सेयर कहिलेसम्म उकालो? अब बजार ४० प्रतिशत वढ्न बाँकी छ, के भन्छन् सेयर विश्लेषक?

बिजमाण्डू
२०७१ जेठ २६ गते ००:०० | Jun 9, 2014
बुलिस प्रवृतिमा देखिएको सेयर बजार नयाँ उचाईतिर लम्किएको छ। केही समय साइडवेज मुभमेन्टमा (आठ सय देखि आठ सय ५० को तहमा तलमाथि गरिरहेको) देखिएको बजारले पुनः गति लिएको छ। नेप्सेलाई नौ सयको तह उक्लिन तत्काल कुनै प्राविधिक प्रतिरोध छैन। बजारले आगामी दिनमा नौ सय १९ तिर प्रतिरोध पाउने सम्भावना छ।
अहिले बजारमा संस्थागत लगानीकर्ताहरुको प्रवेश हुनु, बजारलाई आवश्यक सामूहिक लगानी कोष लगायतका पुर्वाधार प्राप्त हुनु, चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीहरुको वित्तीय अवस्था राम्रो देखिनु लगायतका कारणले लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ।
यसका साथै सबैभन्दा महत्वपूर्ण पक्ष बजारमा अहिले लगानी योग्य पुँजीको कमी छैन। लगानीकर्ताहरुले आठदेखि ११ प्रतिशत व्याजदरमा कर्जा पाइरहेका छन। अगामी दिनमा बजारमा बैंकिङ समूहको परिसूचकमा सुधार हुने सम्भावना छ। हाल अन्य समूहको परिसूचकमा उच्च वृद्धि देखिएको भए पनि बैंकिङ क्षेत्रमा सोही दरमा वृद्धि हुन सकेको छैन। लगानीकर्ताहरुले अबका दिनमा छान्ने भनेकै कम मूल्यका बैंक तथा वित्तीय संस्थाका सेयरहरु रहेको विश्लेषकहरु बताउँछन।

Tata
GBIME
Nepal Life

अब बजार कुन दिशातर्फ अगाडि वढ्छ भनेर हामीले केही लगानीकर्ता तथा विश्लेषकहरुसँग प्रश्न गरेका थियौं।

 

अब बजार बढ्ने भनेको बैंक तथा वित्तीय संस्थाका सेयरले हो :  बस्नेत
हाम्रो बजारले यसअघि तीन पटकसम्म बुलिश प्रवृत्ति समातेको थियो। बिसं २०५१, २०५७ र २०६५ मा नेप्से बुलिस प्रवृत्तिमा देखिएको थियो। तीन वटै पटक बजारसंगै बैकिङ क्षेत्रमा बुल रन भयो। यसपटक बैंकिङ क्षेत्रमा भन्दा बीमा, जलविद्युत्, होटेल लगायतका समूहमा बुल रन देखिएको छ। पहिले बैंकिङ क्षेत्र बाहेक लगानीकर्ताहरुलाई अन्य विकल्प नै कम हुने गर्दथ्यो।
२०५७ बाट मात्रै लाइफ इन्स्योरेन्स कम्पनी बजारमा प्रवेश भएका हुन। अहिले बैंकिङ क्षेत्र बाहेक अन्य पनि विकल्प भएकाले यी क्षेत्रमा बुल रन भएको हो। यदी अब बैंकिङ षेत्रमा बुल रन देखिएन भने नेप्से परिसूचक यसअघिको उच्च बिन्दु ११७५ कै आसपासमा रहन सक्छ नया अल टाइम हाइको रेकर्ड नबन्ने हुन्छ। मेरो बुझाइमा यस बर्ष बैंकिङ क्षेत्रमा कम्तिमा पनि २०० अंकको वृद्धि हुन्छ।
अहिले बुल रन भएका केही कम्पनी हेरौं, अहिले तीन वटा लाइफ इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष, राष्ट्रिय वीमा संस्थान, युनिलिभर नेपाल, सोल्टि होटेलमा बुल रन देखिएको हो। जसको मूल्य तीन हजारभन्दा माथी रह्यो। यससँगै बुझ्नु पर्ने कुरा के छ भने, अहिले बजारले ६० प्रतिशतभन्दा बढि रिट्रेसमेन्ट गरिसकेको छ। अब बाँकी ४० प्रतिशत रिट्रेसमेन्ट गर्न वाणिज्य बैंक, वित्त कम्पनी र बिकास बैंकमा नै वृद्धि हुनुपर्छ।
एनएलआइसी इन्स्योरेन्स र ओरियण्टल होटेल कै उदाहरण लिए। एनएलआईसीको मूल्य पाँच हजार आसपास हुँदा नै मूल्य आम्दानी अनुपात एक सय ३२ थियो अहिले मूल्य समायोजन पछि पनि कम्पनीको यस्तो अनुपात ७७ कै आसपास छ। जबकी वाणिज्य बैंकहरुको मूल्य आम्दानी अनुपात २२ को हाराहारीमा छ। त्यस्तै, ओरियण्टल होटेलको सेयर मूल्यमा पनी उच्च वृद्धि भयो। यो क्षेत्रका बुल रन भएकोले यो होटेलको पनि मूल्य उच्च बढ्यो। तर अब यो होटेलको मूल्य बढ्नु पर्ने कारण के नै छ र। न होटेलले लाभांश दिन्छ न त कर्जा तिरीसकेको छ।
हुनतः यहा बुझ्नु पर्ने कुरा के छ भने, जहिले पनि बुल रन हुँदा लगानीकर्ताको चाप बुल रन भइरहेको वा भइसकेको समूह वा कम्पनीमा केही समयसम्म रहिरहन्छ। मानिसहरु फेरी पनि मूल्य वृद्धि भइसकेका त्यही कम्पनी खोज्ने गर्छन। तरपनि अहिले बुल रन भएका कम्पनीहरु जुन अघि उदाहरण दिए, ती कम्पनी हुने लगानीकर्ताले बैंकहरुको सेयर नलिएका भने छैनन।
यसले गर्दा पनि यो क्षेत्रमा आगामी दिनमा बुल रन हुन्छ नै। अन्तराष्ट्रिय बजारमा पनि बैंकहरुको मूल्य अन्य क्षेत्रका कम्पनीहरुको भन्दा कम हुने गरेको छ। किनभने पर्याप्त बिकल्प हुँदासम्म लगानीकर्ताहरुको रोजाईमा यो क्षेत्र कम नै पर्ने गर्छ। तर अहिले त हाम्रा अन्य क्षेत्रका कम्पनीमा बुल रन भइसक्यो। त्यसैले बैंकिङ क्षेत्र बढ्छ।
अर्काे याद गर्नुपर्ने पक्ष भने मार्केट डाइनामिक्स हो। संसारभर नै बजारको एक किसिमको चक्र हुन्छ। अमेरिकाको सेयर बजारले एउटा चक्र पाँच बर्षमा पुरा गर्छ। हामी कहा भने यो अवधि छ बर्षको छ। त्यसैले यदी नेप्सेले नया अल टाइम हाइ बनाउनु अघि नै यो चक्रको अवधि पुरा गर्यो भने ११७५ को तह नतोडिने सम्भावना हुन्छ। निश्चय नै त्यसपछि बजार घट्छ। तर सधै न्युनतम तह एउटै हुन्छ वा नेप्से तीन सयकै हाराहारीमा पुग्छ भन्ने होइन।
बिसं २०५१ पछि बजार घट्दा एक सय पाँचको न्युन बिन्दु बनायो (न्यनतम बिन्दु भनेको सबैभन्दा धेरै समयसम्म परिसूचक रहेको तलको हो, एक दिन बसेको तल्लो तहलाई यो बिन्दु मानिदैन)। त्यसपछि बिसं २०५७ पछि दुई सय पाँच न्यनतम तह थियो। बिसं २०६५ पछि तीन सय पाँच यो तहको रुपमा देखियो। त्यसैले अब बजार उचाइबाट घट्दा भने चार सय देखि चार सय ५० को न्युनतम बिन्दुमा रहन्छ।
यो न्युनतम तहको आकंलन भने नेप्से एक हजार तीन सय ३० को नया रेर्कड बनाउँछ भन्ने आधारमा हो। कहिले काँही बजारमा डबल बुल रन पनि हुन्छ। नेप्से ११७५ बिन्दुमा पुग्नु अघि एक हजारको तह पुगेर ओर्लिएको थियो तर पुन अर्काे रन शुरु भयो र त्यो तह छोयो।  

मूल्य आम्दनाी अनुपात हेर्दा बैंकिङ क्षेत्र बढ्नु पर्ने हो :  पौडेल  अहिलेको बजारलाई दुई पक्षमा बिभाजित गरेर हेर्नु उपयुक्त हुन्छ। त्यो हो बैंकिङ क्षेत्र र गरैबैंकिङ क्षेत्र। गैरबैंकिङ क्षेत्र सन्तोषजनक रुपमा बुलिश टे्रण्डमा देखिए पनि बैंकिङ क्षेत्रमा देखिएको छैन। गैरबैंकिङ क्षेत्रमा वृद्धि हुनुको मुख्य कारण भनेकै बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्न पाउनु हो। उनीहरुले आफ्नै क्षेत्रका कम्पनीहरुमा लगानी गर्न पाउँदैनन्। अर्काेतर्फ गैरबैंकिङ क्षेत्रको सेयरको माग त बढेको छ। तर आपुर्ती सोही अनुरुप छैन।
बैंकिङ क्षेत्रमा मर्जरका बिभिन्न हल्लाहरु पनि आइरहेका छन् कतिपय मर्जरको खबरले लगानीकर्ता सन्तुष्ट छैनन भने मर्जरमा गएका सम्बन्धित कम्पनीहरुको केही अवधिसम्म सेयर कारोबार गर्न पाइदैन भन्ने चिन्ता पनि।
बजारको अहिलेको चक्रमा पनि बैंकिङ समूह बढ्नु पर्दथ्यो। अहिले प्रतिफल र मूल्य आम्दनी अनुपात हेर्दा पनि यही क्षेत्र बढ्नु पर्छ भन्ने हो तर अन्य क्षेत्र घट्नु पर्छ भन्ने पनि मेरो तर्क होइन।अहिले अल्पकालिन माग र आपुर्तीको आधारमा हेर्दा अन्य क्षेत्रमा बढि प्रतिफल देखिएको भएपनि बैंकिङ समूहमा नै बढि प्रतिफल छ। अहिले पनि बैंकहरुको मूल्य आम्दानी अनुपात २५ भन्दा कम छ भने गैर बैंकिङ क्षेत्रको त्यो भन्दा माथि छ।
त्यसैले भोलिका दिनमा फेरी बैंकिङ क्षेत्रमा नै बहाव आउने छ। अहिले सबैभन्दा मुख्य पक्ष, बजारमा तरलता सहज छ। हुनतः बजारमा भएको तरलता सबै सेयर बजारले नै पाउँछ भन्ने त होइन, अन्य क्षेत्रहरुमा पनि बाँडिन्छ नै। तर अहिले अन्य क्षेत्रमा तत्काल पूँजी गएको छैन। व्याज दर हेर्दा कर्जा र निक्षेप दुवैको घटेको छ। तर जति मात्रामा निक्षेपको व्याजदर घटेको छ, कर्जाको व्याजदरको घट्दो दर कम छ। पहिले मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याजदर दिएका बैंकहरुले अहिले पाँच प्रतिशतभन्दा कम व्याज दिएको पनि पाइन्छ। यसले पनि मानिसहरु बचत गर्नुभन्दा सेयर बजारमा लगानी गर्न बढि इच्छुक देखिएका छन। यसमा अहिले २०, २५ प्रतिशत प्रतिफल सामान्य नै भएको छ।
सेयर बजारको सम्बन्ध जहिले पनि तरलता र चक्रसंग हुन्छ। बजारको चक्र हेर्दा अहिले बढ्ने नै देखिन्छ। अहिले आर्थिक बर्ष अन्त्य भएकोले सरकारी खर्चहरु पनि बढ्दैछन। यसले अर्थ बजारमा पूँजीको प्रवाह वृद्धि भएको छ। आगामी आवको लागि बजेट समयमै आउने देखिएको छ। यसले पनि बजार बढ्न सघाउने छ।
फेरी पनि कुरा गर्नुपर्दा अहिले बजार बढ्न बैंकिङ क्षेत्रमा वृद्धि हुनै पर्ने देखिन्छ। तर बजारमा अहिले बैंकिङ समूहका सेयर संख्या पहिले भन्दा दोब्बरले बढेको छ। संस्थापक समूहको १९ प्रतिशत सेयर स्वामित्व परिवर्तनले पनि बजारमा प्रभाव देखिएकेा हो। तर यसलाई बजारले सहजै पचाइसक्यो। अहिले लगानीकर्ताहरुले यी दुई अलग क्षेत्रका कम्पनीहरुको तुलना गरिरहेका छन। गैरबैंकिङ क्षेत्रमा अहिले मूल्य परिवर्तनबाट बढि कमाउने अवस्था बनेको छ, त्यसैले लगानीकर्ताको मनो बिज्ञान यतै मोडिएको छ। दुई वटा वाणिज्य बैंकको कुल सेयर गैर बैंकिङ क्षेत्रकै कुल सेयरभन्दा बढि छ।
यसले पनि बैंकहरुको सेयर मागभन्दा बढि आपुर्ती छ। हुनतः समग्र बजारमा सुचीकृत सबै सेयर नै कारोबारमा आउदैन। करिब १० प्रतिशत सेयर मात्रै कारोबार भइरहेको हुन्छ तर गैर बैंकिङ क्षेत्रका कम्पनीहरुको सेयर आपुर्ती अझ कम छ। बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरुको आवश्यकता बनेको छ।
तिनीहरुसंग सस्तो लागतको अर्बाै रुपैयाँ छ। तर बजारमा लगानीकेा क्षेत्र अभाव छ। अन्तर बैंक व्याजदर न्युन छ, ट्रेजरी बिल्स (सरकारी ऋणपत्र) को व्याजदर पनि निकै कम छ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले नै पनि सेयर बजारमा लगानी गरिरहेका छन।

सेयर बजार अबको डेढ महिनामा नौ सय माथि रहन्छ :  भट्टराई
चालु आव अन्त्यमा नेप्से नौं सय माथि रहन्छ। अहिले बजारमा पर्याप्त तरलता रहेको छ। ट्रेजरी बिल्स (सरकारी ऋणपत्र) को व्याजदर ०.०४ छ। यो व्याजदर बढ्न सकेको छैन्। यसले गर्दा बैंकहरुको लगानी त्यता जाँदैन। त्यसैले बजारमा तरलता अभाव हुने छैन। तत्तकाल ट्रेजरी बिल्सको व्याजदर पनि बढ्ने देखिदैन। बजार अहिले बुलिश प्रवृत्तीमै रहेको छ। प्रावधिक रुपमा हेर्ने हो भने पनि बजार बढ्दै केही करेक्सन हुँदै पुनः बढ्ने क्रममा रहेको देखिन्छ।
अहिले बजार र कारोबार रकम पनि दुवै वृद्धि भइरहेको छ। बजेट आएमा बजार थप बढ्ने देखिन्छ। बजेटले पूँजीगत लाभकरको सट्टा कारोबार कर लगाउने भन्ने सुनिएको छ। यसो भएमा लगानीकर्ताले आफ्नो घाटा समायोजन गर्न पाउने छन। तर कारोबार कर निकै कम लगाउनु पर्छ। त्यस्तै बजेटले जलविद्युत् कम्पनीहरुको लागि पनि सहुलियत भ्याटमा सहुलियतहरु दिने भन्ने कुराहरु पनि सुनिएको छ।
यसले पनि बजारमा सकारात्मक प्रभाव पर्ने छ। बजारमा अहिले पनि माग उच्च छ। यसले लगानीकर्ताहरुको मनोबल सबल रहेको देखाउँछ। अन्य नकारात्मक असर नपर्दासम्म बजार बढ्दो गतिमा रहने देखिन्छ। अहिले प्राथमिक बजारमा पनि तत्काल कुनै ठुलो निश्कासन आउने देखिएको छैन। यसले दोस्रो बजारलाई फाइदा नै पुग्ला।