ग्लोबलसँग साझेदारी गर्न केही विदेशी बैंकको चासो छ, ग्लोबल बैंक सिईओ बज्राचार्यको अन्तर्वार्ता



बिजमाण्डू
२०७१ जेठ १७ गते ००:०० | May 31, 2014
ग्लोबलसँग साझेदारी गर्न केही विदेशी बैंकको चासो छ, ग्लोबल बैंक सिईओ बज्राचार्यको अन्तर्वार्ता
पक्का पनि मलेसियन बैंकले हामीसँग आउने बारेमा इच्छा जाहेर गरेका हुन् । मलेसियामा आईएमईको जुन खालको स्ट्रेन्थ छ त्यो उनीहरुले देखेका छन् । सबैको इच्छा देश बाहिर पनि विस्तार भएर जाने हुन्छ, त्यही इच्छा उनीहरुको पनि हुनुपर्छ । उनीहरुले हामीसँग एक चरणको कुराकानी पनि गरिसकेका छन्

मर्जरका कारणले हामी ठूलो भएको होइन, बिजनेस ग्रोथ गर्न मर्ज गरेको हो । सोसियलबाट आएको पुँजी छ महिनामै लगानी गर्दा पुँजी कोष टाइट भइसकेको थियो । त्यसपछि हामीले सानो सानोमा होइन ठूलै पुँजी भएको संस्थामा जाउँ भन्ने कुरा भयो । चार वटा संस्थालाई सहजै मर्ज गरेका कारण हाम्रो सन्देश राम्रो गएको थियो, त्यही बेला कमर्जबाट मर्जरको प्रस्ताव आयो

हामीले राष्ट्र बैंकसँग संस्थापक ५१ मा बसेर ४९ प्रतिशत साधारणमा जान्छौं भनेर स्वीकृति माग गरेका थियौं । राष्ट्र बैंकले मर्जरको स्वीकृति दिने बेलामा संस्थापक सेयरको अनुपात ७०.६० बाट झार्नुस् अनि त्यसपछि ५१ मा जानु भनेको थियो । त्यही कुरा बुझ्नका लागि हामी राष्ट्र बैंकमा गएका हौं

ग्लोबल आईएमई बैंक मर्जरको पर्याय जस्तै बनेको छ, ग्लोबलमा पाँच वटा अन्य सस्था गाभिइसकेका छन् । एउटै समूहको लगानी भएका र फरक फरक समूहको लगानी भएका सस्था गाभेर उसले मर्जमा राम्रो अनुभव बटुलेको छ र मर्जरको सफल उदाहरण पनि प्रस्तुत गरेको छ । अहिले यो बैंक शाखा सञ्जालका हिसाबले पहिलो र चुक्ता पूँजीका हिसाबले निजी क्षेत्रको दोस्रो ठूलो बैंक बनेको छ । बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई सोधे अब पूँजीमा पनि पहिलो बन्ने योजना के हो ?

Tata
GBIME
Nepal Life

फरक–फरक समूहले लगानी गरेका दुई वटा बाणिज्य बैंक मर्ज भयो । पहिलेका भन्दा यो मर्जर फरक थियो । मर्जर र त्यसपछिको अनुभव कस्तो रह्यो ?
मर्जर गर्ने क्रममै लगानीकर्ताको मुद्दाहरु टुङग्याउने हो । मर्जरको प्रकृया अगाडि बढिसकेपछि बाँकी काम प्रमुख कार्यकारी अधिकृतले मिलाउने हो । मर्जरअघि सञ्चालक समितिले सबै कुरा मिलाउने हो । के कुरामा सहमति गर्ने भन्ने कुरा सञ्चालक समितिले मिलाई सकेपछि प्रमुख कार्यकारीको काम सुरु हुन्छ । सञ्चालक समितिको काम सकिसकेको छ, अब मेरो काम सुरु भएको छ ।
मेरो काम पनि अब गाह्रो छैन । किनभने प्रमुख कार्यकारीले बिजनेस गर्ने हो, कर्मचारी व्यवस्थापन गर्ने हो । कर्मचारीको व्यवस्थापन गर्न म हरेक शाखा कार्यालयहरु घुमिरहेको छु । मेरो काँधमा कर्मचारी र व्यवसाय व्यवस्थापनको जिम्मेवारी आइसकेपछि मैले काम गर्न सुरु गरिसकेको छु । कर्पोरेट ग्राहक त दुबै बैंकको उस्तै हो । कुनै ग्राहक हामीसँग नआए पनि कमर्ज एन्ड ट्रस्टसँग भएका कारण हामीसँग स्वतः आइहाल्यो । अर्को कुरा सानो सानो कर्जाको हकमा कारोबार भइरहेकै छ, एउटा बैंकको काम अर्कोमा सर्यो भन्ने हिसावले यसलाई सामान्य रुपमा हेरिरहेका छन् ।
राम्रोसँग मर्जरमा अगाडि वढ्दा हेर्नु पर्ने भनेको एउटा कर्मचारी व्यवस्थापन हो, यसमा फाइदा पनि भएको छ । ग्लोबल आईएमई त्यति धेरै पुरानो बैंक होइन, सात बर्ष सकेर आठ बर्षमा लागेको हो । कमर्ज तीन बर्ष पुरा बैंक हो । धेरै पुराना संस्था नभएको र पछिल्लो समय मर्जरका कारणले जति कर्मचारी थपिएका छन् तिनीहरु तीन/चार बर्षभित्रै आएका हुन् ।
दुबै बैंकका कर्मचारी धेरथोर एउटै समयमा बैंक छिरेका छन् । यस कारण म सिनियर तँ जुनियर भन्ने हाम्रोमा छैन । त्यसमा पनि म आफै घुमेर ग्लोबलको वर्क कल्चरका बारेमा सिकाइ रहेको छु । सबै कर्मचारी करियर ओरिएण्टेड हुने भएकाले यसलाई सहज रुपमा लिएका छन् । मर्जरको प्रक्रिया सुरु भएसँगै हामीले कर्मचारीलाई ट्रेन गर्न थालिसकेका थियौं । १५ वटा कमर्जका शाखामा हामीले ग्लोबलको सफ्टवेयर र बैंकिङ्ग जानेका कर्मचारी पठायौं । त्यहाँका दुई जना ग्लोबलमा मिसाई दियौं । यसबाट कर्मचारी व्यवस्थापनमा सजिलो भयो । मर्जरका कारण एउटै पोस्टमा कम तलव हुनेको केही न केही बढेको छ ।
कमर्सियल बैंक भएकाले पद र पैसा मिलान गर्न पनि गाह्रो भएन । पुरानो मर्जरको अनुभवले पनि कर्मचारी व्यवस्थापन सजिलो भयो । तालिम, अन्तक्रिया आयोजना गरेर पनि धेरै कुरा व्यवस्थित बनाइसकेका छौं ।

ग्लोबलले पाँच वटा संस्थालाई आफूसँग गाभिइसकेको छ । मर्जरमा त ग्लोबल किंग नै भइहाल्यो । भर्खर संस्था प्राप्ति गर्ने (एक्विजिसन) नीति पनि आएको छ । यसमा पनि लिड गर्ने होला नि ?
होइन, अहिले यसमा हाम्रो कुनै योजना छैन ।

हामीले कतिसम्म थाहा पायौं भने तपाईहरु एक्विजिसन गर्दा सेयर संरचना के हुने, प्रक्रिया कस्तो हुनेलगायतका प्रश्नहरु लिएर नेपाल राष्ट्र बैंक जानु भएको थियो । भनेपछि केही न केही त चलिरहेको छ ?
हामी त्यहाँ गएको कुरा बेग्लै हो । हामीले सोसियल डेभलपमेन्ट बैंकलाई गाभेपछि केही सेयरका समस्याहरु थिए । उसको प्राथमिक सेयर निस्कासन भएको थिएन । सोसियललाई ४० रुपैयाँमा किन्दा साढे ३८ करोड पुँजी भए पनि ग्लोबलमा चुक्ता पुँजीको रुपमा १६ करोड भित्रिएको थियो । यो पैसा संस्थापक सेयरमा आएकाले संस्थापक सेयरको अनुपात ७०.६० प्रतिशत पुग्यो ।
हामीले राष्ट्र बैंकसँग संस्थापक ५१ मा बसेर ४९ प्रतिशत साधारणमा जान्छौं भनेर स्वीकृति माग गरेका थियौं । राष्ट्र बैंकले मर्जरको स्वीकृति दिने बेलामा संस्थापक सेयरको अनुपात ७०.६० बाट झार्नुस् अनि त्यसपछि ५१ मा जानु भनेको थियो । त्यही कुरा बुझ्नका लागि हामी राष्ट्र बैंकमा गएका हौं ।

हामी एउटा कुरामा किन कन्मिन्स भइरहेका छैनौं भने ग्लोबल आईएमईमा पाँच सस्था मर्ज भए, अहिले यो पुँजीको हिसावले निजी क्षेत्रको दोस्रो ठूलो बैंकमा छ, शाखामा नम्बर एक छ । भनेपछि, पुँजीमा पनि नम्बर एक बन्न यसले कुनै न कुनैलाई मर्जर गर्छ भन्ने हाम्रो विश्लेषण छ ?
यसलाई बुझ्नका लागि मर्जरको सिक्वेन्स वुझ्न आवश्यक छ । साधारणतः सबैले ग्लोबल मर्जरकै स्ट्रेन्थमा अगाडि वढ्न खोज्यो भन्छन्, तर म भने यो कुरा गलत हो भनिरहेको छु ।
सुरुमा आईएमई फाइनान्सियल इन्स्टिच्युसन लिँदा केही वाध्यता थिए । एउटै प्रवद्र्धक छ भनेर राष्ट्र बैंकले पनि भनिरहेको र वास्तविकता पनि यही थियो । त्यसबेला ग्लोबल पनि एउटा सामान्य आकारकै बैंक थियो । यो कुरा आएपछि ठिकै छ नि त मर्जरमा जाउँ भन्ने कुरा भयो । हामीले एक सय पाँच रुपैयाँ तिरेर मर्ज भएकै हो । अर्को संस्था आउँदा राष्ट्र बैंकले भनेको कुरा पनि पुरा हुन्छ र ग्लोबल आफैलाई पनि फाइदा हुन्छ भनेर मर्जरमा गयौं । लर्डबुद्धसँग त्यति ठूलो योजना बनाएर मर्ज गराएको होइन । प्रवद्र्धकहरुको केही सामूहिक बुझाइका कारण अन्तिम अवस्थामा मर्ज गरेको हो । केही नभएपनि १०/१२ करोड योगदान गर्छ भनेर लर्डबुद्ध लिएको हो ।
मर्ज गर्दा पनि यसले ग्लोबलको पुँजीलाई खासै सुधार गरेन अर्थात पुँजीकोष अनुपात टाइट–टाइट नै भयो । आईएमई आफैले धेरै कर्जा लगानी गरेकाले पुँजी कोष अनुपात कम भइसकेको थियो । आईएमई आउनुअघि नै हामीले ४० करोडको ऋणपत्र जारी गरिसकेको हुनाले पुँजी सुधार गर्न फेरी अर्को ऋणपत्र जारी गर्ने विकल्प पनि रहेन ।
व्यवसाय विस्तार गरेर जानु छ तर पुँजी कोष टाइट भइसकेको छ । यसमा केही विकल्पहरु थिए । हकप्रद सेयर, यो सेयरमा प्रवद्र्धक सेयरधनीको खासै रुची हुँदैन, लगानीकर्ताले पैसा हालेनन् भने त अर्को समस्या आउँछ । प्रवद्र्धक सेयरको मूल्य बजारमा कम भइरहेका बेला किन्ने सम्भावना हुँदैन । त्यसपछि हामीले छलफल गर्दा हकप्रद सेयर पुँजी बृद्धिका लागि उपयुक्त हुँदैन भन्ने टुङगोमा पुग्यौं ।
त्यसपछि हामी ऋणपत्रमा जान सक्छौं भन्ने कुरा आयो । तर पुँजीको लागि हरेक बर्ष ऋणपत्र जारी गर्ने भन्ने कुरा पनि त्यति व्यवहारिक देखिएन । सेकेन्ड टायरको पुँजी कतिन्जेल बढाएर जाने ? हामी एफपिपोमा पनि जान सक्छौं । तर स्थापित भइसकेको बैंकको प्रिमियम कति तोक्ने भन्ने अर्को ठूलो समस्या छ । यसमा लगानीकर्ता, नियामक निकायको चित्त वुझाउन सकिँदैन । एफपिओमा जाने वित्तिकै भइरहेका लगानीकर्ताको पूँजी संरचना पनि परिवर्तन हुने अवस्था भयो ।
बैंकको लागि यी कुरा व्यवहारिक भएनन् । हामी बृद्धि भएर जानु पर्छ, तर पुँजीका कारण बृद्धि रोकिने भयो । त्यसपछि के गर्ने त भन्दा पूँजीकोष अनुपात बढी भएको संस्थालाई मर्ज गर्ने भन्ने कुरा भयो । पूँजी भएको, व्यवसाय भएको तर कर्मचारी कम भएको संस्था खोज्दा सोसियल डेभलपमेन्ट बैंक भेटियो । ३८ करोड पूँजी थियो, तीन वटा शाखा थिए, कर्मचारी ३० जना थिए । एउटा ऋण बिग्रिएका कारण उनीहरु पनि डिप्रेसमा बसेका थिए । हामीले उनीहरुसँग कुराकानी गर्यौं । उनीहरुलाई ४० रुपैयाँमा किने पनि ३८ करोडबाट उब्रिने रकम रिजर्भमा त गइहाल्छ, त्यसलाई पनि प्रयोग गर्न सकिन्छ । त्यही बेला गुल्मी विकास बैंकका एक जाना साथीको दुर्घटनाबाट मृत्यु भयो । पुँजीकोष अनुपात टाइट भए पनि भावनात्मक रुपमा गुल्मीलाई हामीले मर्जर ग¥यौं ।
मर्जरका कारणले हामी ठूलो भएको होइन, बिजनेस ग्रोथ गर्न मर्ज गरेको हो । सोसियलबाट आएको पुँजी छ महिनामै लगानी गर्दा पुँजी कोष टाइट भइसकेको थियो । त्यसपछि हामीले सानो सानोमा होइन ठूलै पुँजी भएको संस्थामा जाउँ भन्ने कुरा भयो । चार वटा संस्थालाई सहजै मर्ज गरेका कारण हाम्रो सन्देश राम्रो गएको थियो, त्यही बेला कमर्जबाट मर्जरको प्रस्ताव आयो ।
प्रकृया अगाडि बढे पनि केही समय रोकिएपछि मर्जर नहुने रहेछ भनेर बसिरहेका बेला फेरी कमर्जबाट कुरा आयो । अन्ततः हामीले कमर्जलाई पाँच महिनाभित्र मर्ज गर्यौं । कमर्जलाई मर्ज गरेपछि अहिले ग्लोबलको पुँजी कोष अनुपात सुधार भएर गएको छ ।

यत्रो ठूलो बैंक भएपछि पक्कै पनि प्रतिफल केही कम हुने सम्भावना रहन्छ नि ?
हुँदैन, पुँजी ठूलो भएपछि मैले व्यवसाय बढाउने हो नि । व्यवसाय विस्तार गर्न अब पुँजीको समस्या छैन । अब वोनस सेयर दिन आवश्यक पनि देखिँदैन । किनभने अहिले बैंकसँग भएको जगेडा कोष (रिजर्भ) पनि पुँजी नै भएकाले लगानी गर्न भइहाल्छ । पुँजी बढाउन वोनस सेयर दिनु पर्दैन । चार अर्ब पुँजी भएकाले अब बढाउन त्यति आवश्यक छैन । वोनस सेयर बढी भयो भने इक्विटीलाई प्रतिफल दिन महँगो पर्न जान्छ ।

एउटा अपेक्षा हामीले यसरी गर्न सक्छौं नि बैंक जसरी ठूलो भइरहेको छ त्यसरी नै आगाडि दिनमा पनि वढ्छ । अहिलेको जनशक्ति, प्रविधिले तपाईको व्यवसाय आगामी दिनमा धान्न सक्छ ?
हामीले बीचमा नयाँ मान्छेहरु पनि थापिरहेका छौं । कमर्जबाट पनि सिनियर मान्छे भित्रिरहेका छन् । त्यही भएर समस्या हुँदैन ।

हामीले प्रष्ट भन्दा रणनीतिक साझेदार ल्याउन पो अब अर्को संस्था नगाभ्ने वा नकिन्ने भन्न खोज्नु भएको हो कि ?
रणनीतिक साझेदार कोही आइहाल्यो भने त्यसमा बिचार गर्न नसकिने होइन, तर रणनीतिक साझेदार हामी आन्तरिक भन्दा पनि वाह्यसँग जोडिन सक्छौं । नेपालमा मात्र होइन हामी बाहिर पनि जान सक्छौं भनेपछि वाह्य साझेदार चाहिन्छ । हामीले पाँच/छ ठाउँमा प्रतिनिधि कार्यालय खोल्ने टुङगो नै गरिसकेको अवस्थामा पक्का पनि हामी विस्तार हुन चाहन्छौं भन्ने हो । यो अवस्थामा बाहिर राम्रो गरेको बैंकबाट प्रस्ताव आयो भने सायद नाइँ भनिँदैन ।

तपाईहरुसँग मलेसियन बैंक आउँदै हो ?
पक्का पनि उनीहरुले हामीसँग आउने बारेमा इच्छा जाहेर गरेका हुन् । मलेसियामा आईएमईको जुन खालको स्ट्रेन्थ छ त्यो उनीहरुले देखेका छन् । सबैको इच्छा देश बाहिर पनि विस्तार भएर जाने हुन्छ, त्यही इच्छा उनीहरुको पनि हुनुपर्छ । उनीहरुले हामीसँग एक चरणको कुराकानी पनि गरिसकेका छन् । तर यो सामान्य कुराकानी मात्र हो । यसमा म सोझै सहभागी भएको छैन तर सञ्चालक समितिका अध्यक्षको स्तरमा केही कुराकानी भइरहेको हुनसक्छ ।

मर्जरले तपाईहरुको खर्च निकै बढाएको छ ?
पक्का पनि बढेको छ । त्यो कर्मचारी थपिएकाले हो । भइरहेको शाखामा अन्य कर्मचारी थपिँदा केही उब्रिएका छन् तर त्यो हामी विस्तार भएपछि ठिक्क हुन्छ । हामी अहिलेकै अवस्थामा त बस्दैनौं, विस्तार हुँदै जान्छौं । चाँडै हामी चार शाखा थप्दैछौं । अहिले कर्मचारी उब्रिएको जस्तो देखिए पनि यो केही समयपछि ठिक भइहाल्छ । हामी बिजिनेस बढाएर गएपछि कर्मचारी धेरै हुने अवस्था रहँदैन ।

ग्लोबल आईएमईले बाहिर प्रतिनिधि कार्यालय खोल्ने भन्ने कुरा कहाँ पुगेको छ ?
त्यो काम भइरहेको छ । भारतमा लगभग अन्तिम अवस्थामा पुगिसकेको छ । उनीहरुले क्रेडिट रेटिङ मागे, हामीले पठाइसकेका छौं । उसले नेपालमा कुन अवस्थामा ग्लोबल छ भनेर डकुमेन्ट खोज्यो, सबै डकुमेन्ट पठायौं । अस्टे«लियामा कम्पनी दर्ता भइसकेको छ । अब सञ्चालन स्वीकृति मागिरहेका छौं । त्यो एक महिनाभित्र आउन सक्छ । कोरियामा पनि क्रेडिट रेटिङ पठाइसकेका छौं । असारभित्र यी तीन ठाउँमा हुन्छ जस्तो छ । कतार, युएई र साउदी अरबियामा त्यति सफल हुन सकिरहेका छैनौं । तर प्रयास गरिरहेका छौं ।

लगानीको क्षेत्र अलिकति खुम्चिएको देखिन्छ । ब्याज दरको असर पनि देखिन थालेको छ, साथै स्प्रेडले पनि आम्दानी घट्ने देखिएको छ । यस्तो बेला बैंकहरु नाफाको दर नघटाई आफूलाई कसरी टिकाइ राख्न सक्छन् ?
पक्का पनि असर पर्ने देखिएको छ । यति हुँदाहुँदै पनि हामी अल्पविकसित मुलुक भएकाले गर्नुपर्ने क्षेत्र धेरै बाँकी छ । पुँजीको कारणले धेरैले काम गर्न सकिरहेका छैनन् भने पुँजी जुटाइ दिने बैंकहरुको लागि व्यवसाय विस्तार गर्ने ठाउँ त पक्का हुने रहेछ । जहाँ जहाँ निजीक्षेत्र छिर्छ त्यहाँ बृद्धि पक्का पनि हुन्छ । निजीक्षेत्र विस्तार हुँदै गएको अवस्था छ । वित्तीय गतिविधि बढिरहेको छ ।
पुँजी उपलब्ध गराउने बैंकहरुलाई पुँजी नभएको ठाउँमा जाँदा पक्का पनि अवसर धेरै छन् । लोडसेडिङका कारण उद्योगधन्दा चल्न सकेका छैनन् त्यही पनि बैंकहरु चलिरहेका छन् । अर्थतन्त्र चलिरहेको छ । क्षमता हुँदाहुँदै पनि लगानी भइरहेको छैन । अहिले आयात बढिरहेको छ ।
आखिरमा नेपालमा उत्पादन नहुँदा पनि आयात भएर माग पुरा त भइरहेको छ । तर अलिकति वातावरण दियो भने त नेपालको माग नेपालमै उत्पादन गर्ने ठाउँ त जति बाँकी रहेछ । भनेपछि त्यो त बैंकको लागि लगानीको स्थान हो नि । रेमिटेन्सका कारण उपभोगको प्रबृत्ति फेरिएको छ ।

ग्लोबल आईएमई बैंकको एउटा स्ट्रेन्थ रेमिट्यान्सबाट आएको रकम ट्याप गर्न सक्नु पनि हो, तर त्यो रकम कहिल्यै पनि उत्पादनमुलक हुन सकेन ?
रेमिटेन्सको पैसा उत्पादनमूलक क्षेत्रमा कसरी लगाउने भनेर सोच्न जरुरी छैन । मानौं तपाईको नाममा आज विदेशबाट एक लाख रुपैयाँ आयो भने त्यो पैसा तपाई केमा खर्च गर्नु हुन्छ ? घरको छानो फेर्ने हो, मिठो खाने हो, राम्रो लुगा लगाउने हो । वित्तीय संस्था भएका कारण हामीले लगानीभन्दा पनि बचत गर्न प्रोत्साहित गर्ने हो । उनीहरुले बचत गरेपछि त्यो रकम लगानी गर्ने हाम्रो काम हो । यतिका उपभोगको प्रबृत्ति बढेको अवस्थामा त्यसलाई पुर्ति गर्न हामीले उद्योग धन्दा लगाउन सकेनौं, जम्मै आयात हुन थल्यो, भनेपछि ठाउँ त रहेछ नि ।
यति हुँदा हुँदै पनि पाँच प्रतिशको स्प्रेडको असर त रहन्छ नै । सबै बैंकको वासलात हेर्दा आफ्नो पुँजीबाट पैसा कमाएको बाहेक ऋण लगानीबाट खास कमाएको देखिँदैन । ३० प्रतिशत तरलता भइसकेको बेला यसलाई खर्च देखाउन मिल्ने गरी व्यवस्था गरिदिनु पर्छ भनेर हामीले आग्रह गरेका छौं । वित्तीय क्षेत्रको स्थायित्वका बारेमा सरकार राष्ट्र बैंकले सोच्न जरुरी छ ।
मुल्य बृद्धिदर निकै उच्च छ । तर अहिलेको व्यवसायको हिसावले कर्मचारीको तलव कसरी बढाउन सकिन्छ ? सस्टेन हुन गाह्रो हुन्छ यस्तो भएपछि । अहिले बिजिनेस दिन सकिने अवस्था पनि छैन । वातावरण पनि बनाइ दिन जरुरी छ । बैंकले आफ्नो क्षमताबाट बृद्धि गरिसके अब थप बृद्धि गर्ने हो भने वातावरण बनाई दिनुपर्छ ।

निर्देशन दिदा पनि कृषिमा, लजविद्युत्मा पनि लगानी त भएन नि ?
कसरी जान्छ ? १० प्रतिशत यसमा लगानी गर भनिएको छ । अहिलेको जति लगानी गर भनिएको छ त्यो पैसा त जानु पर्यो, योजना आउँदैन । हामी तयार पनि भएर बसेका छौं, प्रतिवद्धता पनि जनाइसकेका छौं । तर, जलविद्युत उत्पादन गर्नेहरुले योजना लिएर आउनु पर्यो । आएको योजनाहरु विना रोकटोक अगाडि वढ्नु पर्यो, अनि पो लगानी हुन्छ त ।