बिजयराज खनाल/बिजमाण्डू
काठमाडौं। वाणिज्य बैंकहरुको खुद मुनाफाको वृद्धिदर खुम्चिँदै गएको छ। चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म (साउनदेखि चैत) को वित्तीय विवरण प्रकाशित गरेका १८ बैंकहरुको चुक्ता पूँजी र सञ्चिति (रिजर्भ) को तुलनामा नाफाको बृद्धि दर खुम्चिँदै गएको हो।
'निश्चय नै यसपटक बैंकहरुको वृद्धिदर घटेको छ, यसो हुनुको मूख्य कारण बजारमा कडा प्रतिस्पर्धा र र स्प्रेडदर घट्नु हो,' सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बिजमाण्डूसँग भने, 'बजारमा प्रतिस्पर्धा बढेको कारण बैंकहरुले कर्जाको व्याजदर घटाउनु परेकोले नाफाको वृद्धिदर कम भएको छ।'
बैंकहरुको मुख्य आम्दानीको स्रोत व्याज आम्दानीको वृद्धिदर सुस्तिएको र कतिपयको यस्तो आम्दानीभन्दा व्याज लागत बढेको छ।
अहिले मूल्य वृद्धिको तुलनामा कर्जाको व्याजदर नै सस्तो भइरहेको छ, यसैले पनि बैंकहरुको प्रतिफल सकारात्मक हुन नसकेको संकेत गर्छ।
…..
…..
भुवनकुमार दाहाल
प्रमुख कार्यकारी अधिकृत
सानिमा बैंक
यही कारण हालसम्म वित्तीय विवरण प्रकाशित गरेका १८ बैंकहरुको खुद व्याज आम्दानीमा ६.८९ प्रतिशतले बढेको छ। ग्लोबल आइएमइसँग मर्ज भएको कर्मज एण्ड ट्रष्टको गत बर्षको यस्तो आम्दानीसमेत जोडेर तुलना गर्ने हो भने यस्तो आम्दानी जम्मा ५.५९ प्रतिशतले बृद्धि भएको छ। गत आवमा १८ वटा बैंकको खुद व्याज आम्दानी १७ अर्ब १५ करोड रुपैयाँ भएकोमा चालु आवमा १८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। बैंकहरुको खुद नाफा भने १७.३८ प्रतिशतले बढेर नौं अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
गत बर्ष यस्तो नाफा आठ अर्ब १८ करोड रुपैयाँ रहेको थियो, कमर्ज एण्ड ट्रष्ट बैंकसमेत समावेश गर्दा गत बर्ष यस्तो नाफा आठ अर्ब २४ करोड रुपैयाँ थियो। प्रतिशतका आधारमा माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा धेरै (२२३ प्रतिशत ) ले बढेको छ। सबैभन्दा कमले नाफा बढ्नेमा नेपाल इनभेष्टमेन्ट बैंक छ, बैंकको नाफा ३.३८ प्रतिशतले बढेको छ। एनसिसी, जनता र बैंक अफ काठमाण्डू (बिओके) को भने नाफा नै घटेको छ।
बैंकहरुको निक्षेप र कर्जाको वृद्धिदर समान रहेको छ। १८ बैंकहरुको निक्षेप २४.७७ प्रतिशतले बढेर छ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा २४.६९ प्रतिशतले बढेर चार खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेपको वृद्धि भएपनि लगानी बढ्न नसकेको कर्जा निक्षेप अनुपातले देखाउँछ। गत बर्ष बैंकहरुले नेपाल राष्ट्र बैंकको कर्जा निक्षेप अनुपात (८० प्रतिशत) मापदण्ड पुरा गरेर पनि लगानी योग्य रकम १० अर्ब रुपैयाँ बाँकी रहेको देखिन्थ्यो भने चालु आवमा यस्तो रकम १४ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७७.८१ प्रतिशत छ। गत आवमा यस्तो अनुपात ७७.८६ प्रतिशत थियो।
बैकर्स दाहालले भने, 'अहिले मूल्य वृद्धिको तुलनामा कर्जाको व्याजदर नै सस्तो भइरहेको छ, यसैले पनि बैंकहरुको प्रतिफल सकारात्मक हुन नसकेको संकेत गर्छ।' असारसम्ममा चालु आवको खर्च हुन बाँकी बजेट पनि खर्चिने क्रम बढ्ने र बैंकिङ क्षेत्रमा लागतमूखि पूँजी (निक्षेप) बढ्दै जाने उनी बताउँछन। यसले बैंकहरुको नाफाको वृद्धिदर थप कम भएर जाने उनको अनुमान छ।
बैंकहरुको सञ्चालन नाफा भने १६.५८ प्रतिशतले बढेर १३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। १८ बैंकहरु मध्ये १२ वटा बैंकले सम्भावित जोखिम वापतको रकम घटाएका छन। कतिपय बैंकको खराब कर्जाको हिस्सा घटेको र केही बैंकको नाफा वृद्धि देखाउने उदेश्यले पनि यस्तो रकममा कमी गरेको देखिने विश्लेषकहरु बताउँछन। केही बैंकहरुको भने यसअघि सम्भावित जोखिम वापत व्यवस्था गरेको रकम ऋण उठाएर फिर्तासमेत गरेका छन्, जसले गर्दा नाफा वृद्धि हुन केही सहयोग पुगेको छ।
औसतमा बैंकहरुको कुल कर्जामा खराब कर्जाको हिस्सा दुई प्रतिशतभन्दा कम रहेको देखिन्छ। तर कुमारी र एनसिसीको यस्तो हिस्सा सबैभन्दा धेरै क्रमशः ३.६९ र ३.४० प्रतिशत रहेको छ। सबैजसोले खराब कर्जाको लागि शत् प्रतिशत रकम प्रोभिजनिङ गरेका छन्। माछापूच्छ्रे बैंक बाहेक सबैको पूँजी कोष अनुपात ११ प्रतिशतभन्दा बढि छ। लाभांश वितरणपछि पनि यस्तो कोष अनुपात ११ को दरमा हुनुपर्ने मानिन्छ। एनसिसी बैंकको बाहेक सबैको कोष लागतमा केही कमी आएको देखिन्छ।
राष्ट्र बैङ्कले तोके अनुसार कुमारी बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंक, एभरेष्ट बैंक र बैंक अफ काठमाण्डुको यो अवधिमा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुगेको छैन।









