फलफूलको भाउ न्युनतम २० प्रतिसत बढ्यो, सबैभन्दा महँगो स्याउ, विषादी हाल्नेलाई कारबाही

बिजमाण्डू
२०७१ असार २१ गते ००:०० | Jul 5, 2014
फलफूलको भाउ न्युनतम २० प्रतिसत बढ्यो, सबैभन्दा महँगो स्याउ, विषादी हाल्नेलाई कारबाही

काठमाडौ । लामो खडेरीले उत्पादन घटेपछि यो वर्ष फलफूल निकै महँगिएको छ । नेपालकै विभिन्न स्थान र भारतबाट राजधानी आउने आँप, मेवा, मौसम, केरा, भुइँकटहर र स्याउको भाउ निकै बढेको हो । फलफूलको भाउ न्युनतम २० प्रतिसत बढेको व्यापारीहरुले बताएका छन् ।
सामान्यत वर्षायाम लागेपछि फलफूलको भाउ सस्तो हुने गर्छ । तर यो वर्ष पानी नपर्दा भाउ अझै बढ्दै गएको छ । पानी परेपछि ग्राहक नआउने र व्यापारीले पनि थोक पसलबाट सामान उठाउँदैनन् ।
अहिले आँप पाक्ने सिजन भएपनि तराईका जिल्ला र भारतमा कम फल्दा महँगो भएको बल्खुस्थित थोक फलफूल विक्रेता बताउँछन् । भारतमा कम उत्पादन हुँदा पनि यहाँको भाउमा असर पर्छ । फलफूलहरुको राजा भनेर चिनिने आँपको मूल्य गत वर्षको तुलनामा यो वर्ष न्युनतम २० प्रतिशत बढेको व्यवसायी बताउँछन् ।
किसानले नै निरन्तरको सुख्खाका कारण फलफूल उत्पादनमा ह्रास आएको भन्दै मूल्य बढाएका छन् । 'हामीले मात्रै बढाएर मूल्य बढ्ने हैन किसानले नै भाउ बढाएर व्यपारीलाई बेचेपछि मूल्य त बढ्ने नै भयो',बल्खुमा फलफूलको थोक व्यापार गर्दै आएका विष्णु तिमल्सेना भन्छन्, 'खडेरी, असिनाले गर्दा आँपको उत्पादन कम भएको छ ।'
आँपको पकेट क्षेत्र मानिएको नेपालको सर्लाही, मोरङ, सप्तरी, कैलालीलगायतका जिल्लामा उत्पादन कम हुँदा महँगो भएको रामवी फ्रुट सेन्टरका सञ्चालक तिमल्सेनाले बताए ।
गत वर्ष यो सिजनमा ४० देखि ४५ रुपैयाँ प्रतिकिलो पाइने मालदह आँप यो वर्ष ७५ रुपैयाँ पुगेको छ । उनले भने, ‘उत्पादन कम भयो, त्यसैले फलफूल महँगो भएको छ ।’ उनका अनुसार नेपालमा मालदह आँप सबै भन्दा महँगो भएको छ । भारतबाट मालदह आउनथालेपछि भने भाउ घट्ने उनी बताउँछन् ।
यसैगरी दशहरी, कलकत्तीय, कृष्णभोगलगायत स्थानीय आँप पनि यो वर्ष महँगो भएको छ । गत वर्ष बढीमा ५० रुपैयाँ प्रतिकिलो परेको दशहरी आँप यो वर्ष ६० रुपैयाँ पुगिसकेको छ ।
युवी फ्रुट सेन्टर बल्खुका सञ्चालक विदुर गौतमका अनुसार अब आँपको सिजन पनि सकिँदै गएकोले पनि भाउ आकासिएको हो । उनका अनुसार आँपको स्वभाव एक वर्ष फल्ने र एक वर्ष नफल्ने हुन्छ । यसले गर्दा पनि भाउमा हरेका वर्ष तलमाथि भइरहन्छ । उनी भन्छन्, 'गएको वर्ष धेरै फलेको थियो यो वर्ष कम फलेको छ । आँप एक वर्ष धेरै फल्छ, एक वर्ष कम । माग र आपूर्तिको नियम अनुसार कम उत्पादन र बढी माग भयो भने त्यसै मूल्य बढ्छ ।'
आँप मात्रै होइन अन्य फलफूलको भाउ पनि गत वर्षको तुलनामा बढेको छ । भारतबाट आयतित अनारको भाउ प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । यो मूल्य बल्खुस्थित फलफूल बजारमा कारोबार भइरहेको थोक मूल्य हो।

Tata
GBIME
Nepal Life


भारतबाट आयतित अनारको भाउ प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । यो मूल्य बल्खुस्थित फलफूल बजारमा कारोबार भइरहेको थोक मूल्य हो।

भर्खरै सिजन सकिएकोले स्याउ सबैभन्दा महँगो भएको छ । खुद्रा किन्दा दुई सय रुपैयाँ पर्ने स्याउको थोक मूल्य एक सय ६० रुपैयाँ छ । गौतम भन्छन्, 'स्याउको सिजन सकिन लाग्यो। अब महँगो हुँदै जान्छ ।' उनका अनुसार स्याउको खुद्रा मूल्य तीन सय ५० रुपैयाँसम्म पुग्छ । भदौमा नेपाली स्याउ भित्रिएपछि भने भाउ घट्ने व्यवसायी बताउँछन् । अहिले भारत र चीनबाट ल्याइएको स्याउ बिक्री भइरहेको छ ।
यसैगरी केराको मूल्य पनि गत वर्षको तुलनामा बढेको छ । असिना, गर्मी र लामो खडेरीले उत्पादन कम भएपछि मूल्य बढेको  बल्खुमा केराको थोक बिक्री गर्दै आएका सन्ततुलसीदास फ्रुट सेन्टरका शम्भुकुमार साह बताउँछन् ।
मोरङ र चितवनमा केरा धेरै फल्छ । गत चैतमा मोरङमा असिनाले केराबालीमा धेरै क्षति पुर्‍याएको थियो । भारत उत्पादित केराले नेपालको करिव ५० प्रतिशत बजारहिस्सा ओगटेको छ ।
यसैगरी किसानले मिलेर केराको भाउ राखेकोले पनि महँगो भएको उनी बताउँछन् । उनी भन्छन्, 'चितवनका किसान मिलेर काँचो एक घरी केराको भाउ नै साढे तीन रुपैयाँ पुर्‍याएका छन् । गएको वर्ष किसानले दुई रुपैयाँमा बेचेका थिए ।' उनका अनुसार बल्खुको थोक बजारमा केरा प्रतिकोसा ६ रुपैयाँसम्म पर्छ । यही केरा उपभोक्ताले आठ रुपैयाँ प्रतिकोसा किन्नुपर्छ ।
साउनसम्म केरा महँगो हुने र भदौपछि सस्तो हुने साह बताउँछन् । असार साउनमा केराको खपत बढी हुने र उत्पादन कम हुने भएकोले भाउ बढ्ने उनको अनुभव छ । भदौमा केराको उत्पादन बढ्ने र माग कम हुने भएकोले भाउ घट्ने उनी सुनाउँछन् ।
यस्तै भुइँकटरहो भाउ पनि आकासिएको छ। गत महिनासम्म प्रतिगोटा ४० देखि ५० रुपैयाँमा बिक्री भएको भुइँकटहर अहिले ८० देखि ९० रुपैयाँसम्म पुगेको छ ।
यस्तै मौसमको भाउ पनि आकासिएको छ। भारतबाट आउने मौसमको सिजन भर्खर सुरु भएकोले महँगो भएको श्रेष्ठ फ्रुट ट्रेडरुसका सञ्चालक मानकाजी श्रेष्ठ बताउँछन् ।
बल्खु थोक बजारमा ठूलो मौसमको प्रतिकिलो ९५ पर्छ भने सानोको ६५ रुपैयाँ पर्छ । तर खुद्रा पसलेले ठूलो एक सय २० र सानो ९० रुपैयाँ प्रतिकिलोमा बेच्दै आएका छन् ।
विषादी हालेर फलफूल पकाउनेलाई कारबाही
नेपाल फलफूल थोक व्यवसायीले फलफूल चाँडै पकाउन विषादी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको छ । बजारमा चाँडै पकाउन विषादी हालिन्छ भन्ने हल्ला फैलिएपछि संघले यस्तो निर्णय गरेको हो । मेवा, केरा, अंगुर लगायतका पकाउनुपर्ने फलफूलमा विषादी हालेर पकाउन मिल्छ ।
संघका अध्यक्ष अम्मर बानियाँका अनुसार यसरी विषादी प्रयोग गरेको पाइए व्यवसायीलाई कारबाही गरिन्छ र विषादीयुक्त फलफूल जफत गरिन्छ । उनले भने, 'कुनै पनि फलफूललाई विषादी हालेर गभाउनै पर्दैन, आफैँ पक्छन् । मान्छेको स्वास्थ्यमा गम्भीर असर गर्ने खालको विष प्रयोग गरेको पाइए कारबाही हुन्छ ।'
 

कुन फलफूलको मूल्य कति ? (प्रतिकिलो रुपैयाँमा)
 
फलफूलको नाम गत वर्षको थोक मूल्य यस वर्षको थोक मूल्य खुद्रा मूल्य
मालदह आँप ५० देखि ६० ७० देखि माथि ११०
दशहरी आँप ४० देखि ५० ५० देखि ६० ७५ माथि
कलकत्तिया आँप २५ देखि ३५ ३३ देखि ४० ६०
कृष्णभोग आँप २५ देखि ३५ ३३ देखि ४० ६०
अनार १२५ १५० १९०
मेवा ४० ६० ७०
मौसम ठूलो ८० ९५ १२०
मौसम सानो ५० ६५ ७५
भुइँकटहर प्रतिगोटा ६० देखि ७० प्रतिगोटा ९० सम्म प्रतिगोटा १०० सम्म
स्याउ १५० १६० २२०