यसअघि क्षेत्रीसँग बिजमाण्डूले लिएको अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुस्
क्षेत्री यसअघि एनआइसी एसिया बैंकसँग मर्ज भएको बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत थिए। चार बर्ष त्यहाँ काम गरेपछि पछिल्लो दुई बर्ष यता प्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रमा आबद्ध थिएनन्। यो बिचमा उनी विश्व बैंक र डिएफआइडीको सल्लाहकार तथा विभिन्न तालिमका प्रशिक्षक थिए।
'म जहिले पनि प्रणालीमा बैंक चल्नु पर्छ भन्ने मान्यता राख्ने मान्छे हो, बैंकमा संस्थागत सुशासन हुनु पर्छ,' प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि बिजमाण्डूसँग कुराकानी गर्दै उनले भने, 'पक्का पनि बैंकिङमा केही चुनौतीहरु छन्। ती चुनौतीहरुलाई पार गर्दै बैंकलाई अगाडि बढाउने प्रयास गर्ने छु।'
क्षेत्रीले बुधबारै नियुक्तीपत्र बुझेपनि बैंकको जिम्मेबारी सम्हाल्न भने अर्को १५ दिन लाग्ने छ। उनी विभिन्न कामहरुमा सहभागी रहेकाले त्यहाँबाट मुक्त भएपछि बैंकको नेतृत्व गर्ने सञ्चालक समितिलाई जानकारी गराइसकेका छन्।
क्षेत्री यसअघि चार बर्ष बैंक अफ एसियामा प्रमुख कार्यकारी अधिकृतका साथै डेढ बर्ष सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रबन्धक भएका थिए। त्यसअघि साढे तीन बर्ष नेपाल बैंकको सुधार कार्यक्रममा रहेर पनि काम गरेका थिए। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट काम सुरु गरेका उनले त्यहाँ १७ बर्ष विताएका थिए।
ग्रान्ड बैंकबाट गत फागुन १६ गते सुधिर खत्रीले राजिनामा गरेपछि प्रमुख कार्यकारी पद रित्त थियो। उनी बाहिरिएपछि बैंकको नेतृत्व कामु प्रमुख कार्यकारीका रुपमा महाप्रबन्धक मनोज भट्टराईले सम्हालिरहेका थिए। खत्री १४ बर्षदेखि ग्रान्डका प्रमुख कार्यकारी थिए।










