नबिलः दुई करोडबाट तीन दशकमा तीन अर्बको यात्रा

बिजमाण्डू
२०७१ असार २७ गते ००:०० | Jul 11, 2014
नबिलः दुई करोडबाट तीन दशकमा तीन अर्बको यात्रा
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । फिलिपिन्सबाट एमबिए सकेर नेपाल फर्किएपछि अनिल ज्ञवाली वेरोजगार थिए । सोंच्दै थिए, कहाँ जागिर खाने ? कसैले भन्यो नेपालमा विदेशी बैंक आउन लागेको छ । उनीहरु कर्मचारी खोजिरहेका छन्, ज्ञवाली त्यसलाई पच्छ्याउँदै जागिरका लागि आवेदन दिन गए । अनौपचारिक अन्तर्वाता भयो, उनी उत्तिर्ण पनि भए । जुन दिन उनी जागिर खान सुरु गर्दै थिए, त्यो दिनसम्म बैंक दर्ता भएको थिएन । दर्ता नभएकाले तलव र काम गर्ने पद निश्चित थिएन । 
ताहचलको एउटा घरमा सम्पर्क कार्यालय थियो, विदेशीहरु त्यहीं बसेर काम गर्थे, नियुक्त गरिएका नेपालीलाई तालिम दिन्थे, बैंकिङका बारेमा नीतिगत छलफल हुन्थ्यो । १९८४ जुन महिनामा बैंक दर्ता भयो, जुलाइ १२ तारिखबाट कान्तिपथमा बैंक सञ्चालनमा आयो । विदेशबाट एमबीए सकेर आएका हुनाले ज्ञवाली  साेझै अधिकृत नियुक्त भए, तलब २९ सय रुपैयाँ ताेकियाे।
३० वर्ष अघि खोलिएको नेपाल अरब बैंक अहिले नबिल बनेको छ । एक करोड ८० लाख चुक्ता पुँजीबाट सुरु भएको नबिलको चुक्ता पुँजी तीन अर्ब चार करोड छ, रिजर्भमा अर्को पाँच अर्ब थुप्रिएको छ । १४ करोडको निक्षेप बढेर ७५ अर्ब नाघेको छ, १३ करोडको कर्जा ५५ अर्ब रुपैयाँ माथि छ । १३८ कर्मचारीले सुरु गरेको बैंकमा अहिले ७४२ कर्मचारी छन् ।
व्यालेन्ससिट साइज, मुनाफा र प्रतिफलका आधारमा नबिल बैंक ३० वर्ष पछि पनि नम्वर ‘एक’मै छ । र यो बैंकलाई नेतृत्व गर्दैछन्, उनै अनिल ज्ञवाली । ३० वर्ष अघि अहिलेको नबिल बैंक फरक सोंच ‘कस्टमर सर्भिस’का साथ सुरु भएको थियो । आजका दिनमा पनि बैंकको त्यो फरक सोंच जारी छ । सिईओ ज्ञवाली भन्छन्, अहिले पनि हाम्रो प्राथमिकता, ‘कस्टमर सर्भिस’ हो । 
 
अनिलको उ बेलाको अनुभव
‘भर्खर पढेर फर्किएको थिएँ, कामको अहिलेको जस्तो अवसर थिएन । के गर्नेभन्दा एक जनाको सम्पर्कको माध्यमबाट अरब बैंकका मान्छेहरुलाई ताहचलमा गएर भेटेँ,’ ज्ञवालीले पुराना कुरा सम्झिँदै भने, ‘अन्तर्राष्ट्रिय बैंक भनेपछि केही त राम्रै हुन्छ भन्ने थियो, जागिर सुरु भयो, आज त्यही बैंकको प्रमुख कार्यकारी हुँदा मलाई गौरव लागेर आउँछ ।’
बैंकले स्थानीय जागिरेका रुपमा सुरुवाति दिनमा ज्ञवालीका साथै जितेन्द्र बस्नेत, किरण पन्त, विनय गिरि, राजु अधिकारी, शोभनदेव पन्त, अजय घिमिरेलगायत ८-१० जनालाई माथिल्लो व्यवस्थापनमा नियुक्त गरेको थियो । सुरुमा बैंकका ३५-४० जना कर्मचारी थिए, एक बर्षको अवधिमै यो संख्या बढेर एक सय ३८ पुग्यो उनले भने ।
बैंक खोल्न आएका इमिरेट्स बैंक इन्टरनेशनलका कर्मचारीहरु ताहाचलमा बस्थे । उनीहरु बसेकै घरमा ज्ञवाली लगायतको टोली जागिर खान जान्थ्यो । नेपाली कर्मचारीलाई विदेशी व्यवस्थापक बैंक सञ्चालनको जानकारी दिन्थे, ज्ञवालीले भने । उनीहरु मिलेर बैंक सञ्चालनको म्यानुअलहरु तयार गरे । झण्डै तीन महिना यसैगरी चलेपछि केन्द्रिय बैंकले १९८४ जुनमा बैंक सञ्चालनको लाइसेन्स दियो । जुलाई १२ मा बैंकको उद्घाटन भयो । 
 
सिईओ उत्पादन गर्ने फ्याक्ट्रि
नेपाल अरब हुँदै नबिल बैंक सञ्चालनको ३० बर्षको अवधिमा अनिल ज्ञवाली मात्र होइन, त्यहीँबाट करियर सुरु गरेका सोभनदेव पन्त, शशिन जोशी, अशोक राणा, सुरेन्द्र भन्डारी, अमृतचरण श्रेष्ठ, भुवन दाहाल अन्य बाणिज्य बैंकमा प्रमुख कार्यकारी छन् । 
मनोज गोयल पनि बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिलमै ‘इन्टर्नसिप’ गरेर करियर सुरु गरेका थिए । 
यस वाहेक विभिन्न विकास बैंक र फाइनान्स कम्पनीको प्रमुख कार्यकारी तथा माथिल्लो व्यवस्थापनमा नबिल बैंकका ‘प्रोडक्ट’ हरु भेट्न सकिन्छ ।
 
पुँजीको विस्तार
जारी पुँजी तीन करोड रुपैयाँबाट सुरु भएको बैंकमा सर्वसाधारणले यसको ६० प्रतिशत अर्थात एक करोड ८० लाख रुपैयाँ मात्र लगानी गरेका छन् । आज बैंकको चुक्ता पुँजी तीन अर्ब चार करोड रुपैयाँ पुगिसकेको छ । एक करोड ८० लाख वाहेक बैंकले बाँकी पुँजीको जोहो सर्वसाधारणका लागि नाफाबाटै गरिदिएको हो ।
‘बैंकको सेयर तपाईको भविस्यका लागि राम्रो आम्दानीको स्रोत हो’ भन्दै सर्वसाधारणलाई बिक्री गरिएको नबिलको सेयरबाट लगानीकर्ताहरुले अहिलेसम्म छ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ नगद घर लगिसकेका छन् । 
यस बाहेक तीन अर्ब दुई करोड २० लाख रुपैयाँ बराबरको सेयर पनि प्राप्त गरिसकेका छन् । अहिलेको बजार मूल्यमा यी सेयरलाई बिक्री गर्ने हो भने यसको मूल्य ७६ अर्ब रुपैयाँ (यो रकम बिहीबारको साधारण सेयरको मूल्यका आधारमा निकालिएको हो) हुन जान्छ । 
‘त्यसबेला १० कित्ता सेयर हुनेले मात्र आजका दिनसम्म हजारौं कित्ता सेयर बनाइसकेका छन्,’ ज्ञवालीले भने, ‘नगद लाभांस पनि लाखौ रुपैयाँ भित्राइसकेका छन् ।’ बैंक सञ्चालनमा आएदेखि अहिलेसम्म पाँच बर्ष वाहेक हरेक बर्ष लाभांस वितरण गरेको छ ।
बैंकले विक्री गरेको सय कित्ता सेयर (दश हजार रुपैयाँ) प्राप्त गर्ने लगानीकर्तासँग अहिले १० हजार ५२ कित्ता सेयर छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार भएको मूल्यलाई आधार मान्ने हो भने, त्यो सेयरको अहिलेको मूल्य दुई करोड ५१ लाख रुपैयाँ हो । 
 
तीन दशकदेखिका सञ्चालक
बैंकको पहिलो साधारणसभादेखि अहिलेसम्म सञ्चालक समितिमा रहेका शम्भु पौडेलले निकै दुःखका साथ विदेशी बैंक नेपालमा सञ्चालन गरिएको सम्झन्छन् । तत्कालिन राजा विरेन्द्रको सहयोगमा अरब बैंक नेपालमा भित्राइएको हो । 

Tata
GBIME
Nepal Life
अरब बैंकलाई नेपाल भित्राउन केही रैथाने व्यापारीहरु लागिपरेका थिए । तर उनीहरुलै एक प्रतिशत पनि सेयर नपाउने भएपछि मुस्लिम बैंक हो, यसले पैसा लिएर भाग्छ भनेर हल्ला फैलाए ।
‘उनीहरुको हल्ला फैलाएकै कारण केही संस्थापक सेयरमा मागेजति आवेदन पर्न सकेन

 सन् १९९१ तिर बैंकले कोरियाली हनिल बैंकको काउन्टर ग्यारेन्टीका रुपमा काम गर्यो । कोरियाली ठेकेदार कम्पनीले नेपालको सडक विभागको काम गरेको थियो, यही परियोजनामा नबिल बैंक सहभागी भयो । कोरियाली कम्पनीले काम गर्न सकेन उ फर्कियो । यसको असर नबिल बैंकमा पर्यो 
 

राजा विरेन्द्र वाहिर गएको बेलामा फ्रान्सका लगानीकर्ताले बैंक खोल्न प्रस्ताव गरेका थिए । पछि अरबीहरुले पनि प्रस्ताव गरे । राजा विरेन्द्रलाई प्रस्ताव आएपछि उनलाई मनाउनका लागि सरकारी कर्मचारीहरु धनप्रसाद श्रेष्ठ, किरणकुमार थापा, ऋषिकुमार पाण्डे लगायतकाले सहयोग गरेको पौडेलको भनाइ छ । 

देशको विकास गर्नका लागि वाहिरको अनुभव ल्याउनु पर्छ भनेर तत्कालिन राष्ट्र बैंकका गभर्नर कल्याणविक्रम अधिकारीले पनि राज विरेन्द्रलाई सहमत गराए । 
राजा सहमत भएपछि दरवार्गस्थित अन्नपुर्ण होटल नजिकै एउटा घरमा अरब बैंकको बैंकिङ कार्यालय खोलियो, बैंकको उद्घाटन गभर्नर कल्याणविक्रम अधिकारीले नै गरेका थिए । 
पौडेलका अनुसार, अरब बैंकलाई नेपाल भित्राउन केही रैथाने व्यापारीहरु लागिपरेका थिए । तर उनीहरुलै एक प्रतिशत पनि सेयर नपाउने भएपछि मुस्लिम बैंक हो, यसले पैसा लिएर भाग्छ भनेर हल्ला फैलाए ।
‘उनीहरुको हल्ला फैलाएकै कारण केही संस्थापक सेयरमा मागेजति आवेदन पर्न सकेन,’ पौडेलले भने । बैंकको सञ्चालक समितिमा तीन किसिमका सेयरधनीको प्रतिनिधित्व थियो । क वर्गमा ५० प्रतिशत बोकेर मुस्लिम समूहलाई सेयर छट्याइएको थियो । ख वर्गमा नेपालका संस्थागत लगानीकर्ताहरु एनआइडिसी क्यापिटल मार्केट, बिमा संस्थान र अहिलको नेपाल स्टक एक्सचेन्ज थियो । यो समूहलाई २० प्रतिशत सेयर छुट्याइए पनि रैथाने व्यापारीले फैलाएको हल्लाका कारण १६ प्रतिशत मात्र लगानी भयो ।
ग वर्गका सर्वसाधारण लगानीकर्तालाई ३० प्रतिशत सेयर छुट्याइएको थियो । ‘सर्वसाधारणलाई बैंकका कर्मचारीहरु घरघर गएर सेयर किन्न अनुरोध गरेका थिए,’ पौडेलले भने, ‘त्यो सेयरमा मागभन्दा वढी आवेदन पर्यो, सबैले सेयर पाए तर मागेजति पाएनन् ।’
 
टर्निङ प्वाइन्ट
बैंकले सुरुदेखि नै ग्राहक सेवामा विशेष ध्यान दियो । त्यसअघि नै स्थापना भएका सरकारी नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकले टोकनमार्फत भुक्तानी दिँदै आएकोमा नबिल बैंकले पहिलो दिनदेखि नै चेकको भुक्तानी टेलर राखेर दियो । चेक बोकेर बसेका उतिनै खेर भुक्तानी पाउने भएपछि ग्राहकहरु पनि विदेशी बैंकप्रति आकर्षित देखिए ।

 

सरकारी बैंकका कर्मचारीहरु ग्राहक सेवामाभन्दा पनि सुइटर बुनेर दिन विताइरहेको भेटिन्थे, नबिलका हामी भने ग्राहक सेवामा वढि केन्द्रित हुन्थ्यौं, नबिल सफल हुनुमा ग्राहक सेवामा वढि फोकस र समय अनुसार प्रविधिमैत्री बैंकिङ अपनाएर हो 

भुवन दाहाल,
सिइअाे सानिमा बैंक

‘सरकारी बैंकका कर्मचारीहरु ग्राहक सेवामाभन्दा पनि सुइटर बुनेर दिन विताइरहेको भेटिन्थे, हामी भने ग्राहक सेवामा वढि केन्द्रित हुन्थ्यौं,’ नबिलबाट बैंकिङ करियर सुरु गरेर २२ बर्ष त्यहाँ बिताएका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने । उनका अनुसार, नबिल सफल हुनुमा ग्राहक सेवामा वढि फोकस र समय अनुसार प्रविधिमैत्री बैंकिङ अपनाएर हो । ज्ञवालीका अनुसार, नबिल बैंक सञ्चालनमा आउँदा बैंकिङ क्षेत्रमा मात्रै होइन कुनै पनि क्षेत्रमा ग्राहक सेवा थिएन । नबिल आएपछि ग्राहक सेवामा अरुले पनि ध्यान दिन थाले । 

‘हामी आउनुअघि र आएपछि पनि बैंकहरुले ग्राहकलाई ऋण दिँदा ताल्चा लाएर दिने चलन थियो,’ ज्ञवालीले भने, ‘नबिल आएपछि हाइपोथिकेसन भन्ने नयाँ अवधारणा आयो । समग्रमा ग्राहक सेवामा सबैले ध्यान दिन थाले ।’ उनका अनुसार, नबिल बैंक स्थापनदेखि अहिलेसम्म ‘टप थ्रि’ को सुचीभन्दा कहिले पनि बाहिर गएन । ‘हामीले जहिले पनि स्टेबल बैंकिङ गर्यौं,’ उनले भने, ‘त्यही कारण हामी अहिलेको अवस्थासम्म आइपुगेका हौं ।’ 
बैंकले पहिलो बार्षिक साधारणसभा गर्दा १४ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरिसकेको थियो भने १३ करोड २८ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । त्यो बर्ष बैंकको खुद मुनाफा पाँच लाख ३५ हजार रुपैयाँ थियो ।

समस्या पनि आएको थियो
बैंक जागिरका लागि आकर्षक कम्पनी भइसकेको थियौं नै नाफाको बृद्धि दर उच्च रहेकाले लगानीकर्ताहरु पनि मख्ख थिए । त्यही बीचमा अर्थात सन् १९९१ तिर बैंकले कोरियाली हनिल बैंकको काउन्टर ग्यारेन्टीका रुपमा काम गर्यो । कोरियाली ठेकेदार कम्पनीले नेपालको सडक विभागको काम गरेको थियो, यही परियोजनामा नबिल बैंक सहभागी भयो । 
कोरियाली कम्पनीले काम गर्न सकेन उ फर्कियो । यसको असर नबिल बैंकमा पर्यो । त्यो पैसा नबिल बैंकले तिर्नु पर्यो । २८ लाख ५४ हजार ५७७ अमेरिकी डलर भुक्तानी गरेपछि बैंकको खराब कर्जा १६ प्रतिशतसम्म पुग्यो ।
‘बैंक अप्ठेरोमा परेपछि केही उपल्लो तहका नेपाली कर्मचारीहरुले नबिल छाडेर अन्य बैंकमा गए,’ पौडेलले भने, ‘यसले बैंकलाई अझ समस्यामा पार्यो ।’ पछि पौडेलको विशेष पहलपछि हनिल बैंकले डुबेको रकम भुक्तानी गरेपछि नबिल समस्याबाट माथि आयो । त्यसयता भने नबिलले पछाडि फर्किएर हेर्नु परेको छैन । ‘आज नबिल देशकै नम्बर एक बैंक बनेको छ,’ उनले भने ।
नबिल बैंकमा अर्को समस्या पनि थियो, सरकारी कर्मचारी र राष्ट्र बैंकका उच्च अधिकारीहरु बैंकको सञ्चालक समितिको नेतृत्व गर्न आउँथे । ‘उनीहरु बैंकलाई राम्रो बनाउने प्रतिस्पर्धी बनाउने भन्दा पनि कर्मचारी भर्नामा बढी केन्द्रित हुन्थे,’ पौडेलले भने, ‘विस्तारै यो क्रम पनि रोकियो र आज बैंक निकै नै राम्रो अवस्थामा आइपुगेको छ ।’
 
नेपाली व्यवस्थापनको नेतृत्व
दुई जना कामु प्रमुख कार्यकारीहरुलाई पनि जोड्ने हो भने नबिल बैंकमा अहिलेसम्म १० जनाले व्यवस्थापनको नेतृत्व गरिसकेका छन् । नेपालीको तर्फबाट उपल्लो व्यवस्थापनमा पुग्ने पहिलो व्यक्ति सोभनदेव पन्त हुन् । उनी अहिले लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । 
सुरुमा बैंकको व्यवस्थापनको नेतृत्व जेएस श्रीवास्तवले गरेका हुन् । त्यसपछि पिटर स्टाफर प्रमुख कार्यकारी अधिकृत भए  । उनी केही समय प्रमुख कार्यकारी भएपछि फेरि श्रीवास्तव नै नबिलको नेतृत्वमा आए ।
त्यसपछि एससी कभाड्कर, डिसी खन्ना प्रमुख कार्यकारी अधिकृत भए । खन्नापछि कामु प्रमुख कार्यकारीका रुपमा सोभनदेव पन्त आए । बैंकले पन्तपछि पूर्ण प्रमुख कार्यकारीको जिम्मा सुरजलाल मेहतालाई दियो । 
उनीपछि प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भए । शाह त्यही बैंकबाट ‘इन्टर्नसिप’ गरेर जागिर खान तत्कालिन ग्रिन्डलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) मा गएका थिए । पछि महाप्रबन्धकका रुपमा नबिल भित्रिएका थिए । मेहेताले छाडेपछि शाहलाई प्रमुख कार्यकारी बनाइयो । शाहले छाडेपछि अहिले प्रमुख कार्यकारीको जिम्मा अनिल ज्ञवालीले लिएका छन् ।

  

Date EPS dividend payout (total) % Staff  NPL% Deposit Loan N. Profit
1984/85 1.14   138 146058123 132831365 535344
1985/86 6.07   178 327832330 136189336 2874942
1986/87 21.65   196 434806089 190638346 10257179
1987/88 41.45 24 218 654680015 252690739 20600965
1988/89 49.26 41 252 779315147 361551357 24628038
1989/90 56.36 53 251 1080824344 646847790 28180350
1990/91 57.81 0 267 1338424759 862096092 28906503
1991/92 193.97 10 303 2230876684 1269026377 96985606
1992/93 132.07 59 326 3347302781 1585965483 66032591
1993/94 174.78 29 340 4407641374 2388250009 114351699
1994/95 251.35 68 338 5354153627 3419635319 164448678
1995/96 132.9 0 345 7089465819 4316492867 173906777
1996/97 135.35 74 357 7752283211 4636388580 177108352
1997/98 66.78 142 389 13.4 8737765876 5224075065 174759660
1998/99 67.84 74 389 13.44 9464279791 5788930999 266490748
1999/2000 83.79 66 392 11.23 12779509552 7334756066 329104824
2000/01 74.18 101 388 16.2 15839007783 8324439432 291376140
2001/02 55.25 54 382 7.14 15506428215 7801848563 271638612
2002/03 84.66 59 326 5.54 13447661064 8113684221 416235811
2003/04 92.61 70 372 3.35 14119032115 8548657038 455311222
2004/05 105.49 66 426 1.32 14586608707 10946736577 518635749
2005/06 129.21 66 441 1.38 19347399440 13278782259 635262349
2006/07 137.08 102 427 1.12 23342285327 15903023765 673959698
2007/08 115.86 86 416 0.74 31915047467 21759460334 746468394
2008/09 113.44 75 505 0.8 37348255840 27999012071 1031053098
2009/10 83.81 84 557 1.48 46410700628 33030968688 1139099399
2010/11 70.67 42 657 1.77 49696112934 38905487889 1337745485
2011/12 83.23 72 650 2.33 55023695253 42867767793 1689391847
2012/13 95.14 68 742 2.13 63609808199 47645529877 2218761843
अबको बाटो 
नबिल बैंकले प्रविधिमैत्री बैंकिङलाई अझ वढावा दिने योजना बनाएको छ । बैंकले यसका लागि पुर्वाधार पनि तयार पार्दै लगेको छ । ‘हामीले सुरुदेखि नै कम्प्युटराइज प्रणालीबाट बैंकिङ सुविधा दिँदै आए पनि अझै पनि हामी यो पक्षमा कमजोर छौं,’ ज्ञवालीले भने, ‘अबको मुख्य फोकस नै प्रविधिमैत्री बैंकिङ हो ।’
उनले बैंकिङ व्यवसायमा अहिलेको भन्दा खासै फरक ‘प्रडक्ट’ ल्याउन ठाउँ नरहेको भन्दै प्रविधिमैत्री बैंकिङबाट ग्राहक सेवालाई विस्तार गर्दै लैजाने बताए । ‘अहिलेको भन्दा फरक के गर्ने त ? बैंकिङ त यही हो । एउटा दुई वटा प्रडक्ट थपिएला तर समग्रमा बैंकिङ यही नै हो,’ उनले भने, ‘अब गर्ने ठाउँ भनेको प्रविधिमै हो । 
हाइपोथिकेसन कर्जा होस् या सहवित्तीयकरण नेपालमा सुरु गर्ने नबिल बैंक नै हो । नयाँ अधिकांस प्रडक्ट पनि नबिल बैंकले नै नेपालमा भित्राउने गरेको छ । बैंकले नै सन् १९९१ तिर एटिएमको प्रस्ताव तयार पारेको हो । नेपालमा सन् २००० देखि एटिएमको बजार आक्रमक रुपमा विस्तार हुन थालेको हो । 
बैंकको अर्को लक्ष्य छ, विदेशमा शाखा खोल्ने । ‘अब हाम्रो लक्ष्य विदेशमा बैंक खोल्ने हो, सीप, ज्ञान र प्रविधिका हिसावले नबिल बाहिर बैंक खोल्न सक्षम छ,’ उनले भने, ‘अब हामी जाने बाहिर नै हो ।’ 
उनले आफूले चाहँदा चाहँदै पनि कति कुरा वाहिरको नीति, परिधि नमिलेका कारण योजनालाई पूर्णता दिन नसकिएको बताए । ‘हामीले चाहँदैमा हामी जान्छौं भन्ने पनि होइन । सेयर लगानीकर्ता र अझ हाम्रो देशलाई फाइदा हुनु पुर्यो,’ उनले भने, ‘हाम्रो पनि एउटा विदेशमा बैंक हुनु पर्छ भनेर हामी मात्रै हैन नेपालीहरु नै चाहन्छन् । यसमा देशले नै गौरव गर्ने कुरा हो ।’ 
 
‘अरब बैंक यसरी भयो नबिल’
उद्योगपति विनोद चौधरीले आफ्नो आत्मकथामा अरब बैंक कसरी नबिल बन्यो भनेर लेखेका छन् । उनी लेख्छन्…. 
नेपाल अरब बैंकको संस्थापक सेयर बिक्रीमा छ भन्ने खबर मलाई सबभन्दा पहिला सुनाए, बैंकका व्यवस्थापन सल्लाहकार जिसी श्रीवास्तवले । उनले भनेका थिए, ‘शेखहरु अरब बैंकबाट लगानी झिक्न चाहन्छन्, एक बर्षभित्रै सेयर बेच्नु भन्ने निर्देशन छ । तपाईलाई रुची भए मान्छेहरु भेटाइ दिन सक्छु ।’
कुरा २०५० अन्त्यतिरको हो । संयुक्त लगानीमा यो पहिलो बैंक खुलेको झन्डै दश बर्ष भइसकेको थियो । व्यवस्थापन संयुक्त अरब इमिरेटस (युएइ) को दुबइस्थित इमिरेट्स बैंक इन्टरनेशनलले सम्हाल्थ्यो ।
‘पहिलो चरणमा ३० प्रतिशत सेयर किन्छु,’ मैले प्रस्ताव गरेँ, ‘केही समय बैंक चलाउन मद्दत गर, बाँकी २० प्रतिशत पछि मै किनुँला ।’ सुरुमा त आनाकानी गरे, पछि माने । दिल्लीको ओबराय होटलमा इमिरेट्स बैंकसँग सम्झौता भयो । सेयर हस्तान्तरण सजिलो होस् भनेर दुई वटा सर्तहरु राखेँ– सञ्चालक समितिमा मलाई सामेल गराउने र मैले प्रस्ताव गरेको मान्छेलाई प्रमुख कार्यकारी बनाउने । उनीहरु सहमत भए । मलाई सञ्चालक समितिमा मनोनित गरियो । मैले प्रस्ताव गरेका डिसी खन्ना कार्यकारी निर्देशक भए ।
…..
मैले इमिरेट्स बैंक समूहसँग नयाँ ढंगको नेगोसियसन अघि बढाएँ । मेरो सट्टा नेसनल बैंक बंगलादेशले सेयर किन्ने र त्यो पनि ५० प्रतिशत एकैचोटी लिने भनेपछि इमेरेट्सलाई कुनै आपत्ति भएन । मैले नेसनल बैंक र इमिरेट्सबीच सिधै सम्पर्क गराइदिएँ । दुवैले नयाँ सम्झौता गरे । २०५२ को सुरुतिर नेपाल अरब बैंकमा रहेको आफ्नो सेयर नेसनल बैंक बंगलादेशलाई बेचेर इमिरेट्स इन्टरनेशनल बाहिरियो । 
यो घटनाको केही बर्षपछि नेसनल बैंक बंगलादेशभित्र साझेदारहरुबीच मतभेद सुरु भयो । त्यो मतभेद वंगलादेशको केन्द्रीय बैंकसम्म पुग्यो । हुँदाहुँदा नेसनल बैंकले नेपाल अरब बैंकबाट  हात झिक्ने निर्णय गर्यो । महबुब रहमान र अब्दुल अवाल मिन्टुले अरब बैंकको ५० प्रतिशत सेयर आफ्नो अर्को कम्पनी एनबी इन्टरनेशनलको नाममा सारे । एनबी इन्टरनेशनलको प्रवेशपछि नेपाल अरब बैंक विधिवत् रुपमा नबिल बैंकमा परिणत भयो ।