एनसिसीले दुई बर्षको साधारणसभा असोजसम्म गर्दै, वोनस सेयर वितरण गरेर पुँजी दुई अर्ब पुर्‍याउने

बिजमाण्डू
२०७१ असार १४ गते ००:०० | Jun 28, 2014
एनसिसीले दुई बर्षको साधारणसभा असोजसम्म गर्दै, वोनस सेयर वितरण गरेर पुँजी दुई अर्ब पुर्‍याउने
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको सञ्चालक समिति जिम्मा लिएको नेपाल राष्ट्र बैंकले दुई बर्षको नाफाबाट बैंकको चुक्ता पुँजी दुई अर्ब पुर्‍याउने योजना बनाएको छ । राष्ट्र बैंकले करिव ५३ करोड रुपैयाँ नाफाबाटै सेयरका रुपमा वितरण गरेर चुक्ता पुँजी दुई अर्ब पुर्‍याउने भएको हो ।
राष्ट्र बैंकले असोजभित्रै दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गर्ने योजना बनाएको छ ।

Tata
GBIME
Nepal Life
बैंककै नाफाबाट पुँजी दुई अर्ब पुर्‍याइने छ। साधारणसभा अघि नै हामीले डिडिए गर्नु पर्ने हुन्छ, आउँदो साताबाट डिडिएको काम सुरु हुन्छ ।
….
लक्ष्मीप्रपन्न निरौंला
राष्ट्र बैंकका तर्फबाट
एसिसीका अध्यक्ष 

….
 

बैंकको व्यवस्थापन पनि असोजमै साधारणसभा सक्ने गरी काम गरिरहेको छ । राष्ट्र बैंकले साधारणसभा गर्नु पूर्व बैंकको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्ने भएको छ ।

‘साधारणसभा अघि नै हामीले डिडिए गर्नु पर्ने हुन्छ, आउँदो साताबाट डिडिएको काम सुरु हुन्छ,’ राष्ट्र बैंकका निर्देशक तथा एनसिसी बैंकका सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, ‘डिडिए गर्न करिव ४५ दिन लाग्छ ।’ उनले बैंककै नाफाबाट पुँजी दुई अर्ब पुर्‍याउने जानकारी दिँदै थप पुँजी बृद्धिका लागि अन्य संस्थालाई गाभ्ने योजना रहेको बताए । राष्ट्र बैंकले बैंकको सञ्चालक समिति गत माघ २१ गते जिम्मा लिएको थियो । 
बैंकको अहिले चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ । असार मसान्तसम्म बैंकले दुई अर्ब पुँजी पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन नै छ । बैंकले दुई अर्ब पुँजी पुर्‍याउन  करिव ३७ प्रतिशत वोनस सेयर वितरण गर्नु पर्ने हुन्छ । बैंकले वोनस सेयर दिने रकम असार मसान्तपछि बेग्लै छुट्याएर राख्ने छ ।
बैंकले गत आर्थिक बर्ष ३७ करोड रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।

पाहोरको नाफाबाटै १६/१७ प्रतिशत वोनस सेयर दिने अवस्था थियो, यसपालीको नाफा पनि थपिने भएकाले दुई अर्ब पुँजी पुर्‍याउन सजिलै सकिन्छ, यसपाली प्रवद्र्धकसँग आवद्ध कर्जाहरु पनि उठ्न थालेको छ ।
……
अमृततरण श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
……

चालु बर्षको चैतसम्म बैंकले थप १७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । बैंकको जगेडा कोषमा ९८ करोड १७ लाख रुपैयाँ छ । नाफा र जगेडा कोषबाटै बैंकले चुक्ता पुँजी दुई अर्ब पुर्‍याउन सक्छ । 

‘पाहोरको नाफाबाटै १६/१७ प्रतिशत वोनस सेयर दिने अवस्था थियो, यसपालीको नाफा पनि थपिने भएकाले दुई अर्ब पुँजी पुर्‍याउन सजिलै सकिन्छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बिजमाण्डूसँग भने, ‘नियमित कारोबारबाट हुने आम्दानीबाटै वोनस सेयर दिन सकिन्छ, यसपाली प्रवद्र्धकसँग आवद्ध कर्जाहरु पनि उठ्न थालेको छ ।’
बैंकले एनबी समूह र यसका सदस्यहरुबाट करिव २६ करोड रुपैयाँ ऋणमध्ये करिव २५ प्रतिशत ऋण उठिसकेको छ । ‘बाँकी कर्जा पनि असार मसान्तभित्र उठाइसक्ने कसरतमा छौं,’ अध्यक्ष निरौलाले भने । 
एनबी समूहका सदस्यहरुको नाममा रहेका केही सेयर धितो राखेर समूहभित्रैका रामेश्वर श्रेष्ठले बैंकबाट ऋण चलाएका थिए । यो ऋण तिर्न पहिले सहमति गरे पनि पछिल्लो समय श्रेष्ठले आनाकानी गरिरहेका छन् । श्रेष्ठले आउँदो मसान्तसम्म ऋण भुक्तानी गर्न सहयोग नगरेको अवस्था राष्ट्र बैंक कानुनी कारवाहीमा जाने योजनामा छ । यद्यपी सेयर धितो राख्न दिने समूका सदस्यहरु भने सेयर बिक्री गरेर ऋण राफसाफ गर्न सकारात्मक रहेको बैंक स्रोतले जानकारी दियो । 
राष्ट्र बैंकले वास्तविक सेयरधनीलाई बैंकको सञ्चालक समिति जिम्मा लगाउनुअघि नै मर्जरमा जाने संस्था टुङगो लगाउने छ । संस्था टुङगो लगाएपछि आउँदो साधारणसभाबाट त्यसलाई अनुमोदन गराएर उसले सञ्चालक समिति हस्तान्तरण गर्ने छ । नयाँ गठन हुने सञ्चालक समितिले एक बर्षभित्र अर्को संस्थालाई आफूसँग गाभ्ने छ । 
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्र बैंक आइसकेपछि पुराना सञ्चालकबीच मिल्ने वातावरण बनिसकेको बताए । ‘राष्ट्र बैंक आइसकेपछि धेरै सुधारका काम भइसकेका छन्, पुराना सञ्चालकबाट अवरोध नहुने भएकोले साधारणसभा गर्ने वातावरण पनि बनेको छ,’ उनले भने । 
बैंकको पुँजी कोष अनुपात पनि ११ प्रतिशतको हाराहारीमा भएकाले थप लगानी विस्तार गर्नका लागि पुँजी बढाउनु पर्ने वाध्यता छ । बैंकको प्रति सेयर आम्दानी १८.२६ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.११ गुणा छ ।