पूँजीबजारमा पैसा बनाउँदै महिला

बिजमाण्डू
२०७१ साउन ४ गते ००:०० | Jul 20, 2014
पूँजीबजारमा पैसा बनाउँदै महिला


बिजयराज खनाल/बिजमाण्डू
काठमाडाै‌ । विद्या कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निबृत्त भएपछि घरगृहस्थीमै अडि्कन मन लागेन्। उनी छिरिन पार्टटाइम जब जस्तो लाग्ने पुँजी बजारमा। श्रीमान प्राध्यापक हुन्, उनलाई पूँजीबजारका विषयमा खासै रुची छैन। दुई वटै छोरा अमेरिकामा छन्।
घरमा बसेर के गर्ने?, राष्ट्रिय बाणिज्य बैंकको जागिरले वित्तीय क्षेत्रमा राम्रै अनुभव भयो, त्यसैले पुँजी बजारमा छिरें, कोइरालाले भनिन्। उनले आफ्नो व्याक्तिगत प्रयासमा पुँजी बजारमा राम्रै पोर्टफोलियो पनि बनाएकी छन्। भन्छिन, व्यक्तिगत प्रयासमा सुरु गरेकी हुँ, अहिले करिब डेढ करोडको पोर्टफोलियो बनाएकी छु।
कोइरालाको अनुभव वित्तीय क्षेत्रमा भयो, अनि बजार प्रवेश गरिन। तर अहिले सैद्धान्तिक ज्ञान धेरै नबटुलेका महिलाहरु पनि बजारमा प्रवेश गरिरहेका छन्। ब्रोकर कम्पनीमा गएर केही समय बुभ्ने अनि लगानी गर्न थाल्ने महिला प्रसस्त छन्।
सेयर बजारमा अहिले एउटा भनाइ निकै सुनिन्छ, बजार समुन्द्र हो र यसबाट जसले जति चाहन्छ त्यति मात्रामा झिक्न (पैसा कमाउन) सक्छ। दुई वर्ष अघिसम्म पनि यसरी 'पैसा बनाउन' आउनेहरु अधिकांस पुरुष मात्रै थिए, महिलाको संख्या निकै थोरै। तर अहिले महिलाहरु पनि पैसा बनाउने यो क्षेत्रमा सक्रिय हुन थालेका छन्। महिला लगानीकर्ताको सहभागिताले राजनीतिक भाषामा बजारलाई समावेशी बनाउन सहयोग पनि गरेको छ।
'गुमेको बेला घरबाट गाली पनि खाइन्छ, कमाएको बेला स्याबासी, पैसाले पारिवारिक सम्बन्धमा हुने स्वार्थ पनि प्रष्टसँग बुझ्न सघाउने रहेछ,' कोइरालाले आफ्नो अनुभव सुनाइन्। कोइरालालाई लाभ र हानीमा परिवारले दिने प्रतिक्रिया बाहेक अन्य अवरोध खेप्नु परेको छैन्।
प्राफेसर श्रीमानलाई उनको सेयर किनबेच प्रति न त रुची नै छ न समस्या। सेयर बेचेरै आफ्ना दुवै छोरालाई अमेरिका पठाएको बताउने कोइरालाले प्राथमिक बजारबाट सेयर कारोबारको यात्रा थालेकी हुन। पहिलो गाँसमै ढुंगा परे पनि उनले बजारमा जमेरै देखाइन्।
पहिले धरान शाखामा थिएँ, हिमालयन बैंकको प्राथमिक सेयर निष्काशन भयो। आवेदन दिएँ तर परेन। बाहिरबाट सेयर हाल्ने व्यवस्था थिएन, काठमाडौं आउजाउमा पनि खर्च लाग्यो, घरमा परिवारले गाली पनि गरे, कोइराला सुनाउँछिन्। आफू जागिरे भएकोले चार/पाँच हजार लगानी गर्न कुनै समस्या भएन, पहिलो लगानी भने एभरेष्ट बैंकबाट शुरु भयो, उनले भनिन्।
उनले बजारमा गल्ति पनि गरिन। बजार उच्चस्तरमा पुगेको बेला कतिपय सेयर बेचिनन्, तर जब बजार घट्यो उनले सेयर बेच्न थालिन। त्यतिखेर साना सेयर बेचेर पैसा नआउने अनि धेरै जसो ठुला कम्पनीहरुको सेयर नै फालें, अहिले सोच्दा ती सेयर राखेर साना फाल्नु पर्ने रहेछ भन्ने लाग्छ। तर उनले स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट बैंकका सेयर भने बेचिनन्।
उनले अर्काे गल्ति 'व्हिम'को पछि लागेर गरिन्। नेशनल हाइड्रोपावरको सेयरमा लगानी गर्ने व्हिम चल्यो। कम्पनी राम्रो छैन्, संञ्चालकहरु खराब छन भन्ने जान्दाजान्दै पनि पाँच सय रुपैयाँको दरमा सेयर किने, अहिले यो कम्पनीमा लगानी गर्ने मरो सबैभन्दा खराब निर्णय साबित भएको छ, कोइराला भन्छिन्। कोइराला अहिले कम्पनीहरुको वित्तीय विवरण हेरेर लगानी गर्छिन भने अन्य बैंकका कर्मचारीसँगको संगत पनि फाइदाजनक नै सावित भएको छ।
'सेयर बजार एक किसिमको लत नै बनिसकेको छ, ' विहीवार घरमा परेको श्राद्ध र माइतीमा संक्रान्ति मान्न नगइ बजारमा भेटिएकी बुद्ध नगरकी शोभा घिमिरेले बताइन्। सुरुवातमा बजार बुझ्न मात्रै तीन महिना ब्रोकर कहाँ धाएकी घिमिरेको परिवारमा २०५६ सालदेखि सेयरमा लगानी गर्ने चलन थियो। सर्टटर्म लगानीकर्ता घिमिरेको प्रतिमहिना २०/२५ हजार निकाल्नु मुख्य उद्देश्य हुन्छ। तीन चार बर्षदेखि दोस्रो बजारमा सक्रिय उनी अत्यावश्यक हुँदा बाहेक प्रतिफल घर लैजान्नन्।
'जति प्रतिफल आउँछ उती बजारमा फेरी लगानी गर्छु, अहिले भने लगानी बढाएको छैन्, अहिलेको पोजिशन हेर्दा बीमाबाट फाइदा भएको छ, त्यही क्यास गर्ने सोचाइमा छु, घिमिरेले आफ्ना योजना सुनाइन्। उनी बजार १५ सयदेखि १६ सयसम्म सजिलै पुग्ने विश्वासमा छिन्, त्यसैले बिक्री गर्न भने हतारिएकी छैनन। नेपाल लाइफ, नेशनल लाइफ, स्ट्यार्ण्डर्ड चार्टड, एभरेष्ट बैंकलाई उनी आफ्नो 'ब्लु चिप' कम्पनीको बर्गमा राख्छिन।  बढि मूल्य परोस तर कम्पनी छान्ने भनेकै राम्रै हो, घिमिरेले भनिन्।
गल्फुटारकी शर्मिला भण्डारीका श्रीमानले सेयरमा लगानी गर्ने इच्छा हुँदाहुँदै समय पाउँदैन्। त्यसैले उनले लगानीको जिम्मा श्रीमतीलाई दिएका छन्। छ महिनादेखि दोस्रो बजारमा प्रवेश गरेकी भण्डारीले आइपिओमा भने बर्षाैदेखि लगानी गर्दै आएकी थिइन्।
गृहणीको रुपमा रहेकी उनलाई श्रीमानले बजारको जिम्मा दिएपछि भने व्यवसायिक जीवन पुनः सक्रिय भएको महशुस भएको छ। दोस्रो बजारमा १० लाखबाट लगानी शरु गरेकी भण्डारीले बीचबीचमा अरु लगानी पनि थपिन। श्रीमानले नै लगानीको लागि पूँजी जुटाइदिन्छन् भने उनी बजारबाट हुने प्रतिफल पनि फेरी लगानी गर्छिन। अहिले उनले करिब एक करोड रकमको व्यवस्थापन गरिरहेकी छन्। तर दुई दम्पतीसैगै बसेर हरेक दिन एक घण्टा बजार र कम्पनीको विश्लेषण गर्न भने छुटाउदैनन्।
भण्डारीले प्राथमिक बजारमा भने दाइहरुको संल्गनताले माइती हुँदादेखि नै लगानी गर्न थालकी हुन्। घरमा पनि श्रीमानले सेयर किन्ने गरेका रहेछन्। तर उनी त्यतिकै सेयर धन्काएर राख्दा रहेछन, यही कारण अघिल्लो पटकको बुलमा उनीहरुले उच्च प्रतिफल सुरक्षित गर्न सकेनन्। अहिले भने भण्डारी यस्तो मौका नछुटाउने दाउमा छन्। बजार एघार सयमा पुगे प्रतिफल सुरक्षित गर्ने उनको योजना छ।
बजार १५ सयसम्म सजिलै पुग्छ भन्ने सुने पनि उनी आफ्नो सीमा एघार सयलाई बनाउने पक्षमा छन्। 'बजारमा हल्ला आइरहन्छ, तर आफ्नो सीमा आफैले बनाउनु पर्दाे रहेछ। मैले एचजीआई (हिमालयन जनरल इन्स्योरेन्स) को सेयर हल्लाकै भरमा बेचे। एउटा आगलागीको बीमा दाबीले कम्पनीलाई निकै घाटा हुन्छ भन्ने हल्ला आयो, मुल्य घट्ने डरले बेचे, उनले भनिन्,  मेरो लक्ष्य छ सय पुगेपछि बेच्ने थियो, तर चाँडै बेचियो, अहिले बढेको छ, खल्लो लाग्छ।'
स्थायी घर दोलखा भएकी यशोदा बस्नेत (रिमाल)को दोस्रो बजार अनुभव भने केही महिनाको मात्रै छ। तर प्राथमिक सेयर कुनै पनि नछुटाउने बानी कै कारण अहिले उनले करिब ४५ कम्पनीको सेयर स्वामित्व लिएर बसेकी छन्। दोस्रो बजारबाट मात्रै उनले २० कम्पनीको सेयर उठाइन्। कोटेश्वरमा घर बनाएर सेटल भइसकेकी बस्नेत बजारलाई यति बुझ्ने भइसकेकी छिन कि उनीले दोलखाबासीको रुपमा माथिल्लो तामाकोशीबाट आफुले स्थानीयको नाताले पाउने सेयरको संख्या पनि निकालिसकेकी छिन।
दोलखाबासीको रुपमा एक जनाले माथिल्लो तामाकोशीको ४७ कित्ता पाउने रहेछ, उनी सुनाउछिन। बजार उचाइमा रहेकोले दुई/तीन सातादेखि बजार बुझ्न उनी नियमित ब्रोकरकहाँ आउन थालेकी छन्। अहिले बजार उच्च छ यही समय नै हो बढि ध्यान दिनुपर्ने, उनको बजार बुझाई छ।
मेरो श्रीमान बजारलाई जुवाकै रुपमा बुझ्छन्, यता मैले अहिलेसम्म खाँचो पर्दा बाहेक सेयर बेचेकी छैन। त्यसैले कति कमाइरहेको छु भनेर पनि फाइदा देखाएकी छैन, बस्नेत भन्छिन्। हालको सेयर मूल्यको आधारमा करिब २५ लाखको पोर्टफोलियो बनाएकी बस्नेतलाई सेयरमा लगानी गर्न भने समस्या भएन।
म सवाजसेवी हुँ, केही गैर सरकारी संस्था, केही सहकारीमा आबद्ध छु, समाज सेवामा पैसा हुदैन। त्यसैले कमाउन बजार पसेकी हुँ, जे जति कमाउँछु, यो बजारमा हालेर गुणात्मक वृद्धि गर्ने सोंच छ , बस्नेत आफ्ना योजना सुनाउँछिन। पैसा अभाव हुँदा समेत उनी सेयर बेचिहाल्न भने रुचाउँदिनन्। म बरु सुन धितो राखेर रकम निकाल्छु र चलाउँछु, उनले भनिन्।
जलविद्युत् र बैंक नै सुरक्षित लगानी क्षेत्र मान्ने बस्नेत सधै कम्पनीको अवस्था केलाउने प्रयत्न गर्छिन। समाजशास्त्रमा स्नाकोत्तर अध्ययनरत बस्नेतको सल्लाहकार भने ब्रोकर कम्पनीका प्रतिनिधी नै हुन। तर उनी पनि कहिलेकाँही आफु बजार हल्लाको पछि लागेको अनुभव सुनाउँछिन्। उनले पनि नेशनल हाइड्रोपावरकै सेयर किनिन्। अहिलेसम्म घाटा भइसकेको छैन् तर यसमा मलाई निर्णय गर्न गाह्रो भइरहेको छ, उनले भनिन्।
बजार सबैले बुझ्दैनन् पनि, तर सतर्कता अपनाउन भने छोड्नु हुदैन। यस्तै, अभ्यास नियमित गर्छिन झापाकी सरस्वती थपलिया। हाल काठमाडौंमा सेटल भइसकेकी उनी ब्रोकरकहाँ आउदा दुई वटा सुची लिएर आउछिन। उनको एउटा सूचीमा बेच्नुपर्ने किसिमका कम्पनीहरुको नामावली हुन्छ भने अर्काेमा राख्ने मनशायका। यी दुवै सुचीका कम्पनीको मूल्यको अवलोकन पछि उनी निर्णय गर्छिन, के राख्ने के नराख्ने।
२०६४ मा श्रीमानले लगानी गरे, बजार घटेपछि निकै घाटा भयो तर हामीले सेयर भने बेचेनौं, अब त्यही सेयरबाट कसरी फाइदा कमाउने भनेर म बजार आउन थालेकी हुँ , बजारमा आउनु अघि  चैतमा सात दिने तालिम पनि लिएँ थपलियाले जानकारी दिइन्।
कसरी लगानी गर्छन त महिला लगानीकर्ता ? लिञ्च स्टक मार्केटकी प्रबन्ध निर्देशक सरिता बिष्ट भन्छिन्, 'महिला लगानीकर्ता संयमित हुन्छन्। हामी कहाँ नियमित २०/२२ को हाराहारीमा महिला लगानीकर्ता आउँछन। उनीहरु पुरुषको तुलनामा संयमित भएको मैले पाएकी छु। केही पुरुषहरु पहिले सेयर किन्न भन्छन् तर मूल्य घटेमा समयमा सम्पर्कमा आउदैनन, महिलाहरुमा भने यस्तो प्रवृति छैन।' उनले भनिन्।
बजारलाई बर्षौदेखि देखेका र बजारको चक्रबारे अवगत महिलाहरुको तुलनामा नयाँ लगानीकर्ताको रुपमा प्रवेश गरेका लगानीकर्ता कम संयमित भने हुन्छन। पछिल्लो समय शिक्षित महिलाहरु नै बजारमा प्रवेश गरिरहेकोले भने उनीहरुसँग कारोबार गर्न समस्या नभएको बिष्टको अनुभव छ। तरपनि नयाँ लगानीकर्ताले 'बियरिश' टे्रण्ड नदेखेकोले, त्यस्तो समयमा उनीहरुको व्यवहार कस्तो हुन्छ त्यो नै संयमताको कसी हुने बिष्टको बुझाइ छ।

Tata
GBIME
Nepal Life