काठमाडौं। आगामी आइतवारबाट नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०७८’ नाम दिइएकोे यो ऋणपत्रको आकार ७५ करोड रुपैयाँ रहेको छ । बैंकले सर्वसाधारणको लागि एक लाख १२ हजार पाँच सय कित्ता र सामूहिक लगानी कोषको लागि ३७ हजार पाँच सय कित्ता ऋणपत्र छुट्याएको छ । बाँकी ऋणपत्र भने बैंकले व्यक्तिगत तवरले व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
सर्वसाधारणको लागि छुट्याइएको ऋणपत्रमा न्युनतम २५ देखि अधिकत्तम एक लाख १२ हजार पाँच सय कित्ताको लागि नै आवेदन दिन सक्ने छन । अंकित मूल्य एक हजार रुपैयाँ रहेको यो ऋण पत्रको परिपक्व अवधि सात बर्षको रहने छ । बार्षिक आठ प्रतिशत व्याजदर रहेको ऋणपत्रमा लगानी गर्नेले अद्र्धबार्षिक रुपमा व्याज भुक्तानी पाउँने छ । लगानीकर्ताले हरेक बर्ष माघ एक र साउन एक गतेबाट व्याज भुक्तानी पाउने छन । कम्पनीले जारी गरेको ऋण पत्र भुक्तानीको लागि पहिलो बर्ष देखि नै ऋणपत्र भुक्तानी कोष व्यवस्था गरेको छ भने हरेक बर्षको नाफाबाट १० करोड बढि रकम यस्तो कोषमा राख्ने छ । बैंकले नोक्सानी व्यहोरेको अवस्थामा पनि कोषमा रकमान्तर गरिने बैंकले स्पष्ट पारेको छ ।
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रले भने रेटिङ एजेन्सी इक्रा नेपालबाट एलए रिटिङ पाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले करिब एक बर्षअघि पाएको ए रेटिङ पनि कायमै रहेको छ । बैंकले र ऋणपत्रले पाएको रेटिङ दुवैले पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ ।











