नेपाल बैंकको ८० करोडको जग्गा यही महिना बिक्री, ४८ करोडको बिमा र १८ करोडको राष्ट्र बैंक किन्दै



बिजमाण्डू
२०७१ असार १३ गते ००:०० | Jun 27, 2014
नेपाल बैंकको ८० करोडको जग्गा यही महिना बिक्री, ४८ करोडको बिमा र १८ करोडको राष्ट्र बैंक किन्दै
काठमाडौं। नेपाल बैंकले चालु आर्थिक बर्षभित्र ८० करोड रुपैयाँ बराबरको सम्पति बिक्री गरिसक्ने भएको छ। नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल टेलिकमलगायत संस्थागत खरीदकर्ता तथा सर्वसाधारण गरेर बैंकले ८० करोडको सम्पति बिक्री गर्न लागेको हो।
'चालु बर्षभित्र ८० करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्दैछौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले बिजमाण्डूसँग भने, 'अर्को बर्षसम्म दुई अर्बको सम्पति बिक्री गरिसक्छौं।'

चालु बर्षभित्र ८० करोड बराबरको जग्गा बिक्री गर्दैछौं, अर्को बर्षसम्म दुई अर्बको सम्पति बिक्री गरिसक्छौं। पुँजी योजना अन्तर्गत दुई अर्बको सम्पति बिक्री गर्ने स्वीकृति पाए अनुसार बिक्री गर्न लागिएको हो ।
…..

यो पनि पढ्नुस् : नेपाल बैंकको पुँजी कोष बढाउन सरकार साढे दुई अर्ब पुँजी थप्दै
…..
राजधानीको कुपन्डोलस्थित जग्गा बिमा समितिलाई बिक्री गर्ने अन्तिम निर्णय नै भइसकेको छ भने चितवनको जग्गा नेपाल राष्ट्र बैंकलाई बेच्ने प्रकृया पनि अन्तिम चरणमा पुगेको छ। बैंकले बिमा समितिलाई ४८ करोड र राष्ट्र बैंकलाई १८ करोड रुपैयाँमा जग्गा बिक्री गर्न लागेको हो।
नेपाल बैंकले आउँदो बर्षसमेत गरेर कुल दुई अर्ब रुपैयाँ बराबरको सम्पति बिक्री गर्ने योजना बनाएको थियो। बैंकले चालु बर्ष एक अर्बको जग्गा बेच्ने लक्ष्य राखे पनि ८० करोड रुपैयाँको बिक्री भएको हो। बैंकलाई राष्ट्र बैंक र सरकारले सम्पति बिक्री गरेर क्षयीकरण भएको पुँजीलाई सकारात्मक बनाउन स्वीकृति दिएपछि बैंकले धमाधम सम्पति बिक्री थर्न थालेको हो।
बैंकले सुरुमा विभिन्न स्थानका ४५ वटा जग्गा बिक्री गर्ने योजना बनाएको थियो। योजनाभित्र परको केही जग्गा हटाएर केही थप्दै अहिले ४७ वटा जग्गा बिक्री गर्ने योजना बैंकले बनाएको छ। जग्गा बिक्रीका लागि बैंकले ४० वटा जग्गा बिक्रीका लागि प्रकृया नै सुरु गरिसकेको छ।
नेपाल बैंकले विराटनगरको जग्गा नेपाल टेलिकमलाई बिक्री गर्न लागेको छ भने दमौलीको जग्गा सर्वसाधारणलाई करिव ३० करोड रुपैयाँमा बिक्री गर्न लागेको छ। यस बाहेक बैंकलेे पोखराको जग्गा चार करोड ६० लाख रुपैयाँमा बिक्री नै गरिसकेको छ। 
बैंकले अन्य जग्गा बिक्री गर्नका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग पनि छलफल गरिरहेको जनाएको छ। बैंकले संस्थागतहरुसँग बिक्रीका लागि सहमति गरेको जग्गाको सुचना भने प्रकाशित गरेको छैन। सर्वसाधारणका लागि उसल ४० वटा जग्गा बिक्री गर्ने सुचना प्रकाशित गरिसकेको छ। 'पुँजी योजना अन्तर्गत दुई अर्बको सम्पति बिक्री गर्ने सरकार र राष्ट्र बैंकबाट स्वीकृति पाए अनुसार बिक्री गर्न लागिएको हो,' श्रेष्ठले भने, 'हाम्रो योजनाभन्दा केही ढिला भएपनि आउँदो बर्षसम्म सबै सम्पति बिक्री हुनेमा हामी आशावादी छौं।'
बैंकको अहिले चुक्ता पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ छ। बैंकको करिव तीन अर्ब ४५ करोड रुपैयाँले जगेडा कोष ऋणात्मक छ। सम्पति बिक्रीपछि जगेडा कोषको ऋणात्मक रकम घट्ने छ। ५.३३ प्रतिशत खराव कर्जा रहेको बैंकको सम्पति बिक्रीपछि यो थप घट्ने छ। बैंकको पुँजी कोष अनुपात ०.८८ प्रतिशतबाट बढ्ने छ। बैंकले चालु आर्थिक बर्ष नियमित कारोबारबाट करिव ७५ करोड रुपैयाँ नाफा आर्जन गर्ने जनाएको छ। 
बैंकको कर्मचारी खर्च पनि घट्दै जाने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए। उनले आगामी दुई बर्षभित्र अधिकांस पुराना कर्मचारी अवकाश हुन लागेकाले संख्या घटेर खर्चमा कम हुने बताए। 

Tata
GBIME
Nepal Life