बोनस प्रकरणमा अख्तियारबाट आयल निगमका सात जना पक्राउ, निमित्त प्रमुखसहित तीन फरार



बिजमाण्डू
२०७१ जेठ १४ गते ००:०० | May 28, 2014
बोनस प्रकरणमा अख्तियारबाट आयल निगमका सात जना पक्राउ, निमित्त प्रमुखसहित तीन फरार


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरित बोनस रकम वितरण गरेको आरोपमा सात जनालाई हिरासतमा लिएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित तीन जना फरार भएका छन्। 
निगममा कार्यरत निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उप(प्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी र बरिष्ठ सहायक देवीप्रसाद न्यौपाने समेत सात जनालाई आयोगले बुधवार हिरासतमा लिएको हो। आयोगले निमित्त कार्यकारी निर्देशक सागर सत्याल, उप(निर्देशकहरू शरदप्रसाद पौडेल र शुसिल भट्टराई फरार रहेकाे जानकारी दिउको छ ।
आयोगले आयल निगम लगातार घाटामा गईरहदा समेत ऐन, नियम विपरीत बोनस रकम वितरण गरी अनियमितता एवं भ्रष्टाचार गरिरहेको उजुरीका सम्बन्धमा छानविनका क्रममा सात जनालाई हिरासतमा लिएको हो। 
आयोगले निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अर्थ मन्त्रालयलाई  निर्देशन दिएको थियो। निगमले आर्थिक वर्ष २०६६।०६७ को अन्त्यमा करिव ११ अरव ४४ करोड ऋण तिर्न बाकी हुँदाहुँदै बोनस वितरणको लागि कुनै स्वीकृति प्राप्त नभएकै अवस्थामा गैह्रकानूनी निर्णय गरेको आरोप अख्तियारले लगाएको छ। आयोगले एक करोड ७२ लाख ५८ हजार ४ सय ५ रूपैया ४१ पैसा निगमलाई हानि नोक्सानी पुर्याएको दावी गरेको छ।

Tata
GBIME
Nepal Life
यसअघि पनि पक्राउ परेका थिए
अख्तियारले यसअघि असोज ८ गते पनि बोनस प्रकरणका विषयमा छानविन गर्न आयल निगमका चार जनालाई पक्राउ गरेको थियो। अख्तियारले असोजमा निगमका तत्कालिन निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई हिरासतमा लिएको थियो। 
चार जनालाई पक्राउ गरेपछि त्यसविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएपछि आयल निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई पनि हिरासतमा लिइएको थियो। सञ्चालक समितिका सदस्य समेत रहेका न्यौपानेले अनुसन्धान प्रक्रियामा बाधा विरोध गर्ने अभिप्रायले टेलिभिजनमा अन्तर्वार्ता दिएपछि अख्तियारले पक्राउ गरेको थियो।
 
के हो प्रकरण 
नेपाल आयल निगम लामो समयदेखि घाटा छ। तर अन्तराष्ट्रिय बजारमा कच्चा तलेको मूल्य निक्कै तल झरेको बेला २०६५ सालमा निगमले अप्रत्यासित नाफा गरेको थियो। त्यस अघि पनि घाटामा रहेको र २०६५ पछि पनि घाटामै रहेको निगमले २०६७ साउन ५ गते बसेको १८९० औं बैठकबाट बोनस नबाँड्ने निर्णय गर्यो। 
अख्तियारले २०६५ मै बोनस बाँड्न रोकेको थियो, अर्थमन्त्रालयले पनि बोनस बाँड्ने स्वीकृती दिएको थिएन तर कर्मचारीको दवावमा व्यवस्थापनले २०६९ पुस ७ गते २०६५ को नाफाभन्दै बोनस बाँड्न निर्णय गर्यो।
 
फिर्ता गर्ने शर्तमा छुटेका थिए
अख्तियारसँग व्यवस्थापन र कर्मचारीले बोनस वितरण गर्नु गल्ती भएको भन्दै फिर्ता गर्ने शर्तमा रिहा भएका थिए। तर बोनस फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि बुधवार अख्तियारले फेरी सात कर्मचारीलाई हिरासतमा लिएको हो। पहिले पक्राउ परेका न्यौपाने यसपटक फेरी पक्राउ परेका छन्, त्यसैगरी निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले फेरी दोस्रो पटक पक्राउ परेका हुन्। 
त्यतिवेला निमित्त प्रमुख रहेका सुरेश अग्रवालले अहिले अवकाश पाइसकेका छन्। अहिले सत्याल निमित्त प्रमुख बनेका छन्। वर्षमा एक खर्ब रुपैयाँको कारोवार गर्ने संस्थान नै मासिक ५० करोड भन्दा बढी घाटामा छ। तर सरकारले संस्थाका लागि लामो समयदेखि व्यवस्थापन प्रमुख नै नियुक्त गर्न सकेको छैन्।