ‘जिरो विकिपिडिया’ सेवा नपाउने कम्पनीले जनाएको छ । यस्ता सेट/ब्राउजरबाट विकिपिडिया चलाउँदा नियमित डाटा शुल्क लाग्ने जनाइएको छ । 

Tata
GBIME
Nepal Life