सडक बिभागकाे अवराेधबीच यसरी फर्कियो दरबारमार्गको उज्यालो

बिजमाण्डू
२०७१ असार ५ गते ००:०० | Jun 19, 2014
सडक बिभागकाे अवराेधबीच यसरी फर्कियो दरबारमार्गको उज्यालो

प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौं। झन्डै तीन वर्षको प्रयासपछि २०७१ को नयाँ वर्ष दरबारमार्गमा फरक ढंगले आयो। राजधानीको मुटु र प्रमुख पर्यटकीय क्षेत्रमा परे पनि लोडसेडिङले सम्साँझै बन्द हुने दरबार मार्गमा नयाँ वर्षको उपहार स्वरुप वैशाख १ देखि सोलार बत्ति बल्न थाल्यो।

दरबार मार्ग विकास समितिको अगुवाइमा काठमाडौं महानगरपालिका, शहरी विकास मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, प्रहरीको सहकार्यमा सोलार जडान सफल भयो। नारायणहिटी संग्रहालय अगाडिबाट महेन्द्रको सालिकसम्म सडकको बीचबाट दायाँबायाँ फर्काएर ६० वटा बत्ति बालियो। शेर्पा मलको छत भाडामा लिएर सोलार प्यानल राखियो, तार 'अन्डरग्राउन्ड' गरियो। दरबारमार्गमा बत्ति मात्र बलेन त्यहाँको दृश्य नै हेरौं हेरौं लाग्ने गरी फेरियो।

Tata
GBIME
Nepal Life

सरकारी निकायहरुले समन्वय गरे पनि पैसा विकास बोर्ड आफैंले खोज्नु पर्ने। आफ्नै स्रोत नभएको बोर्डले उपाय सुझायो, निजी क्षेत्रबाट पैसा जुटाएर सोलार राख्ने र बत्तिको पोलमा स–साना विज्ञापन बोर्ड राखेर त्यहाँबाट आर्जन गरि लगानीकर्ताको पैसा फिर्ता दिने। त्यही विज्ञापनबाट सोलारको 'मेन्टिनेन्स' खर्च पनि उठाउने।
यस क्रममा छलफलमै लामो समय बित्यो। दरवारमार्ग विकास बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती भन्छन्, 'सोलार लगाउने छलफल चल्दा चल्दै महानगरपालिकामा चार जना कार्यकारी प्रमुख फेरिए।' बोर्डले हिम्मत हारेन। लक्ष्मण अर्याल महानगर प्रमुख भएको बेला सार्थक ढंगले काम अघि बढ्यो। लगानी जुट्यो। अरु निकायले पनि समन्वय गरे। सडक निर्माण र सुरक्षाको जिम्मा पाएको सडक विभाग पनि यो अवधारणामा सहमत भयो। अन्ततः एक करोड २७ लाख रुपैयाँको लागतमा नयाँ वर्षदेखि दरबारमार्गमा बत्ति बल्यो।
रातीसम्म उज्यालो भएको हुँदा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सजिलो भयो। बत्ति बले पछि रातीको दुर्घटना शुन्यमा झरेको ट्राफिक प्रहरी बताउँछ। बटुवालाई पनि राहत मिल्यो। 'भिआईपी एरिया'मा पर्ने दरबारमार्गका पसल र रेष्टुरेन्ट पनि अलि ढिलासम्म खुल्न थाले। सबैलाई फाइदै भयो। दरबारमार्ग पाइलट प्रोजेक्टको रुपमा बन्यो। ठमेललगायत पर्यटकीय क्षेत्रमा पनि यही प्रणालीबाट बत्ति बाल्ने बारे छलफल सुरु भयो।  तर, दुर्भाग्य दरबारमार्गकै उत्साह दुई सातामै सेलायो।

बत्ति बाल्ने सम्पुर्ण अवधारणामा सहमत भएको सडक विभाग अन्तगर्तको सडक डिभिजन कार्यालय सानो गौचरनले १६ वैशाखमा बत्तिको पोलमा राखिएको विज्ञापन बोर्ड उठाएर लग्यो, 'आफु मातहतको सडकमा विज्ञापन गरेर विकास बोर्डले पैसा कमाउने?' भन्दै। बत्तिको पोलमा राखेको बोर्डले नारायणहीटी सङ्ग्रहालय छेकेकोसम्मका तर्क उनीहरुले गरे। जबकी बोर्ड २*३ फिट (६ बर्गफिट) का छन्। यिनीहरुले दरबार छेक्ने होइन सडकको सुन्दरता बढाएको जो कसैले देख्न सक्छ। बोर्डको आधार महानगरपालिकाले नै उपयुक्त भनेर विकास बोर्डलाई सिफारिस गरेको हो। त्यसबापतको कर समेत महानगरलाई तिर्ने सहमति थियो।

दरबार छेक्यो भनेर पुष्टि गर्न नसके पछि डिभिजन सडक कार्यालयका अधिकारीले दोस्रो तर्क झिके, उत्ताउला बोर्ड लगाएर 'ड्राइभर'को ध्यान खल्बल्याएको भन्दै। जबकि रक्सी चुरोटका तथा उत्ताउला हाउभाउका विज्ञापन नराख्ने भनेर विकास बोर्ड आफैंले आचार संहिता बनाएको थियो। बत्ति राखिए पछि एउटै दुर्घटना नभएको ट्राफिक प्रहरीको तथ्याङ्कले यो तर्क पनि निराधार सावित भयो। तथापी, डिभिजन कार्यालयका हाकिमले 'आफु मातहत' सडकमा बत्ति बाले पनि विज्ञापन बोर्ड राख्न नपाउने दलिल छोडेनन्।
विज्ञापन बोर्डविना बत्ति बल्ने उपाय थिएन। दरबारमार्ग पुनः अँध्यारो भयो। विकास बोर्डले भौतिक योजना मन्त्रालयका सचिवकहाँ गतल मनसायले बत्ति नबालेको र त्यसले कसैलाई नोक्सान नपुर्याएको हुँदा डिभिजन सडक कार्यालयको अवरोध हटाइदिन अनुरोध सहित निवदेन दियो। सचिव तुलसी सिटौलाले विकास बोर्ड सहित नगरपालिका, सडक विभाग, विद्युत प्राधिकरण, ट्राफिक प्रहरी र काठमाडौं उपत्यका विकास प्राधिकरणले आपसमा छलफल गरेर समाधान निकाल्न समिति गठन गरिदिए। त्यसपछि महानगर प्रमुख धनबहादुर श्रेष्ठले बैठक बोलाए। पहिलो बैठकमा सहमित भएन। सडकका अधिकारीले 'बाटो आफु मातहत भए पनि बोर्डले पैसा कमाउने' भन्ने तर्क छाडेनन्। हरेक बैठकमा सडकबाट आउने प्रतिनिधि फेरिने र आफुले निर्णय गर्न नसक्ने भन्दै लम्याउने गरेको हुँदा सहमतिमा ल्याउन अरु निकायले धेरै कोसिस गर्नु पर्यो। तर, दोस्रो/तेस्रो वैठकमा अरु पाँच निकायका अधिकारीले एक मुख भएर बत्ति बल्दा दरबारमार्गलाई कुनै हानी नभएको, सडकको शोभा नघटेको र विज्ञापन बोर्डबाट कसैले नाफा कमाउन नखोजेको बताए पछि सडकका प्रतिनिधि पनि सहमतिका लागि बाध्य भए। भौतिक योजना सचिव सिटौलालाई सहमतिको यहि विवरण सुनाएर पुनः बत्ति बाल्ने गृहकार्य सुरु भयो।

विकास बोर्डका अधिकारी उप्काएका विज्ञापन बोर्ड लिन डिभिजन कार्यालय गौचरन पुगे। सबै बोर्ड बिगारेर फालिएको थियो। फेरि एक चरण बनाउनु पर्यो। अन्ततः गत शुक्रबार देखि दरबारमा मार्ग फेरि उज्यालो भएको छ। सडकको बीचमा मात्र होइन दायाँ बायाँ फुटपाथमा पनि विकास बोर्डले सोलार बत्ति जडान प्रकृया अघि बढाएको छ। दायाँ बायाँ ३०/३० वटा फुटपाथ बत्ति बल्नेछन्। त्यस बाहेक, सडक विभागले 'आफ्नो स्वामित्वको' भनेर दाबी गरे पनि दरबार मार्ग सरसफाइ वर्षेनी विकास बोर्डले नै गर्दै आएको छ। झरी सुरु भए पछि दायाँ बायाँ किनारको नाली थुनिन नदिन बर्षको कम्तिमा दुई पटक सफाइ बोर्ड आफैंले गर्छ। तर, सडक विभाग र मातहतका निकायले 'आफ्नो सडक'मा वत्ति बालेर अरुलाई पैसा कमाउन नदिने अधिकारको अहंकारमै सबै कर्तव्य पुरा भएको ठान्न छाडेका छैनन्।