आइएलओको विश्वव्यापी युवा रोजगारी प्रतिस्पर्धामा रोजगार कोष बिजयी, एक सय एक संस्थामा दोस्रो

बिजमाण्डू
२०७१ असार १८ गते ००:०० | Jul 2, 2014

काठमाडौं। हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको रोजगार कोष कार्यक्रम अन्तराष्ट्रिय श्रम सङ्गठन(आइएलओ) बाट पुरस्कृत भएको छ। आईएलओले सन् २०१३ मा आयोजना गरेको विश्वव्यापी प्रतियोगिता 'द आइएलओ कल फर गुड प्राक्टिस अन युथ इम्पोयमेन्ट' शिर्षकको अन्तर्राष्ट्रिय प्रतियोगितामा रोजगार कोष बनेको हो।

विश्वभरका एक सय एक संस्थाले सहभागिता जनाएको प्रतिश्पर्धामा सातवटाले पुरस्कार पाएका छन्। तीन वटा प्रथम र चार वटाले द्वितिय पुरस्कार पाएका हुन्। रोजगार कोषले द्वितिय पुरस्कारको रुपमा एक हजार अमेरिकी डलर प्राप्त गर्यो। आइएलओले प्रतियोगितामा विश्वव्यापी रुपमा युवा रोजगारीका क्षेत्र र मर्यादित कामको वातावरण प्रवर्द्धनमा गरिएका राम्रा प्रयास प्रस्तुत गर्न गर्न आह्वान गरेको थियो। महत्व, प्रभावकारिता र प्रभाव, दक्षता, दीर्घकालीन महत्व, नयाँपन र अरूले पनि ग्रहण गर्न सक्ने गरि छ वटा आधारमा मुल्याङ्कन गरिएको थियो। यसअघि यस्तो प्रतियोगिता क्षेत्रीय रूपमा सन् २००९ र विश्वव्यापी रूपमा सन् २०१२ मा पनि आयोजना गरिएको थियो।

Tata
GBIME
Nepal Life

आइएलओले आफ्नो प्रतिवेदनमा रोजगार कोष थोरैमध्येको एक कार्यक्रम रहेको र त्यसले आफ्नो कार्यक्रमको प्रभावकारिता र प्रभावबारे प्रमाण उपलब्ध गराएको उल्लेख छ। 'कोष मार्फत तालिम लिएका युवाको आयमा वृद्धि, समग्र जीवनस्तरमा सुधार र खासगरी महिलाको जीवनवृत्तिमा ल्याएको सुधारलाई सकारात्मक प्रभावका रूपमा लिन सकिन्छ' प्रतिवेदनमा उल्लेख छ।

रोजगार कोष शिक्षा मन्त्रालयको रेखदेखमा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले सन् २००७ देखि सञ्चालन गरेको परियोजना हो। यसमा स्वीस सरकार विकास सहयोग, बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग र विश्व बैँकले आर्थिक सहयोग गरेका छन्। कोषले गैर लाभान्वित समुदायका शहरी र ग्रामीण युवालाई बर्तमान श्रम बजारको आवश्यकता अनुरुपका सीपमूलक तालिम, व्यवसाय विकास तालिम र जीवनोपयोगी सीप तालिम मार्फत प्रदान गर्दै आएको छ। युवाको रोजगारीमा सहज पहुँच तथा प्रवेश र उनीहरूको जीवनयापन सुधारलाई कोषले आफ्नो लक्ष्य बनाएको जनाएको छ।