काठमाडौं। चिलिमे जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । बजारमा कम्पनीको हकप्रद सेयर जारी हुने हल्ला चलेपछि लगानीकर्ताहरु ओइरिएका हुन् । कम्पनीका भावी योजनाहरु निर्माण गर्न पूँजी जुटाउन हकप्रद जारी गर्ने अपुष्ट खबरहरु बजारमा चलेका हुन् । तर कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङले तत्काल हकप्रद दिने कम्पनीको कुनै याेजना नभएको बताए ।
कम्पनीले रसुवा जिल्लामा नै सञ्चालनमा ल्याउने गरि सहायक कम्पनीहरु मार्फत् तीन आयोजना निर्माण कार्य अगाडी बढाइरहेको जानकारी दिदै आएको थियो ।आफ्नो सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड मार्फत् ४२.५ मेघावाट क्षमताको साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र १४.८ मेघावाट क्षमताको माथिल्लो साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माणको तयारी गरिरहेको छ । त्यस्तै, रसुवामा नै एक सय ११ मेघावाट क्षमताको रसुवागढि हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको निर्माणको समेत चिलिमेको तयारी छ । चिलिमेले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलबिद्युत् आयोजनाको निर्माणको लक्ष्य समेत लिएको छ । कम्पनीले यी योजना बनाउन पूँजी आवश्यक पर्ने देखिएकोले नगद लाभांशको सट्टा बोनस सेयरमा बढि जोड दिने सम्भावना भने देखिन्छ ।
कम्पनीको सेयर मूल्य एक सय ३७ रुपैयाँले बढेर दुई हजार दुई सय ३५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा भएको उच्च वृद्धिले यो समूहको परिसूचक पनि एक सय १५ अंकले बढ्यो । यस दिन बैंकिङ समूहको परिसूचक पनि करिब नौं अंकले बढेको छ । एभरेष्ट बैंक, नबिल बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डु लगायतको सेयर मूल्य उच्चले बढेको छ । नबिल बैंकको केही दिन देखि कारोबार बढ्ने क्रममा रहेको छ । बैंकको आइतवार पनि पाँच करोड रुपैयाँको कारोबार भयो ।
गत विहीवार पनि बैंकको चार करोड बढिको कारोबार भएको थियो । पछिल्लो समय बढ्ने क्रममा रहेको केही बीमा कम्पनीहरुको सेयर मूल्य घटेको छ । लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स लगायतकाको मूल्य घटेको छ । यो समूहको परिसूचक पनि २६ अंकले घटेको छ । आइतवार कुल ५४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एक सय ३७ कम्पनीको सेयर किनबेच भए । ३२ कम्पनीको मूल्य घट्यो ।










