नेपाल बैंकमा पैसा झिक्न कति समय कुर्नु पर्छ ? तपाईलाई म चुनौती दिन्छु, नेपाल बैंकमा दुई मिनेट भित्र चेकको भुक्तानी दिन्छौं । यस्तो पनि ग्राहक भेटिएका छन् कि सेवा भनेको नेपाल बैंकको जस्तो हुनु पर्छ भन्छन्
—
—
गाउँगाउँमा वित्तीय सुविधा पुर्याउने राष्ट्र बैंक र सरकारको जुन लक्ष्य छ त्यसलाई स्प्रेडले असर नै गर्दैन भन्ने होइन, अवश्य गर्छ । हामीसँग अन्य कुनै स्रोत छैन, व्यवसाय गरेर नै हामीले आफूलाई विस्तार गर्नु पर्ने हुन्छ । अब यसका लागि खर्च त घटाउनु पर्ने नै हुन्छ
—
हामी पुँजी कोष १० प्रतिशत पुर्याउन योजना अनुसार नै अगाडि बढेका छौं । यसका लागि यो आर्थिक बर्ष (करिव दुई महिनाभित्र) एक अर्ब बराबरको सम्पति विक्री गरिसक्छौं । धेरै कुराहरु अगाडि बढिसकेको छ । एक अर्ब त पुग्छ, त्यस बाहेक प्रयास गरिरहेका छौं
—
सरकारी लगानी रहेका राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक करिब टाट पल्टिने अवस्थामा पुगेपछि १२ वर्ष अघि सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गर्यो । विश्व बैंक र डिएफआईडीको ऋण तथा अनुदानमा सञ्चालित यो कार्यक्रमको मुख्य उद्देश्य दुई बैंकको सुधार थियो । यो कार्यक्रम सकियो तर नेपाल बैंकको व्यवस्थापन अझै राष्ट्र बैंकको नियन्त्रणमा छ । तोकिएको पुँजीकोष पूरा भएको छैन । बैंकका व्यवस्थापन संयोजक महेश्वरलाल श्रेष्ठलाई बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले सोधे, सुधार कहिले तार्किक निश्कर्षमा पुग्छ ?
कर्जाको ब्याज दर निकै घटाउनु भयो । निक्षेपको ब्याज औषतभन्दा कमै भएकाले यो स्प्रेड दर व्यवस्थापन गर्ने रणनीति हो ?
अहिले जुन अधिक तरलता छ त्यसलाई व्यवस्थापन गर्नका लागि पनि कर्जाको ब्याज घटाइएको हो । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार स्प्रेड दरलाई पनि पाँच प्रतिशतमा झार्नु पर्ने नै हुन्छ । अहिले नयाँ प्रोडक्ट ल्याउनुको मुख्य कारण (नेपालक्ष्मी कर्जा योजना, जसमा गाडीमा नौं प्रतिशत र घरमा ७.९ प्रतिशत ब्याज दर छ) नेपाली नारीलाई सम्मान गर्नु हो । अहिलेको परिवर्तित अवस्थामा व्यवसाय र रोजगारीमा संलग्न नारीको संख्या बढेको छ, उनीहरुलाई लक्षित गर्दै ब्याज घटाएर नयाँ कर्जा योजना ल्याएको हो । अहिलेको अवस्थामा जसरी ब्याज दर चलिरहेको छ त्यसलाई समायोजना गर्दै दर घटाएर नयाँ कर्जा योजना ल्याएको हो ।
निक्षेपको ब्याज दर पनि त निकै थोरै छ नेपाल बैंकको ?
निक्षेपको ब्याज दरलाई कसरी हेर्ने ? सुरक्षा र प्रतिफलका हिसावले हेर्नु पर्ने हुन्छ । निक्षेपकर्ताले सुरुमा आफ्नो निक्षेप सुरक्षित होस् भन्ने चाहन्छन् । त्यसपछि उसले प्रतिफल खोज्छ । हामीले पहिले देखि नै सुरक्षाका साथै उचित प्रतिफल पनि दिँदै आएका छौं । तपाईहरुले भने जस्तो हाम्रो निक्षेपको ब्याज दर धेरै कम होइन, हामीले यथोचित ब्याज दर दिइरहेका छौं । ब्याज कम भएको भए अहिले हामीसँग करिव ६६ अर्ब रुपैयाँ निक्षेप हुने थिएन होला ।
राष्ट्र बैंकले तोकेको पाँच प्रतिशतको स्प्रेड दरलाई कायम गर्न निक्षेपको नवढाइ कर्जाको व्याज घटाएको भनेर बुझ्दा हुन्छ ?
पक्का पनि । हामीले स्पे्रडलाई ब्यवस्थापन गर्न खोजिरहेका छौं । यसका लागि दुई वटै कुरालाई छुनु पर्ने हुन्छ । लगानी पनि र निक्षेप पनि । जहाँ हेर्दा खेरी लागत वढ्ने (कस्ट सेन्टर) भन्दा पनि आम्दानी हुने (रेभेन्यु सेन्टर) तिर हामी लागिरहेका छौं । किनभने लागत यस्तो धेरै हुन्छ कि त्यसलाई कम गर्न धेरै ठूलो मेहेनत चाहिन्छ, समयका हिसावले पनि तत्काल यो सम्भव नहुन सक्छ । हामीले निक्षेपकर्तालाई कति ब्याज घटाउने त ? त्यसरी जाने कुरा पनि आउँदैन । बरु सेवा र सुविधा बढाएर, व्यक्तिगत कर्जा योजनामा जान सक्यौं भने यसको भोल्युम (ग्राहक) बढेर अतिरिक्त आम्दानीमा योगदान गर्छ भनेर हामी लागिरहेका छौं ।
स्प्रेडले खासगरी सरकारी बैंकको ग्रामिण शाखा, जो अधिकतम खर्चमा चलिरहेका छन् तिनीहरु लामोसमयसम्म जोगिन सक्दैन, गाउँमा पुनस्र्थापित गरिएका शाखाहरु बन्द गरेर फिर्ता हुनुपर्ने अवस्था आउँछ भनिँदैछ ?
तपाईले भने जस्तो हामी सरकारी बैंक, निश्चय पनि अरु निजी क्षेत्रका बैंकले गर्ने नाफा र हामीले गर्ने नाफाको शैली अलिक भिन्न खालको छ । हामी अलिक बढी लागतमा चलेको पक्का हो । यसको मतलब हामीलाई अवसर छैन भन्ने होइन, अवसर छ । गाउँगाउँमा वित्तीय सुविधा पुर्याउने राष्ट्र बैंक र सरकारको जुन लक्ष्य छ त्यसलाई स्प्रेडले असर नै गर्दैन भन्ने होइन, अवश्य गर्छ । हामीसँग अन्य कुनै स्रोत छैन, व्यवसाय गरेर नै हामीले आफूलाई विस्तार गर्नु पर्ने हुन्छ । अब यसका लागि खर्च त घटाउनु पर्ने नै हुन्छ ।
पहिले जसरी हाम्रा शाखा बन्द भए, त्यो बेला हामीले त्यहाँबाट कुर्सी र केही फाइल मात्रै बोकेर आयौं होला । अब त्यहाँ जाँदा हामीले अहिलेको आधुनिक प्रविधिदेखि सम्पूर्ण व्यवस्था गरेर जानु पर्ने हुन्छ । कार्यालय स्थापना गर्नका लागि २५/३० लाख त त्यहीं खर्च हुन्छ । कर्मचारी नियुक्त गर्नु पर्ने हुन्छ । यसले पक्का पनि खर्च त बढाउँछ । यसो भन्दैमा हामी फिर्ता हुन्छौं भन्ने होइन, हामीले यसबारे सोचेकासम्म छैनौं । तर जहाँजहाँ व्यवसायको सम्भावना २–४–५ बर्षपछि हुन्छ त्यो हेरेर थप शाखा विस्तार गर्ने नीति हामीले लिएका छौं । अहिले पनि हामीसँग एक सय २० वटा शाखा छन् ।
ब्रान्च भन्ने वित्तिकै विल्डिङ भनेर बुझ्नु भएन । हामीले खोजेको सुविधा दूरदराजका जनताले उपयोग गर्न पाउनु पर्यो । अहिलेको आधुनिक प्रविधिका बेलामा बैंकको स्टाफ दूरदराजमा पुग्नु पर्छ भन्ने होइन । बैंकिङ सुविधा शाखारहित बैंकिङबाट पनि दिन सकिन्छ वा अरु माध्यमबाट पनि सुविधा दिन सकिन्छ । यस विषयमा हामीले अध्ययन पनि गरिरहेका छौं । बैंकको सेवा सुविधा त पक्का बढ्छ तर बैंक आफै उपस्थित भएर दिने कि अरु सस्तो र भरपर्दो माध्यम चुन्ने भन्ने मात्र हो । एजेन्टमा आधारित बैकिङ गर्दा सबै खाले सुविधा दिन नसकिएला तर आधारभुत बैंकिङ सुविधा त दिन सकिन्छ । निक्षेप लिने दिने, साना तथा मझौला कर्जा दिने, कृषि कर्जा दिन सकिन्छ ।
तपाईहरुले दुई बर्षसम्म ब्याज परिवर्तन गर्दैनौं भनेर नयाँ कर्जा योजना ल्याउनु भयो, अन्य केही बैंकले पनि यस्तै खालको योजना ल्याएका छन् । यसले के संकेत गर्छ भने दुई बर्षसम्म ब्याज बढ्दैन बरु घट्दो अवस्थामा जान्छ ?
यसरी सोझै किटान गरेर भन्न सकिन्न, बजार हो भोली जे पनि हुन सक्छ । कुरा के हो भने अहिलेको बैंकको क्षमताले कति बर्षसम्म ब्याजलाई धान्न सक्छ भन्ने अनुमान गरेर ब्याज स्थिर गर्ने हो । हुनसक्छ कसैले १० बर्षसम्म एउटै ब्याज हुन्छ पनि भन्नसक्छ, त्यो उसको क्षमताको कुरा हो । अहिलेको स्थिति ब्याज दर कता जान्छ, माथि वा तल भनेर नेपाल भित्र वाहिर कतै अध्ययन अनुसन्धान भएको छैन । न सरकार, न राष्ट्र बैंक, न बैंकहरुले नै अध्ययन गरेका छन् । तैपनि आफ्नो क्षमता अनुसार दुई बर्षसम्म ब्याज दर परिवर्तन हुँदैन भनेका हौ हामीले । घट्यो भने त हामीलाई फाइदा होला तर अहिलेको अवस्था हेर्दा यो भन्दा थप घट्ला भन्ने मलाई लाग्दैन । ब्याज दरले आर्थिक सुचकांकका केही चित्रहरु दिन्छ तर अरु तथ्यहरु हेर्दा ब्याज दर योभन्दा तल जान्छ जस्तो लाग्दैन ।
पुँजी बृद्धिको कुरा पनि आइरहेका छ । वोनस सेयर बाहेक हकप्रद नै जारी गर्नु पर्ने पनि अवस्था आउन सक्छ । पुँजी बढाउ भने पनि बढाउनै पर्ने हुन्छ । पुँजी कोष बढाउन हामी अरु विकल्प पनि खोजिरहेका छौं । पुँजीमा योगदान गर्न सकिने र अरुलाई असर नगर्ने खालको औजारको प्रयोग गर्ने बारेमा पनि हामी सोचिरहेका छौं
—
—
भनेपछि ब्याज दर घट्ने यो अन्तिम बिन्दु हो ?
मलाई पनि त्यस्तै लाग्छ । हामी अधिक कम बिन्दुमा आइसकेका छौं । अर्को कुरा देशमा जागरुक निक्षेपकर्ताहरु पनि त छ नि । हामीले अहिले हाम्रो आधार दरभन्दा केही माथि राखेर ब्याज दर तय गरेका छौं । योभन्दा पनि कम गर्न सकिन्छ तर यसले बैंकिङलाई कस्तो असर गर्छ भनेर हेर्नु पनि जरुरी हुन्छ ।
उपभोक्ताको हिसावले सोच्दा हिजो बैंकले लिने ब्याज दर धेरै भयो, यो कारणले ब्यवसाय गर्न सम्भव भएन भन्ने कुरा आएको थियो । आज ब्याज दर घटेको कारणबाट तीनै व्यवसायीको व्यापार व्यवसायको उत्पादन लागत त घटेको हुनु पर्छ । यसबाट उपभोक्ताले सस्तोमा बस्तु तथा सेवा पाए त ? व्यवसायीको नाफा बढाउन मात्र ब्याज दर घटाउने हो भने त्यो त राम्रो कुरा भएन । त्यहाँ भएका नाफा अर्को व्यवसाय सुरु गर्न तथा रोजगारी श्रृजना गर्न प्रयोग भएको छ भने एउटा कुरा नत्र उपभोक्ताले ब्याजदर घटेको कारणबाट बस्तु तथा सेवा त सस्तोमा पाउनु पर्यो नि । अहिलेको अवस्थामा ब्याज दर योभन्दा कम गयो भने उपभोक्ता वा बैंक, कसैलाई पनि फाइदा गर्दैन ।
चालु वर्षको तेस्रो त्रैमाससम्म तपाईहरुको नाफा राम्रो देखिएको छ ? ५४ प्रतिशतको बृद्धि देखियो ?
नाफा बृद्धि दरलाई हेर्दा त राम्रै भन्नु पर्छ तर यो नाफाबाट हामी सन्तुष्ट छैनौं । किनभने हामीले प्रयास गरिरहेका छौं, तर लक्ष्य हासिल गर्न हामीले सकिरहेका छैनौं । त्यही पनि हामी आशा गर्न सक्छौं यो बर्षको अन्त्यसम्ममा अझ राम्रो हुन्छ ।
पक्का पनि तपाईले भनेको सही हो, कारोबार विस्तार गरेरभन्दा पनि डुबेको ऋण उठाएका कारणले नाफाको बृद्धि दर उच्च देखिन्छ ?
त्यो मात्र होइन । डुबेको ऋण उठाएका कारणले मात्र पनि होइन । कहिले काँही के हुन्छ भने एउटा किस्ता तिर्न मात्र ढिला भयो भने पनि बैंकले प्रोभिजनिङ गर्नु पर्छ । अर्को किस्ता तिर्ने बेलासम्म त्यो नियमित भइसकेको हुन्छ । कुनै निश्चित क्वाटरमा आएर ग्राहकले ब्याज तिर्न सकेन भन्दैमा हामीले प्रोभिजनिङ नगर्ने भन्ने हुँदैन । र, ब्याज नियमित हुन थालेपछि अर्को क्वाटरमा के गर्ला पहिलेको प्रोभिजनिङ त्यत्तिकै होस् भन्ने कुरा पनि आउँदैन । हामीले त्यो बेला प्रोभिजनिङलाई आम्दानी देखाउँछौं । अहिले कतिपय राइटब्याक भएका छन् कति प्रोभिजनिङ गर्नु परेको छ । हो, जति राइटब्याक हुनु पर्ने हो त्यति भएको छैन ।
नेपाल बैंकले २०७३ पछि सेयर लगानीकर्तालाई लाभांस दिन सकिन्छ भनेर सार्वजनिक नै गरेको थियो । अहिलेको अवस्थामा पुँजी कोष एक प्रतिशतभन्दा कम छ त्यसलाई १० प्रतिशत पुर्याउनै गाह्रो देखिन्छ । जस्तो तपाईहरुले पुँजीकोष सुधार्न सम्पति बेच्ने भनिरहनु भएको छ, त्यो सजिलो गरी भइरहेको छैन पनि । लाभांस दिने लक्ष्य पुरा होला ?
एकदमै राम्रो कुरा गर्नु भयो । हामीले आह्वानपत्रमै आर्थिक बर्ष २०७२/७३ पश्चात लगानीकर्तालाई लाभांस दिनसक्छौं भनेर प्रस्ट लेखेका छौं । हामी यसमा अझैसम्म प्रतिबद्ध नै छौं । यहाँले भनेजस्तै बैंकमा सरकार र सेयरधनीबाट पैसा पनि आयो, यसबाट पुँजी कोषमा केही सुधार भयो । अर्को हामीले केही सम्पति विक्री गर्ने योजना बनाएका छौं । बिक्री गर्ने लामो प्रकृया हुन्छ । हाम्रो तर्फबाट गर्ने सम्पूर्ण मेहेनत गरेका छौं । घरजग्गाको कारोबार बढ्न थालेको छ भन्ने समाचार आइरहेको छ, यसबाट हामी आशावादी छौ कि सजिलै हामी आफ्ना सम्पतिहरु बेच्न सक्छौं ।
हामी पुँजी कोष १० प्रतिशत पुर्याउन योजना अनुसार नै अगाडि बढेका छौं । यसका लागि यो आर्थिक बर्ष (करिव दुई महिनाभित्र) एक अर्ब बराबरको सम्पति विक्री गरिसक्छौं । धेरै कुराहरु अगाडि बढिसकेको छ । एक अर्ब त पुग्छ, त्यस बाहेक प्रयास गरिरहेका छौं । यही असारमा दुई अर्बको बेच्न सक्दैनौं तर प्रयास जारी छ । एक अर्ब आयो भने यसबाट केही सुधार आउँछ ।
लगानी विस्तार भनेको बैंकले मात्र चाहेर पनि हुँदैन । लगानीको वातावरण पनि हेर्नुपर्ने हुन्छ । लगानीकर्ताहरु तयार पनि हुनुपर्छ । यसअघि वातावरण भएन, बजेट समयमा आएन भन्दै आएका थियौं । अहिले आएर वातावरणमा पनि केही सुधार देखिन्छ । हामीले देशको आवश्यकता अनुसार जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा लगानी गरिरहेका छौं । यसका लागि समय लाग्छ । ऋण सम्झौता हुने वित्तिकै आजको भोली नै पैसा जाने भन्ने हुँदैन पैसा विस्तारै जान्छ । आयोजनाको प्रगतिका हिसावले पैसा जाने हो ।
अहिलेको अवस्थामा हामीले जलविद्युत्का लागि सम्झौता गरेको कर्जा रकम नै साढे पाँच अर्ब रुपैयाँ पुगिसकेको छ । त्यसमध्येमा ६ वटामा हामीले नेतृत्व गरेका छौं । कृषिमा पनि अगाडि बढिरहेका छौं । १२ प्रतिशतको ब्याजलाई साढे १० प्रतिशतमा झारिसकेका छौं । लगानी व्यवस्थित हिसावले बढिरहेको छ । त्यही भएर २०७२/७३ पछि सेयरधनीलाई केही न केही दिन सक्षम हुन्छौं ।
तर लाभांस भन्दैमा नगद नै हुन्छ भन्ने छैन, त्यो वोनस सेयर पनि हुनसक्छ । पुँजी बृद्धिका कुराहरु पनि आइरहेका छ । वोनस सेयर बाहेक हकप्रद नै जारी गर्नु पर्ने पनि अवस्था आउन सक्छ । पुँजी बढाउ भनेपछि बढाउनै पर्छ । पुँजी कोष बढाउन अरु विकल्प पनि खोजिरहेका छौं ।
अरु विकल्प भनेको कस्तो ?
पुँजी कोष बढाउन अन्य साझेदारहरुसँग छलफल गरेर पुँजीमा योगदान गर्न सकिने र अरुलाई असर नगर्ने खालको औजारहरुको प्रयोग गर्ने बारेमा पनि सोचिरहेका छौं । यसको लागि हामीले योजना अगाडि बढाएका छौं । पुँजी कोष १० प्रतिशत पुर्याउन करिव छ अर्ब रुपैयाँ आवश्यक पर्छ । यो पैसा निकै ठूलो हो ।
ब्रान्च भन्ने वित्तिकै विल्डिङ भनेर बुझ्नु भएन । हामीले खोजेको सुविधा दूरदराजका जनताले उपयोग गर्न पाउनु पर्यो । अहिलेको आधुनिक प्रविधिका बेलामा बैंकको स्टाफ दूरदराजमा पुग्नु पर्छ भन्ने होइन । बैंकिङ सुविधा शाखारहित बैंकिङबाट पनि दिन सकिन्छ वा अरु माध्यमबाट पनि दिन सकिन्छ । यस विषयमा हामीले अध्ययन पनि गरिरहेका छौं । बैंकको सेवा सुविधा त पक्का बढ्छ तर बैंक आफै उपस्थित भएर दिने कि अरु सस्तो र भरपर्दो माध्यम चुन्ने भन्ने मात्र हो
—
जुन बेला वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भयो तपाईले यसलाई राष्ट्र बैंकमा बसेर हेरिरहनु भएको थियो । त्यो बेला राष्ट्रिय बाणिज्य बैंकको तुलनामा नेपाल बैंक केही बलियो देखिन्थ्यो । अहिले त्यस्तो अवस्था रहेन, बाणिज्य बैंक बलियो र नेपाल बैंक केही कमजोर देखिन्छ । उसको व्यवस्थापन, सञ्चालक समिति हस्तान्तरण भयो, नेपाल बैंकमा अझ गर्न बाँकी छ । नेपाल बैंकको सुधारमा केही त्रुटी भएको हो ?
तुलनात्मक रुपमा हेर्न यसलाई सुरुकै अवस्थाबाट मुल्यांकन गर्नुपर्ने हुन्छ । अहिले तुलनात्मक रुपमा नहेरौं । मलाई के गौरव लाग्छ भने सुधार कार्यक्रमको सुरुवातबाटै म सहभागी भएका नाताले दुवै बैंकमा सुधार भएको र लक्ष्य हाँसिल भएकोमा खुसी लाग्छ । अर्को कुरा अब सुधारका जुन कुराहरु ढिलो भयो भन्ने छ त्यसमा पुँजी संरचनाले पनि असर गर्छ । सौभाग्यवश राष्ट्रिय बाणिज्य बैंक सत्प्रतिशत सरकारी लगानी भएकाले सरकारी सक्रियताले त्यहाँ योजना कार्यान्वयन गर्न केही सजिलो भयो, तुलनात्मक रुपमा पुँजी छरिएकाले यहाँ केही कठिनाइ भए । त्यहाँ सुधार हुनासाथ त्यही कारणले हस्तान्तरण भयो, नेपाल बैंकमा हुन सकेन । हामी प्रकृयामा छौं ।
नेपाल राष्ट्र बैंकले सुधार कार्यक्रम कार्यान्वयनमा आएदेखि निरन्तर मेहेनत गरेर एउटा राम्रो अवस्थामा नेपाल बैंकलाई ल्याइसकेपछि छाड्दा बैंक अब सफल रुपमा अगाडि जाओस् भन्ने चाहिरहेको छ । अरु कुरा हेर्दा, वित्तीय विवरण हेर्दा हामीले पनि प्रगति गरिरहेका नै छौं । गत एक बर्षको दाँज्यौं भने मात्र हामी राष्ट्रिय बाणिज्य बैंक सरह नदेखिन सक्छौं तर हामी आन्तरिक रुपमा एकदमै बलियो अवस्थामा छौं । प्राविधिक कुरामा मात्र प्रकाशित विवरणमा हामी त्यो अवस्थामा नपुगेको हो । पुँजी बढाउनका लागि दुई अर्बको सम्पति बेच्ने क्षमता त हामीसँग मात्र छ । १५ अर्बको सम्पति अझ पनि छ । यत्रो सम्पति हुँदा हुँदै दुई अर्ब मात्र बेच्न खोजिरहेका छौं । यो बैंकको सम्पति हो, गैरबैंकिङ सम्पति त कति छ कति छ । पुँजी बढाउन हामीले विभिन्न विकल्पमा काम गरिरहेका छौं ।
वित्तीय विवरण हेर्दा हामीले निरन्तर नाफा गरिरहेका छौं । प्रतिस्पर्धाको कुरा आउँछ, प्रतिस्पर्धा कोसँग गर्ने एक खर्बको निक्षेप, ५३ अर्बको कर्जा भएको बैंकसँग ? पुँजी लागत तीन प्रतिशतभन्दा कम भएको संस्थासँग प्रतिस्पर्धा गर्न त केही गाह्रो पर्छ ।
असारसम्म राष्ट्र बैंककै मातहतमा बैंक चल्छ । त्यसपछि पनि लम्बिएला । तर तपाईहरुले जुन दिन वास्तविक लगानीकर्तालाई सञ्चालक समिति र व्यवस्थापन जिम्मा लगाउनु हुन्छ, त्यति खेर सुधार प्रकृया तार्किक निस्कर्षमा पुग्यो भन्न सक्छौं ?
त्यही प्रयासमा छौं । नभए त हामी छ बर्ष अगाडि नै फर्किन्थ्यौ होला नि । राष्ट्र बैंकको सोंच के हो भने हामीले छाडेपछि बैंक सफल र सहज हिसावले अगाडि जाओस् । राष्ट्र बैंक र सरकारको ठूलो सहयोग छ यो बैंकमा । बैंक आफ्नै क्षमताले अगाडि वढ्ने अवस्थमा पुग्नुपर्छ । यसको मतलव राष्ट्र बैंकले अझ लामो समयसम्म बस्नु पर्छ भन्ने होइन ।
हामीले पुँजी बृद्धि गर्न खोज्दा सरकारबाट त सहयोग भयो नै आम लगानीकर्ताले पनि हकप्रद सेयरमा पैसा हालेर ठूलो सहयोग गर्नु भएको छ । यसको मतलव उहाँहरु यो बैंक राम्ररी चल्नु पर्छ भन्ने चाहनु हुन्छ । त्यत्रो विश्वास गरेर पैसा हालेपछि राष्ट्र बैंकले उहाँहरुको पैसाको सुरक्षा गर्नु पर्ने हुन्छ । हामी बैंकलाई आफ्नै क्षमतामा सफल ढंगले अगाडि वढ्ने अवस्थामा पुर्याएर छाड्छौं । हामीले छाड्दासम्म पक्का पनि सुधार प्रकृया तार्किक निश्कर्षमा पुग्छ ।
अर्को कुरा हामी कोर बैंकिङ सिस्टमलाई भित्राउन खोजिरहेका छौं । यसका लागि ग्लोबल टेन्टर आह्वान गरिसकेका छौं । टेन्टर बुझ्ने काम भइसकेको छ । अब मूल्यांकन गरेर काम अगाडि बढ्छ । आन्तरिक रुपमा देखिएका समस्याहरु यसपछि समाधान भएर जान्छ ।
यसको मतलव राष्ट्र बैंकले यहाँबाट त्यो बेला छाड्छ जुन बेला पुँजी कोष १० प्रतिशतमाथि र प्राविधिक रुपमा पनि एकदमै राम्रो अवस्थामा पुग्छ ?
पुँजीकोष १० प्रतिशत नै पुर्याएर छाड्छौं त म भन्दिन तर पुँजीकोष एकदमै सहज अवस्थामा भने पुर्याउँछौं । अपुग पुँजीकोष त नयाँ व्यवस्थापनले पुर्याउन सक्ने अवस्थामा हामी छाड्छौं । १० प्रतिशत चाँडै पुर्याउन त अलिकति गाह्रो नै छ ।
नेपाल बैंकको सञ्जाल यति ठूलो छ कि निजी क्षेत्रका बैंकहरु तपाईको अवस्थामा पुग्न अझ धेरै समय लाग्छ । तर के देखिन्छ भने नेपाल बैंकभन्दा निकै कम शाखा भएका निजी बैंकले तपाईलाई निक्षेप, कर्जामा जितिसके । के ब्यवधान छ जसले नेपाल बैंकलाई त्यसरी अघि बढ्न रोक्छ ?
म अरु बैंकको कुरा गर्न चाहन्न, किनभने यसमा बैंकहरुको आ–आफ्नै योजना, प्रकृया हुन्छ । तर के हो भने कहाँसम्म जाँदा धान्न सक्ने क्षमता हुन्छ त्यसलाई ध्यानमा राखेर हामीले अगाडि वढ्नु पर्छ । निक्षेप परिचालनको कुरा गर्ने हो भने तरलताको अभाव हुँदा हामीले १० अर्ब निक्षेप संकलन गरेर देखाएको हो । अर्को, लगानीको वातवरण भएन भनिरहँदा पनि हामीले ऋण विस्तार गरेर देखाएकै हो । हामी गर्न सक्छौं भनेर यसबाट प्रमाणित हुन्छ ।
अहिले किन भएको छैन भन्दा हामीले कुनै पनि काम व्यवस्थापन गर्न सक्नेसम्म गर्नु पर्छ । अहिले चाहेको भए ऋण र निक्षेप दुबै व्यापक विस्तार गर्न सक्थ्यौं । तर, लागतलाई पनि हेर्नुपर्ने हुन्छ । यसको मतलब निक्षेप लिँदैनौं भन्न मिल्दैन, हामी निक्षेप लिन्छौं तर त्यो हाम्रो अनुकुल हुन्छ । हामी विश्वासिलो र भरपर्दो सेवा दिन चाहन्छौं, त्यो दिइरहेका छाै, भनेजस्तो छिटपुट रुपमा नभएको पनि हुनसक्छ ।
अर्को कुरा म नेपाल राष्ट्र बैंकको कर्मचारी हो । मलाई व्यापक कर्जा र निक्षेप विस्तार गर्ने टिओआर छैन । हामीले भएको उपलब्धिलाई संस्थागत गर्दै लैजाने हो । आगामी दिनलाई पर्याप्त प्लेटफर्म बनाइदिने हो । सेन्ट्रल बैंक आएर पुरै कमर्सियल हिसावले बैंक चलाउने होइन, वास्तविक सेयरधनी र व्यवस्थापनलाई अगाडिका दिनमा राम्रो गर्ने अवस्था तयार पारिदिने हो । त्यो भनेर फेरी कामै नगरेको होइन । हामीले सीमित लक्ष्य राखेका छौं, त्यो पुरा गर्दै गएका छौं । पुँजी कोष ऋणात्मकबाट धनात्मक बन्दै गएको छ, खराब कर्जा पनि घटेको छ, ग्राहक बढ्दै गएका छन् । नाफा मात्रै बढाउनतिर राष्ट्र बैंक लाग्दैन । हामीले दीर्घकालिन रुपमा राम्रो हुने गरी अगाडि वढ्नु पर्छ ।
बैंकमा सरकारी स्वामित्व छ, सर्वसाधारणले पनि असाध्यै माया गरेको देखिन्छ । सुधार कार्यक्रम लागू हुँदा सय रुपैयाँको निक्षेप ६० रुपैयाँमा झर्ने बेला भयो भन्दा पनि सर्वसाधारणले त्यो पैसा झिकेनन् । तर, बैंकले सर्वसाधारणलाई जसरी सेवा दिनुपर्ने हो त्यो कम छ ?
तपाई मेरो बैंकमा नआएको कति भयो ? नेपाल बैंकमा पैसा झिक्न कति समय कुर्नु पर्छ ? तपाईलाई म चुनौती दिन्छु, नेपाल बैंकमा दुई मिनेटभित्र चेकको भुक्तानी दिन्छौं । यस्तो पनि ग्राहक भेटिएका छन् कि सेवा भनेको नेपाल बैंकको जस्तो हुनु पर्छ भन्छन् । तपाईले भनेको अपवादका रुपमा हुनसक्छ । तर म चुनौती दिन्छु सेवा सुविधामा हामी निकै प्रतिस्पर्धि भएका छौं । हो सबैले घरघरमै सेवा नपाएका हुन सक्छन्, तर हाम्रा केही मुख्य ग्राहकहरुले घरमै बसेर पनि सेवा पाइरहेको अवस्था छ, त्यो हामीले दिएका छौं । सेवा दिए पनि त्यसको प्रचार बढी गर्दैनौं । हो हामीले हाम्रा प्रतिस्पर्धी बैंकबाट धेरै कुरा सिकेका छौं, तर उनीहरु हाम्रा चुनौती होइनन् । अन्य बैंक नभएको भए हामीले अझै ढड्डा पल्टाएर नै सेवा दिन्थ्यौं होला, तर उनीहरुसँग सिकेर ग्राहकलाई छिटो छरितो, मागेजस्तो सेवा दिन भने सिकेकै हो । यसको श्रेय ती बैंकहरुलाई दिन म हिच्किचाउँदिन ।
नेपाल बैंकको बिजिनेसको आकारको तुलनामा कर्मचारी खर्च वढी छ भन्ने आलोचना छ । बारम्बार स्वेच्छिक अवकास लागू गर्दा पनि ओभर स्टाफिङ नै छ ?
यो आरोप या आलोचना होइन, तथ्य हो । अन्य बैंकको तुलना गर्दा हाम्रो खर्च बढि देखिन्छ । यसको पनि कारण छ । यो पुरानो बैंक हो, यहाँ पुराना मान्छेको श्रम पसिना खर्च भएको छ । बैंक अहिलेको अवस्थामा फर्कनुमा उहाँहरुको एकदमै ठूलो योगदान छ । उनीहरुका लागि राम्रो सुविधा सहितको स्वेच्छिक अवकाश योजना ल्यायौं । केही मान्छे म यो बैंकमा अझै सेवा गर्छु, मेरो करियर सुरक्षित छ भनेर ठान्नेहरु यहीं बसे । त्यो बेला यहाँ छिरेका व्यक्तिहरु अब नियमित अवकाशमा जाँदै हुनुहुन्छ । उहाँहरु अवकास हुँदा उहाँहरुलाई सुविधा दिएर विदा गर्छौं । अवकाश पाउनेलाई सात बर्षको एकमुष्ट पेन्सन दिन्छौं । त्यो पैसा यसै बर्षमा खर्च लेखिन्छ, जसले गर्दा खर्च धेरै देखिएको हो । अब यो क्रम २०७३ असारबाट टुट्ने छ । त्यसपछि अनुमान गरेभन्दा खर्च निकै कम हुन्छ ।
नेपाल बैंक केन्द्रिय बैंकभन्दा पनि जेठो बैंक, यो अर्थमा व्यवसाय विस्तारमा स्वभाविक रुपमै अरु बैंकभन्दा अगाडि हुनु पर्ने । तर पछाडि छ । अहिलेको बजारलाई विश्लेषण गर्दा नेपाल बैंक कति समयपछि पहिलेकै अवस्थामा आउँछ अर्थात हरेक हिसावले ठूला पाँच बैंकमा पुग्छ ?
मान्छे जहिले पनि आशावादी हुनुपर्छ । निरासावादी हुनु हुँदैन । प्रयास गर्दै, मेहेनत गर्दै जाने हो । र, प्रत्येकले टप नै हुन खोज्छ । हामीले यति बर्षमा पाँच ठूलामा पर्छौ भनेर लक्ष्य निर्धारण गरेका त छैनौं । तर, नेपाल बैंकको भविष्य एकदमै उज्ज्वल छ । ठूला १० मा त हामी अहिले पनि पर्छौं, तैपनि सन्तुष्ट भएर बस्ने कुरा आउँदैन । नयाँ नयाँ सोच अनुसार अगाडि वढ्छौं । लक्ष्य टप हुने नै हो । २०७२/७३ पछि हामी निकै राम्रो अवस्थामा पुग्छौं, त्यो आर्थिक वर्ष यो बैंकका लागि टर्निङ प्वाइन्ट हो । त्यसपछि टपको कुरा हुन्छ ।










