पुरुषले मात्र गर्ने भनिएका काममा महिलालाई प्रोत्साहन, हेल्भेटासले दुई सयलाई प्रशिक्षक बनाउने

बिजमाण्डू
२०७१ जेठ ३० गते ००:०० | Jun 13, 2014
पुरुषले मात्र गर्ने भनिएका काममा महिलालाई प्रोत्साहन, हेल्भेटासले दुई सयलाई प्रशिक्षक बनाउने

काठमाडौं। रोजगार कोष/हेल्भेटास स्वीस इन्टरकोअपरेसनले नेपालमा पुरुषले मात्र गर्न सक्ने भनिएका पेशामा महिलालाई प्रशिक्षक बनाउने भएको छ। पुरुषप्रधान भनेर चिनिने पेशामा महिलालाई सीप सिकाउँदै प्रशिक्षक समेत बनाउने कोषले जनाएको छ।
यस कार्यक्रम अन्तर्गत पुरुषप्रधान भनिने पेशामा तह एक को तालिम लिएर सीप सिकेका १८ देखि ४० बर्ष उमेर समुहका महिलाले अवसर पाउनेछन्। बाँके, भक्तपुर, चितवन, दोलखा, झापा, कैलाली, कञ्चनपुर, कास्की, काठमाडौं, नवलपरासी, पाल्पा र रुपन्देहीका १६ वटा तालिम तथा रोजगार प्रदायक संस्थाले कार्यक्रम कार्यन्वयन गर्ने जनाइएको छ।
कार्यक्रम अन्तर्गत बिभिन्न १४ पेशामा महिलाले तह दुईको तालिम पाउने छन्। तह दुईको तालिम लिनेले प्रशिक्षक भएर काम गर्न सक्नेछन्।
त्यसमा आल्मुनियमका सामान बनाउने, डकर्मी, मोटरसाइकल मर्मत प्राविधिज्ञ, विल्डिङ इलेक्ट्रिसियन, मोवाइल फोन मर्मत प्राविधिज्ञ, प्लम्बर, फर्निचर मेकर, कूक लगायत सीप तथा पेशा रहेका छन्। नेपाली समाजमा पुरुषले मात्र गर्दै आएका यी पेशामा हालसम्म महिला प्रशिक्षक छैनन्।
तह दुईको सीपमूलक तालिम लिनेलाई व्यवसायिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत राष्ट्रिय सीप परिक्षण समितिले परीक्षा लिनेछ। सीप परीक्षामा सहभागी भए पश्चात प्रशिक्षक प्रशिक्षण तालिममा सहभागि गराउने कोषले जनाएको छ। सन् २००७ मा स्थापना भएको कोषलाई स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायतको अन्तर्राष्ट्रिय विकास लागि विभाग (डिएफआईडी) र विश्व बैंकले आर्थिक सहयोग दिएका छन्। सन् २०१३ सम्ममा कोषले करिब ८० हजार युवालाई निशुल्क सीप मुलक तालिम दिएको जनाएको छ। यो बर्ष थप १८ हजार युवालाई तालिम तथा रोजगारी दिने कोषको तयारी छ। कोषले विषेश एसएलसी अनुत्तिर्ण युवाहरुलाई सीप मुलक तालिममा प्रोत्साहन गर्दै आएको छ।

Tata
GBIME
Nepal Life