—
मर्जरका कारणले हामी ठूलो भएको होइन, बिजनेस ग्रोथ गर्न मर्ज गरेको हो । सोसियलबाट आएको पुँजी छ महिनामै लगानी गर्दा पुँजी कोष टाइट भइसकेको थियो । त्यसपछि हामीले सानो सानोमा होइन ठूलै पुँजी भएको संस्थामा जाउँ भन्ने कुरा भयो । चार वटा संस्थालाई सहजै मर्ज गरेका कारण हाम्रो सन्देश राम्रो गएको थियो, त्यही बेला कमर्जबाट मर्जरको प्रस्ताव आयो
—
हामीले राष्ट्र बैंकसँग संस्थापक ५१ मा बसेर ४९ प्रतिशत साधारणमा जान्छौं भनेर स्वीकृति माग गरेका थियौं । राष्ट्र बैंकले मर्जरको स्वीकृति दिने बेलामा संस्थापक सेयरको अनुपात ७०.६० बाट झार्नुस् अनि त्यसपछि ५१ मा जानु भनेको थियो । त्यही कुरा बुझ्नका लागि हामी राष्ट्र बैंकमा गएका हौं
—

ग्लोबल आईएमई बैंक मर्जरको पर्याय जस्तै बनेको छ, ग्लोबलमा पाँच वटा अन्य सस्था गाभिइसकेका छन् । एउटै समूहको लगानी भएका र फरक फरक समूहको लगानी भएका सस्था गाभेर उसले मर्जमा राम्रो अनुभव बटुलेको छ र मर्जरको सफल उदाहरण पनि प्रस्तुत गरेको छ । अहिले यो बैंक शाखा सञ्जालका हिसाबले पहिलो र चुक्ता पूँजीका हिसाबले निजी क्षेत्रको दोस्रो ठूलो बैंक बनेको छ । बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई सोधे अब पूँजीमा पनि पहिलो बन्ने योजना के हो ?
फरक–फरक समूहले लगानी गरेका दुई वटा बाणिज्य बैंक मर्ज भयो । पहिलेका भन्दा यो मर्जर फरक थियो । मर्जर र त्यसपछिको अनुभव कस्तो रह्यो ?
मर्जर गर्ने क्रममै लगानीकर्ताको मुद्दाहरु टुङग्याउने हो । मर्जरको प्रकृया अगाडि बढिसकेपछि बाँकी काम प्रमुख कार्यकारी अधिकृतले मिलाउने हो । मर्जरअघि सञ्चालक समितिले सबै कुरा मिलाउने हो । के कुरामा सहमति गर्ने भन्ने कुरा सञ्चालक समितिले मिलाई सकेपछि प्रमुख कार्यकारीको काम सुरु हुन्छ । सञ्चालक समितिको काम सकिसकेको छ, अब मेरो काम सुरु भएको छ ।
मेरो काम पनि अब गाह्रो छैन । किनभने प्रमुख कार्यकारीले बिजनेस गर्ने हो, कर्मचारी व्यवस्थापन गर्ने हो । कर्मचारीको व्यवस्थापन गर्न म हरेक शाखा कार्यालयहरु घुमिरहेको छु । मेरो काँधमा कर्मचारी र व्यवसाय व्यवस्थापनको जिम्मेवारी आइसकेपछि मैले काम गर्न सुरु गरिसकेको छु । कर्पोरेट ग्राहक त दुबै बैंकको उस्तै हो । कुनै ग्राहक हामीसँग नआए पनि कमर्ज एन्ड ट्रस्टसँग भएका कारण हामीसँग स्वतः आइहाल्यो । अर्को कुरा सानो सानो कर्जाको हकमा कारोबार भइरहेकै छ, एउटा बैंकको काम अर्कोमा सर्यो भन्ने हिसावले यसलाई सामान्य रुपमा हेरिरहेका छन् ।
राम्रोसँग मर्जरमा अगाडि वढ्दा हेर्नु पर्ने भनेको एउटा कर्मचारी व्यवस्थापन हो, यसमा फाइदा पनि भएको छ । ग्लोबल आईएमई त्यति धेरै पुरानो बैंक होइन, सात बर्ष सकेर आठ बर्षमा लागेको हो । कमर्ज तीन बर्ष पुरा बैंक हो । धेरै पुराना संस्था नभएको र पछिल्लो समय मर्जरका कारणले जति कर्मचारी थपिएका छन् तिनीहरु तीन/चार बर्षभित्रै आएका हुन् ।
दुबै बैंकका कर्मचारी धेरथोर एउटै समयमा बैंक छिरेका छन् । यस कारण म सिनियर तँ जुनियर भन्ने हाम्रोमा छैन । त्यसमा पनि म आफै घुमेर ग्लोबलको वर्क कल्चरका बारेमा सिकाइ रहेको छु । सबै कर्मचारी करियर ओरिएण्टेड हुने भएकाले यसलाई सहज रुपमा लिएका छन् । मर्जरको प्रक्रिया सुरु भएसँगै हामीले कर्मचारीलाई ट्रेन गर्न थालिसकेका थियौं । १५ वटा कमर्जका शाखामा हामीले ग्लोबलको सफ्टवेयर र बैंकिङ्ग जानेका कर्मचारी पठायौं । त्यहाँका दुई जना ग्लोबलमा मिसाई दियौं । यसबाट कर्मचारी व्यवस्थापनमा सजिलो भयो । मर्जरका कारण एउटै पोस्टमा कम तलव हुनेको केही न केही बढेको छ ।
कमर्सियल बैंक भएकाले पद र पैसा मिलान गर्न पनि गाह्रो भएन । पुरानो मर्जरको अनुभवले पनि कर्मचारी व्यवस्थापन सजिलो भयो । तालिम, अन्तक्रिया आयोजना गरेर पनि धेरै कुरा व्यवस्थित बनाइसकेका छौं ।
ग्लोबलले पाँच वटा संस्थालाई आफूसँग गाभिइसकेको छ । मर्जरमा त ग्लोबल किंग नै भइहाल्यो । भर्खर संस्था प्राप्ति गर्ने (एक्विजिसन) नीति पनि आएको छ । यसमा पनि लिड गर्ने होला नि ?
होइन, अहिले यसमा हाम्रो कुनै योजना छैन ।
हामीले कतिसम्म थाहा पायौं भने तपाईहरु एक्विजिसन गर्दा सेयर संरचना के हुने, प्रक्रिया कस्तो हुनेलगायतका प्रश्नहरु लिएर नेपाल राष्ट्र बैंक जानु भएको थियो । भनेपछि केही न केही त चलिरहेको छ ?
हामी त्यहाँ गएको कुरा बेग्लै हो । हामीले सोसियल डेभलपमेन्ट बैंकलाई गाभेपछि केही सेयरका समस्याहरु थिए । उसको प्राथमिक सेयर निस्कासन भएको थिएन । सोसियललाई ४० रुपैयाँमा किन्दा साढे ३८ करोड पुँजी भए पनि ग्लोबलमा चुक्ता पुँजीको रुपमा १६ करोड भित्रिएको थियो । यो पैसा संस्थापक सेयरमा आएकाले संस्थापक सेयरको अनुपात ७०.६० प्रतिशत पुग्यो ।
हामीले राष्ट्र बैंकसँग संस्थापक ५१ मा बसेर ४९ प्रतिशत साधारणमा जान्छौं भनेर स्वीकृति माग गरेका थियौं । राष्ट्र बैंकले मर्जरको स्वीकृति दिने बेलामा संस्थापक सेयरको अनुपात ७०.६० बाट झार्नुस् अनि त्यसपछि ५१ मा जानु भनेको थियो । त्यही कुरा बुझ्नका लागि हामी राष्ट्र बैंकमा गएका हौं ।

हामी एउटा कुरामा किन कन्मिन्स भइरहेका छैनौं भने ग्लोबल आईएमईमा पाँच सस्था मर्ज भए, अहिले यो पुँजीको हिसावले निजी क्षेत्रको दोस्रो ठूलो बैंकमा छ, शाखामा नम्बर एक छ । भनेपछि, पुँजीमा पनि नम्बर एक बन्न यसले कुनै न कुनैलाई मर्जर गर्छ भन्ने हाम्रो विश्लेषण छ ?
यसलाई बुझ्नका लागि मर्जरको सिक्वेन्स वुझ्न आवश्यक छ । साधारणतः सबैले ग्लोबल मर्जरकै स्ट्रेन्थमा अगाडि वढ्न खोज्यो भन्छन्, तर म भने यो कुरा गलत हो भनिरहेको छु ।
सुरुमा आईएमई फाइनान्सियल इन्स्टिच्युसन लिँदा केही वाध्यता थिए । एउटै प्रवद्र्धक छ भनेर राष्ट्र बैंकले पनि भनिरहेको र वास्तविकता पनि यही थियो । त्यसबेला ग्लोबल पनि एउटा सामान्य आकारकै बैंक थियो । यो कुरा आएपछि ठिकै छ नि त मर्जरमा जाउँ भन्ने कुरा भयो । हामीले एक सय पाँच रुपैयाँ तिरेर मर्ज भएकै हो । अर्को संस्था आउँदा राष्ट्र बैंकले भनेको कुरा पनि पुरा हुन्छ र ग्लोबल आफैलाई पनि फाइदा हुन्छ भनेर मर्जरमा गयौं । लर्डबुद्धसँग त्यति ठूलो योजना बनाएर मर्ज गराएको होइन । प्रवद्र्धकहरुको केही सामूहिक बुझाइका कारण अन्तिम अवस्थामा मर्ज गरेको हो । केही नभएपनि १०/१२ करोड योगदान गर्छ भनेर लर्डबुद्ध लिएको हो ।
मर्ज गर्दा पनि यसले ग्लोबलको पुँजीलाई खासै सुधार गरेन अर्थात पुँजीकोष अनुपात टाइट–टाइट नै भयो । आईएमई आफैले धेरै कर्जा लगानी गरेकाले पुँजी कोष अनुपात कम भइसकेको थियो । आईएमई आउनुअघि नै हामीले ४० करोडको ऋणपत्र जारी गरिसकेको हुनाले पुँजी सुधार गर्न फेरी अर्को ऋणपत्र जारी गर्ने विकल्प पनि रहेन ।
व्यवसाय विस्तार गरेर जानु छ तर पुँजी कोष टाइट भइसकेको छ । यसमा केही विकल्पहरु थिए । हकप्रद सेयर, यो सेयरमा प्रवद्र्धक सेयरधनीको खासै रुची हुँदैन, लगानीकर्ताले पैसा हालेनन् भने त अर्को समस्या आउँछ । प्रवद्र्धक सेयरको मूल्य बजारमा कम भइरहेका बेला किन्ने सम्भावना हुँदैन । त्यसपछि हामीले छलफल गर्दा हकप्रद सेयर पुँजी बृद्धिका लागि उपयुक्त हुँदैन भन्ने टुङगोमा पुग्यौं ।
त्यसपछि हामी ऋणपत्रमा जान सक्छौं भन्ने कुरा आयो । तर पुँजीको लागि हरेक बर्ष ऋणपत्र जारी गर्ने भन्ने कुरा पनि त्यति व्यवहारिक देखिएन । सेकेन्ड टायरको पुँजी कतिन्जेल बढाएर जाने ? हामी एफपिपोमा पनि जान सक्छौं । तर स्थापित भइसकेको बैंकको प्रिमियम कति तोक्ने भन्ने अर्को ठूलो समस्या छ । यसमा लगानीकर्ता, नियामक निकायको चित्त वुझाउन सकिँदैन । एफपिओमा जाने वित्तिकै भइरहेका लगानीकर्ताको पूँजी संरचना पनि परिवर्तन हुने अवस्था भयो ।
बैंकको लागि यी कुरा व्यवहारिक भएनन् । हामी बृद्धि भएर जानु पर्छ, तर पुँजीका कारण बृद्धि रोकिने भयो । त्यसपछि के गर्ने त भन्दा पूँजीकोष अनुपात बढी भएको संस्थालाई मर्ज गर्ने भन्ने कुरा भयो । पूँजी भएको, व्यवसाय भएको तर कर्मचारी कम भएको संस्था खोज्दा सोसियल डेभलपमेन्ट बैंक भेटियो । ३८ करोड पूँजी थियो, तीन वटा शाखा थिए, कर्मचारी ३० जना थिए । एउटा ऋण बिग्रिएका कारण उनीहरु पनि डिप्रेसमा बसेका थिए । हामीले उनीहरुसँग कुराकानी गर्यौं । उनीहरुलाई ४० रुपैयाँमा किने पनि ३८ करोडबाट उब्रिने रकम रिजर्भमा त गइहाल्छ, त्यसलाई पनि प्रयोग गर्न सकिन्छ । त्यही बेला गुल्मी विकास बैंकका एक जाना साथीको दुर्घटनाबाट मृत्यु भयो । पुँजीकोष अनुपात टाइट भए पनि भावनात्मक रुपमा गुल्मीलाई हामीले मर्जर ग¥यौं ।
मर्जरका कारणले हामी ठूलो भएको होइन, बिजनेस ग्रोथ गर्न मर्ज गरेको हो । सोसियलबाट आएको पुँजी छ महिनामै लगानी गर्दा पुँजी कोष टाइट भइसकेको थियो । त्यसपछि हामीले सानो सानोमा होइन ठूलै पुँजी भएको संस्थामा जाउँ भन्ने कुरा भयो । चार वटा संस्थालाई सहजै मर्ज गरेका कारण हाम्रो सन्देश राम्रो गएको थियो, त्यही बेला कमर्जबाट मर्जरको प्रस्ताव आयो ।
प्रकृया अगाडि बढे पनि केही समय रोकिएपछि मर्जर नहुने रहेछ भनेर बसिरहेका बेला फेरी कमर्जबाट कुरा आयो । अन्ततः हामीले कमर्जलाई पाँच महिनाभित्र मर्ज गर्यौं । कमर्जलाई मर्ज गरेपछि अहिले ग्लोबलको पुँजी कोष अनुपात सुधार भएर गएको छ ।
यत्रो ठूलो बैंक भएपछि पक्कै पनि प्रतिफल केही कम हुने सम्भावना रहन्छ नि ?
हुँदैन, पुँजी ठूलो भएपछि मैले व्यवसाय बढाउने हो नि । व्यवसाय विस्तार गर्न अब पुँजीको समस्या छैन । अब वोनस सेयर दिन आवश्यक पनि देखिँदैन । किनभने अहिले बैंकसँग भएको जगेडा कोष (रिजर्भ) पनि पुँजी नै भएकाले लगानी गर्न भइहाल्छ । पुँजी बढाउन वोनस सेयर दिनु पर्दैन । चार अर्ब पुँजी भएकाले अब बढाउन त्यति आवश्यक छैन । वोनस सेयर बढी भयो भने इक्विटीलाई प्रतिफल दिन महँगो पर्न जान्छ ।

एउटा अपेक्षा हामीले यसरी गर्न सक्छौं नि बैंक जसरी ठूलो भइरहेको छ त्यसरी नै आगाडि दिनमा पनि वढ्छ । अहिलेको जनशक्ति, प्रविधिले तपाईको व्यवसाय आगामी दिनमा धान्न सक्छ ?
हामीले बीचमा नयाँ मान्छेहरु पनि थापिरहेका छौं । कमर्जबाट पनि सिनियर मान्छे भित्रिरहेका छन् । त्यही भएर समस्या हुँदैन ।
हामीले प्रष्ट भन्दा रणनीतिक साझेदार ल्याउन पो अब अर्को संस्था नगाभ्ने वा नकिन्ने भन्न खोज्नु भएको हो कि ?
रणनीतिक साझेदार कोही आइहाल्यो भने त्यसमा बिचार गर्न नसकिने होइन, तर रणनीतिक साझेदार हामी आन्तरिक भन्दा पनि वाह्यसँग जोडिन सक्छौं । नेपालमा मात्र होइन हामी बाहिर पनि जान सक्छौं भनेपछि वाह्य साझेदार चाहिन्छ । हामीले पाँच/छ ठाउँमा प्रतिनिधि कार्यालय खोल्ने टुङगो नै गरिसकेको अवस्थामा पक्का पनि हामी विस्तार हुन चाहन्छौं भन्ने हो । यो अवस्थामा बाहिर राम्रो गरेको बैंकबाट प्रस्ताव आयो भने सायद नाइँ भनिँदैन ।
तपाईहरुसँग मलेसियन बैंक आउँदै हो ?
पक्का पनि उनीहरुले हामीसँग आउने बारेमा इच्छा जाहेर गरेका हुन् । मलेसियामा आईएमईको जुन खालको स्ट्रेन्थ छ त्यो उनीहरुले देखेका छन् । सबैको इच्छा देश बाहिर पनि विस्तार भएर जाने हुन्छ, त्यही इच्छा उनीहरुको पनि हुनुपर्छ । उनीहरुले हामीसँग एक चरणको कुराकानी पनि गरिसकेका छन् । तर यो सामान्य कुराकानी मात्र हो । यसमा म सोझै सहभागी भएको छैन तर सञ्चालक समितिका अध्यक्षको स्तरमा केही कुराकानी भइरहेको हुनसक्छ ।
मर्जरले तपाईहरुको खर्च निकै बढाएको छ ?
पक्का पनि बढेको छ । त्यो कर्मचारी थपिएकाले हो । भइरहेको शाखामा अन्य कर्मचारी थपिँदा केही उब्रिएका छन् तर त्यो हामी विस्तार भएपछि ठिक्क हुन्छ । हामी अहिलेकै अवस्थामा त बस्दैनौं, विस्तार हुँदै जान्छौं । चाँडै हामी चार शाखा थप्दैछौं । अहिले कर्मचारी उब्रिएको जस्तो देखिए पनि यो केही समयपछि ठिक भइहाल्छ । हामी बिजिनेस बढाएर गएपछि कर्मचारी धेरै हुने अवस्था रहँदैन ।
ग्लोबल आईएमईले बाहिर प्रतिनिधि कार्यालय खोल्ने भन्ने कुरा कहाँ पुगेको छ ?
त्यो काम भइरहेको छ । भारतमा लगभग अन्तिम अवस्थामा पुगिसकेको छ । उनीहरुले क्रेडिट रेटिङ मागे, हामीले पठाइसकेका छौं । उसले नेपालमा कुन अवस्थामा ग्लोबल छ भनेर डकुमेन्ट खोज्यो, सबै डकुमेन्ट पठायौं । अस्टे«लियामा कम्पनी दर्ता भइसकेको छ । अब सञ्चालन स्वीकृति मागिरहेका छौं । त्यो एक महिनाभित्र आउन सक्छ । कोरियामा पनि क्रेडिट रेटिङ पठाइसकेका छौं । असारभित्र यी तीन ठाउँमा हुन्छ जस्तो छ । कतार, युएई र साउदी अरबियामा त्यति सफल हुन सकिरहेका छैनौं । तर प्रयास गरिरहेका छौं ।
लगानीको क्षेत्र अलिकति खुम्चिएको देखिन्छ । ब्याज दरको असर पनि देखिन थालेको छ, साथै स्प्रेडले पनि आम्दानी घट्ने देखिएको छ । यस्तो बेला बैंकहरु नाफाको दर नघटाई आफूलाई कसरी टिकाइ राख्न सक्छन् ?
पक्का पनि असर पर्ने देखिएको छ । यति हुँदाहुँदै पनि हामी अल्पविकसित मुलुक भएकाले गर्नुपर्ने क्षेत्र धेरै बाँकी छ । पुँजीको कारणले धेरैले काम गर्न सकिरहेका छैनन् भने पुँजी जुटाइ दिने बैंकहरुको लागि व्यवसाय विस्तार गर्ने ठाउँ त पक्का हुने रहेछ । जहाँ जहाँ निजीक्षेत्र छिर्छ त्यहाँ बृद्धि पक्का पनि हुन्छ । निजीक्षेत्र विस्तार हुँदै गएको अवस्था छ । वित्तीय गतिविधि बढिरहेको छ ।
पुँजी उपलब्ध गराउने बैंकहरुलाई पुँजी नभएको ठाउँमा जाँदा पक्का पनि अवसर धेरै छन् । लोडसेडिङका कारण उद्योगधन्दा चल्न सकेका छैनन् त्यही पनि बैंकहरु चलिरहेका छन् । अर्थतन्त्र चलिरहेको छ । क्षमता हुँदाहुँदै पनि लगानी भइरहेको छैन । अहिले आयात बढिरहेको छ ।
आखिरमा नेपालमा उत्पादन नहुँदा पनि आयात भएर माग पुरा त भइरहेको छ । तर अलिकति वातावरण दियो भने त नेपालको माग नेपालमै उत्पादन गर्ने ठाउँ त जति बाँकी रहेछ । भनेपछि त्यो त बैंकको लागि लगानीको स्थान हो नि । रेमिटेन्सका कारण उपभोगको प्रबृत्ति फेरिएको छ ।

ग्लोबल आईएमई बैंकको एउटा स्ट्रेन्थ रेमिट्यान्सबाट आएको रकम ट्याप गर्न सक्नु पनि हो, तर त्यो रकम कहिल्यै पनि उत्पादनमुलक हुन सकेन ?
रेमिटेन्सको पैसा उत्पादनमूलक क्षेत्रमा कसरी लगाउने भनेर सोच्न जरुरी छैन । मानौं तपाईको नाममा आज विदेशबाट एक लाख रुपैयाँ आयो भने त्यो पैसा तपाई केमा खर्च गर्नु हुन्छ ? घरको छानो फेर्ने हो, मिठो खाने हो, राम्रो लुगा लगाउने हो । वित्तीय संस्था भएका कारण हामीले लगानीभन्दा पनि बचत गर्न प्रोत्साहित गर्ने हो । उनीहरुले बचत गरेपछि त्यो रकम लगानी गर्ने हाम्रो काम हो । यतिका उपभोगको प्रबृत्ति बढेको अवस्थामा त्यसलाई पुर्ति गर्न हामीले उद्योग धन्दा लगाउन सकेनौं, जम्मै आयात हुन थल्यो, भनेपछि ठाउँ त रहेछ नि ।
यति हुँदा हुँदै पनि पाँच प्रतिशको स्प्रेडको असर त रहन्छ नै । सबै बैंकको वासलात हेर्दा आफ्नो पुँजीबाट पैसा कमाएको बाहेक ऋण लगानीबाट खास कमाएको देखिँदैन । ३० प्रतिशत तरलता भइसकेको बेला यसलाई खर्च देखाउन मिल्ने गरी व्यवस्था गरिदिनु पर्छ भनेर हामीले आग्रह गरेका छौं । वित्तीय क्षेत्रको स्थायित्वका बारेमा सरकार राष्ट्र बैंकले सोच्न जरुरी छ ।
मुल्य बृद्धिदर निकै उच्च छ । तर अहिलेको व्यवसायको हिसावले कर्मचारीको तलव कसरी बढाउन सकिन्छ ? सस्टेन हुन गाह्रो हुन्छ यस्तो भएपछि । अहिले बिजिनेस दिन सकिने अवस्था पनि छैन । वातावरण पनि बनाइ दिन जरुरी छ । बैंकले आफ्नो क्षमताबाट बृद्धि गरिसके अब थप बृद्धि गर्ने हो भने वातावरण बनाई दिनुपर्छ ।
निर्देशन दिदा पनि कृषिमा, लजविद्युत्मा पनि लगानी त भएन नि ?
कसरी जान्छ ? १० प्रतिशत यसमा लगानी गर भनिएको छ । अहिलेको जति लगानी गर भनिएको छ त्यो पैसा त जानु पर्यो, योजना आउँदैन । हामी तयार पनि भएर बसेका छौं, प्रतिवद्धता पनि जनाइसकेका छौं । तर, जलविद्युत उत्पादन गर्नेहरुले योजना लिएर आउनु पर्यो । आएको योजनाहरु विना रोकटोक अगाडि वढ्नु पर्यो, अनि पो लगानी हुन्छ त ।








