संस्थागत सुशासनः दुई कार्यकाल तोकिनु कति जायज?

बिजमाण्डू
२०७१ साउन ४ गते ००:०० | Jul 20, 2014
संस्थागत सुशासनः दुई कार्यकाल तोकिनु कति जायज?
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई कार्यकाल एकै संस्थामा सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत भएपछि जागिर वा आफ्नो पद छाड्नु पर्ने नीतिगत व्यवस्था गरेको छ। गत शुक्रबार जारी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कार्यकालको सीमा लगाएपछि यसले कानुनी प्रश्न पनि सँगै जन्माएको छ।
 
संस्थागत सुशासनलाई सुदृढ गर्न कार्यकालको सीमा तोकिएको राष्ट्र बैंक नेतृत्वको तर्क छ। बैंकर र सञ्चालकहरु कानुनमा नभएको विषयलाई नीतिगत निर्णयमार्फत लागू गर्नु राष्ट्र बैंकको स्वेक्षाचारी, अझ प्रस्टसँग भन्दा तानाशाही कदम भन्छन्। 
मौद्रिक नीति बाचनपछि बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीले गभर्नरलाई प्रश्न पनि गरे, 'कम्पनी ऐनमा कार्यकाल पुनः नवीकरण गर्ने कानुनी व्यवस्था छ, कानुनलाई मिचेर हामीले आफ्नो नियमावलीमा कार्यकालको सीमा कसरी तोक्न सक्छौं?' 
'मेरो यो पाँचौं मौद्रिक नीति हो,' भन्दै गभर्नर डा. युवराज खतिवडाले आफ्नो कार्यकाल सकिन लागेको संकेतसँगै आफूले 'वोल्ड' निर्णय गरेको प्रस्ट पारिसकेका छन्। बैंकर र व्यवसायी छुट्याउने मूख्य अभिप्राय बोकेका गभर्नरले जुन हिसाबले जाँदाजाँदै 'वोल्ड' मौद्रिक नीति प्रस्तुत गरे, यसले प्रस्ट संकेत गरेको छ, अब उनी अन्य नीतिहरु फिर्ता लिएजस्तो पछाडि फर्किने 'मुड' मा छैनन्।
 
मौद्रिक नीति बाचनपछि बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीले गभर्नरलाई प्रश्न पनि गरे, 'कम्पनी ऐनमा कार्यकाल पुनः नवीकरण गर्ने कानुनी व्यवस्था छ, कानुनलाई मिचेर हामीले आफ्नो नियमावलीमा कार्यकालको सीमा कसरी तोक्न सक्छौं?' भन्डारीको कडा प्रश्नलाई सजिलै गभर्नरले किनारा लगाइदिए। भने, 'तपाई राष्ट्र बैंककै नियमन विभाग हाँकिसकेको मान्छे, राष्ट्र बैंकले कहिले पनि कानुन मिचेर निर्णय गर्दैन।'
 
कसैले राम्रो गरिरहेको छ भन्ने थाहा पाउँदा पाउँदै उसलाई कार्यकालमा वाँधेर गलहत्याउनु कतिको न्याय संगत हुन्छ? राष्ट्र बैंकको सुपरिवेक्षणले बैंकिङ प्रणालीको हित विपरित काम गरिरहेको भन्ने प्रमाणित गर्‍यो भने किन दुई कार्यकाल, छ महिनामै हटाउन पनि सकिन्छ।
राष्ट्र बैंकले अहिलसम्म जति कार्यकाल पदमा बसेपनि त्यसलाई एक कार्यकाल मान्ने निर्णय गरेको छ। अर्थात अबको साढे सात बर्षभित्र अधिकांस बैंकले प्रमुख कार्यकारी अधिकृत नयाँ नियुक्त गर्नु पर्ने हुन्छ। राष्ट्र बैंकले नीतिगत व्यवस्था नगर्दै आधा दर्जन बैंक छाडेर अधिकांसमा नयाँ अनुहार देखिन थालेका छन्। योग्यता र दक्षताले खारिएर आएकाहरु नै प्रमुख कार्यकारी अधिकृत भएका छन्।
 
प्रमुख कार्यकारी अधिकृतले आफैले चाहेर कार्यकाल थप गर्न सक्दैन। उसलाई सञ्चालक समितिले नियुक्त गर्ने हो। कुनै बैंकको सञ्चालक समितिलाई यो प्रमुख कार्यकारीले बैंकलाई राम्रो गरिरहेको छ भन्ने लाग्दा उसले स्वतः करार नवीकरण गरिदिएको छ। सञ्चालक समितिलाई अयोग्य लागेकाहरु एउटै कार्यकालमा पनि फालिएका उदाहारण हामीसँग प्रशस्तै छन्।
 
बैंकलाई राम्रो गरिरहेको व्यक्तिलाई कार्यकालको वहानामा हटाउनु पक्का पनि उचित कदम होइन। उदाहरणनै हेरौं न, शशिन जोशी, शोभनदेव पन्त, रत्नराज बज्राचार्य, अनिल ज्ञवाली, अनिल शाह, किशोर महर्जन, भुवन दाहाल, सुदेश खालिङलगायतका बैंकरलाई बजारले मात्र होइन स्वयंम राष्ट्र बैंक आफैले पनि राम्रो गरिरहेका बैंकरका रुपमा हेर्दछ। कसैले राम्रो गरिरहेको छ भन्ने थाहा पाउँदा पाउँदै उसलाई कार्यकालमा वाँधेर गलहत्याउनु कतिको न्याय संगत हुन्छ? सञ्चालक समितिलाई राम्रो लागेन वा राष्ट्र बैंकको सुपरिवेक्षणले बैंकिङ प्रणालीको हित विपरित काम गरिरहेको भन्ने प्रमाणित गर्‍यो भने किन दुई कार्यकाल, छ महिनामै हटाउन पनि सकिन्छ।
 
प्रमुख कार्यकारीको जस्तै व्यवहार त सञ्चालक समितिलाई झन् गर्नै सकिन्न। आफूले मूख्य सेयर लिएर अगाडि वढाएको संस्थामा कार्यकाल सकिएपछि उसले दोहोर्‍याउन नपाउँदा संस्था नै विचलनमा पर्न सक्छ। मूख्य लगानीकर्ता बाहिरिएर अर्को कुनै व्यक्ति आउँदैमा संस्था राम्रो हुन्छ, संस्थागत सुशासन सुदृढ हुन्छ भन्ने राष्ट्र बैंकको तर्क आफैमा गलत छ। मानौं लगानीकर्ताले आफ्नो प्रतिनिधिका रुपमा अर्को व्यक्तिलाई पठायो रे, तर त्यो प्रतिनिधिले कसको हितमा काम गर्ला? पक्का पनि आफूलाई सञ्चालक बनाउनेकै हित हेर्छ। अर्को पक्ष पनि सँगै आउन सक्छ यहाँ। बैंक नै सञ्चालन गर्छु भन्ने लगानीकर्ताले दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाउने भएपछि किन बैंकमा लगानी गर्ने त। जबकी राष्ट्र बैंक आफै बैंकर र व्यावसायी छुट्याउँछु भनि रहेको छ। दुई कार्यकालको सीमा तोके पछि बैंकर बन्न को उत्साहित होला?
 
गभर्नर डा. खतिवडाले जापानी मोडल वा युरोपेली मोडलमा जाने भन्दै आफैले तर्क पनि गरे, दुवै मोडल बेष्ट मोडल हो। दुबै मोडल बेस्ट हो भने दुई कार्यकालयको अवधारणा किन चाहियो? कार्यकालका कारण होइन संस्था विग्रिने, नियतका कारण हो। राष्ट्र बैंक बैंकहरुको प्रत्यक्ष अनुगमन गरिरहेको हुन्छ, कसैको गल्ति फेला परे उसलाई कारवाही गरेर हटाउने, जरिवाना गर्ने अधिकार पनि राष्ट्र बैंकसँग छ। कसैले गल्ति गरेको छैन, निक्षेपकर्ताको हित संरक्षण गर्दै बैंकलाई सही दिशा दिएको छ भने त्यस्तो सञ्चालकलाई किन कार्यकालको सीमामा बाँध्ने? 
 
एक कार्यकालमै संस्थालाई विगार्ने सञ्चालकहरु पनि प्रशस्त छन्। पद दोहोर्‍याउँदा सुशासनको पालना हुँदैन भन्ने मान्यता राख्नु गलत हुन्छ। आफूले सम्मानित हिसावले बैंक चलाउछु भनेर लगानी गर्ने अनि कार्यकाल सकिएको वाहनामा अर्को मान्छेलाई पठाउनु पर्छ भनेपछि बैंकलाई गम्भिर रुपमा कसले हेर्छ? जो नियुक्त हुन्छ उसले अल्पकालिन फाइदा पनि हेर्न पनि सक्छ। राष्ट्र बैंकले त सञ्चालकहरुको हस्तक्षेपकारी भूमिका कम गर्ने नीति पो अख्तियारी गर्नु पर्ने हो। बैंक तथा वित्तीय संस्थाको सञ्चालक पद भनेका राजनीतिक रुपमा नियुक्त हुने वा जनप्रतिनिधिमूलक पद होइन। आफूले लगानी गरेको संस्थामा सञ्चालक हुने मेजुरिटी सेयर पुग्छ वा कानुनले सञ्चालक बन्न अयोग्य ठहर्‍याएको छैन भने त उ नेतृत्वमा जान पाउनु पर्छ।
 
एक/दुई जना वद्मास प्रमुख कार्यकारी वा सञ्चालकहरुलाई हटाउने वहानामा राम्रा सञ्चालक र प्रमुख कार्यकारीलाई एउटै व्यवहार गर्नु उचित हुँदैन। राष्ट्र बैंकले राज्यद्वारा निर्दिष्ट ऐनहरुको पालना पनि गर्नु पर्ने हुन्छ। भोली कसैले कानुनी प्रश्न उठाइदिएर पछाडि फर्किनु पर्‍यो भने त्यो गभर्नर, डेपुटी गभर्नरका लागि मात्र नराम्रो हुने होइन सिंगो राष्ट्र बैंकको छवीलाई नै असर पर्छ। 
 

Tata
GBIME
Nepal Life