एक्चुअरी मूल्यांकनले जीवन बीमा कम्पनीको नाफा बढ्यो



बिजमाण्डू
२०७१ असार १४ गते ००:०० | Jun 28, 2014
एक्चुअरी मूल्यांकनले जीवन बीमा कम्पनीको नाफा बढ्यो

विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । बीमा कम्पनीहरुको गत आर्थिक वर्षको एक्चुअरी मुल्यांकन (बीमांकीय) पछिको नाफा ११ प्रतिशतदेखि करिब तीन गुणासम्म बढेको छ । नेप्सेमा सूचीकृत सात कम्पनीमध्ये पाँच कम्पनीको बीमांकीय मूल्यांकन पछिको नाफा बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाशको अपरिस्कृत वित्तिय विवरणअनुसार दुई करोड ६३ लाख रुपैयाँ नाफा रहेको एसियन लाइफ इन्स्योरेन्सको बीमांकीय मुल्यांकनपछि नाफा २७८ प्रतिशतले बढेको छ । कम्पनीको नाफा नौं करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, चौथो त्रैमाशको अपरिस्कृत वित्तिय विवरणअनुसार २३ करोड ८७ लाख रुपैयाँ नाफा रहेको नेपाल लाइफ इन्स्योरेन्सको पनि नाफा दुई सय २४ प्रतिशतले बढेर ७७ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
लाइफ इन्स्योरेन्स कम्पनीको नाफा एक सय २७ प्रतिशतले बढेर २८ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीको गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा १२ करोड ४३ लाख रुपैयाँ थियो ।
नेशनल लाइफ इन्स्योरेन्सको नाफा ५० प्रतिशतले बढेर ४४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चौथो त्रैमाशको अपरिस्कृत वित्तिय विवरणअनुसार नाफा २९ करोड ३७ लाख रुपैयाँ थियो ।
सूर्यलाइफ इन्स्योरेन्सको पनि नाफा ११.३७ प्रतिशतले बढेर चार करोड रुपैयाँ पुगेको छ । कम्पनीको बीमांकीय मुल्यांकन अघि नाफा तीन करोड ६१ लाख रुपैयाँ थियो ।  बाँकी दुई सूचीकृत कम्पनी मध्ये प्राइम लाइफको बीमांकिय मुल्यांकन रिपोर्ट बीमा समितिमा अध्ययनको क्रममा छ भने गुराँस लाइफले यस्तो रिपोर्ट पठाइसकेको छैन ।

Tata
GBIME
Nepal Life

बीमांकिय मुल्यांकन पछि कसलाई के फाइदा ?
बीमांकीय मुल्यांकनले बीमा गरेका पोलिसी होल्डर र सेयर लगानीकर्ता दुवैलाई फाइदा हुन सक्छ । बीमांकीय मुल्यांकन पछि हुने नाफा कम्पनीहरुले लगानीकर्तालाई बाँड्न पाउँछन । बीमा समितिले कम्पनीहरुलाई हालसम्म सञ्चिती कति हुनुपर्ने भनेर तोकेको छैन । त्यस्तै, बीमांकीय मुल्यांकन पछिको नाफा दायित्वविहिन रकम भएकोले पनि कम्पनीले चाहेमा यस्तो रकम लगानीकर्तालाई बाँड्न सक्छ ।
नेपाल लाइफ इन्स्योरेन्सको बीमांकिय मुल्यांकन पछिको नाफा ७७ करोड ४६ लाख रुपैयाँ छ । कम्पनीले नाफा भएपछि ७० प्रतिशत बोनस सेयर र २८.५ प्रतिशत नगद लाभांश दिएको छ । तर अझै पनि कम्पनीसंग २० करोड रुपैयाँ सञ्चिती छ ।
यो रकम कम्पनीले चाहेमा पछि पनि वितरण गर्न सक्छ । यस क्रममा चालु आर्थिक वर्षमा हुने नाफा पनि कम्पनीले समावेश गरेर लाभांश वितरण गर्न सक्छ । यसअघि हरेक तीन तीन बर्षमा गरिने बीमांकीय मुल्यांकन बीमा समितिले गत आर्थिक वर्षबाट हरेक बर्ष गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । यसले गर्दा अब हरेक बर्षबाट कम्पनीहरुको वास्तविक नाफा र दायित्व मुक्त रकम पनि देखिने छ ।
नेशनल लाइफ इन्स्योरेन्सले पनि ५५ प्रतिशत बोनस सेयर र १७.५ प्रतिशत नगद लाभांश दियो । कम्पनीसंग लाभांश वितरण पछि पनि आठ करोड ३७ लाख रुपैयाँ सञ्चिती छ । त्यस्तै, ३० प्रतिशत बोनस सेयर दिएको लाइफ इन्स्योरेन्स कर्पाेरेशनसंग पनि बाँड्न योग्य ११ करोड ७० लाख रुपैयाँ रहेको छ ।
यही असार १४ गते बार्षिक साधारण सभा गरेको एसियन लाइफले लाभांश वितरण गरेन भने असार २८ मा सभा गर्न लागेको सूर्यालाइफ इन्स्योरेन्सले पनि लाभांश प्रस्ताव गरेको छैन । तर उनीहरुको नाफा बाँड्न योग्य रकम हो ।
त्यस्तै, बीमा गरेका पोलिसी होल्डरहरुले पनि बीमांकिय मुल्यांकन पछि कति बोनस दर पाउँछन भने हिसाब निकालिएको हुन्छ । नेशनल लाइफले अघिल्लो बर्षसम्म योजनाअनुसार बीमा गरेका पोलीसी होल्डरहरुलाई ६० देखि ७५ रुपैयाँसम्म बोनस दिएको थियो भने यसबर्ष ६१ देखि ७५ सम्म दिएको छ ।
त्यस्तै, सबै योजनामा पोलीसी होल्डरलाई ३५ रुपैयाँको दरमा बोनस दिएको एसियन लाइफले पनि यसबर्षबाट योजना अनुसार २५ देखि ६८ रुपैयाँसम्म बोनस दिएको छ । लाइफ इन्स्योरेन्सले पनि यसअघि ५५ देखि ७१ रुपैयाँ बोनस दिएकोमा चालु आवमा यस्तो दर बढाएर ६१ देखि ७५ पुर्याएको छ ।
नेपाल लाइफले यसअघि ५७ देखि ८२ रुपैयाँसम्म बोनस दिएकोमा चालु आवमा ६२ देखि ८२ रुपैयाँसम्म दिएको छ । सूर्यालाइफले भने यसअघि २८ देखि ५० रुपैयाँ बोनस दिएकोमा पोलीसी होल्डरले यो बर्षबाट अधिकत्तम ६० रुपैयाँसम्मको दरमा बोनस पाएका छन् ।

के हो एक्चुअरी मूल्यांकन ?
जीवन बीमा कम्पनीहरुले सञ्चालन गरेको बीमा योजना अन्र्तगत हुने आम्दानी वा बीमित (बीमा गरिएको व्यक्ति) हरुले कम्पनीलाई बुझाउने शुल्क बिभिन्न खर्च कटाएपछि जीवन बीमा कोषमा राखिने गरिन्छ । जीवन बीमा कोषहरुले सञ्चालन गरेको बिभिन्न योजनाबाट भएको आम्दानी पूँजीगत जगेडा कोष, बिशेष जगेडा, अन्य जगेडा लगायतका शिर्षकमा राखिएको हुन्छ ।
यी आम्दानीहरु (बीमा शुल्क, लगानी वा कर्जाबाट भएको आय) बाट दावी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि बाँकी हुने रकमलाई बीमा कम्पनीहरुमा बचत भनिने चलन छ । यही बचत रकम बार्षिक रुपमा जीवन बीमा कोषमा सारिने गरिन्छ ।  
जीवन बीमा कम्पनीहरुले कुनै बीमीतको मृत्यु नभएको खण्डमा पनि बीमा योजना परिपक्व भएपछि त्यो व्यक्तिलाई निश्चित रकम भुक्तानी दिनुपर्ने हुन्छ । जीवन बीमा कम्पनीको कुनै पनि योजना परिपक्व नहुँदासम्म त्यसप्रतिको दायित्व कायम रहन्छ । यसले गर्दा कम्पनीहरुले यस्तो बचत जीवन बीमा कोषमा राख्ने गर्छन् ।
जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मूल्यांकन गर्ने कार्य नै एक्चुअरी मूल्यांकन हो । एक्चुअरी मूल्यांकन गणितिय शुत्रहरु प्रयोग गरेर निकालिने हिसाब हो । एक्चुअरी अध्ययन गरेका व्यवसायिक व्यक्तिहरुले यस्तो हिसाब गर्छन् । यो चार्टर्ड एकाउन्टेन्टभन्दा पनि माथिल्लो स्तरको शिक्षा भएको बताइन्छ ।
जीवन बीमा कम्पनीहरुको एक्चुअरी मूल्यांकनपछि कम्पनीको नाफामा पर्ने असरलाई सामान्य रुपमा बुझ्न यो उदाहरण हेर्न सकिन्छ ।
मानौं, कुनै कम्पनीको जीवन बीमा कोषमा एक सय रुपैया रहेको छ । तर त्यसमध्ये कम्पनीको दायित्व (तिनुपर्ने रकम) जम्मा ९० रुपैयाँ रह्यो । एक्चुअरी मूल्यांकनले दायित्व पछि बाँकी हुने रकम देखिन्छ । यसरी त्यही उदाहरणअनुसार आएको दायित्व मुक्त १० रुपैयाँ मध्य निश्चित प्रतिशत कम्पनीहरुले आफ्नो नाफामा देखाउन पाउँछन् । कम्पनीहरुले दायित्व मुक्त रकमको १० प्रतिशत आफ्नो नाफामा जोड्न पाउछन् ।  
यदी एक्चुअरी अगाडी कुनै कम्पनीको नाफा ५० रुपैयाँ छ भने अघिको उदाहरण अनुसार दायित्व मुक्त १० रुपैयाँको १० प्रतिशत (एक रुपैयाँ) कम्पनीको नाफामा जोड्न पाइने भयो । यसरी एक्चुअरी मूल्यांकन पछि कम्पनीको नाफा अब ५० रुपैयाँबाट बढेर ५१ रुपैयाँ हुने भयो ।
निर्जीवन बीमा कम्पनीहरुलाई भने एक्चुअरी मूल्यांकन गर्नु पर्दैन ।  हालसम्म एक्चुअरी मूल्यांकन गर्ने संस्था (बिमाङ्की) भने नेपालमा छैन् । कम्पनीहरु भारत लगायतका अन्य देशमा रहेका संस्थाहरु मार्फत् एक्चुअरी गराउने गर्छन् ।