विश्वास गर्नुस, मौरी पालेर पनि बनिन्छ करोडपति

बिजमाण्डू
२०७१ साउन ४ गते ००:०० | Jul 20, 2014
विश्वास गर्नुस, मौरी पालेर पनि बनिन्छ करोडपति

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित जनप्रभात स्कुलमा १० कक्षामा पढ्दै थिए, पवनकुमार सत्याल । एकदिन शिक्षक सबै विद्यार्थीलाई सोधे, ‘पढेर के बन्ने लक्ष्य लिएका छौं ?’
कसैले भने डाक्टर, पाइलट बन्छु भने कोहीले इन्जिनियर,  शिक्षक, नर्स बन्ने बताए । तर पवनले न डाक्टर बन्ने लक्ष्य रहेको बताए न त पाइलट वा शिक्षक नै । उनी जुरुक्क उठे । र, भने, ‘सर म सफल कृषक बन्छु ।’
सरलाई यो कुरा सुनेर अचम्म लाग्यो । ‘पढेर पनि कोही कृषक बन्छन् लाटा ?’ सरले अलि ठूलो स्वर पारेर भने, ‘पढेर त ठूलो मान्छे बन्नुपर्छ । किसान त नपढेको मान्छे पनि भैहाल्छन् नि ।’
सत्यालको कुरा र सरको गालीले साथीहरु गलल्ल हाँस्न थाले । । उनी रातो पिरो भए । सबैले हेरेर गिज्याएको भान भयो । सत्याल रातोपिरो भए । भुँइमा हेरर भित्र भित्रै मुर्मुरिए । र, सफल कृषक भएरै छाड्ने अठोट लिए ।
नेपालमा कृषकलाई किन हेयको दृष्टिले हेरिन्छ, सरको भनाइ र साथीहरुको हाँसोले उनको दिमाग घुमाइरह्यो ।
'आखिर किसान बन्छु भन्दा किन उडाएका होलान् !,' ३० वर्ष अघिको कुरा उनी सम्झन्छन्, ‘कृषक बन्छु भन्दा सबैले पंगु बनाए । मलाई राम्रो मौरी पालक कृषक बन्छु भन्ने थियो ।’
आफ्नो इच्छा र इखले एसएलसी सकिने वित्तिकै उनी मौरी पालनमा लागे । 'विसं २०३५/३६ सालतिर होला,' उनी विगत सम्झन्छन्, 'एसएलसीपछि कोही साथी विदेश जाने तयारी गर्दै थिए। कोही साइन्स लिएर डाक्टर, इन्जिनियर बन्ने धुनमा थिए । म भने जंगलजंगलमा मौरी खोज्न थालेँ ।'
त्यतिबेला परिवारसँगै बाँसबारीमा बस्थे उनी । बुबाले छोरालाई सरकारी जागिर खुवाउन राम्रो कलेजमा भर्ना गरिदिए । तर उनी कहिलेकाही मात्रै कलेज जान्थे । परीक्षा दिन्थे । पढाइमा खासै रुचि राख्दैन थिए । बुबाले सधैँ भन्नुहुन्थ्यो, ‘ नचाहिने किराको पछि लाग्छ । पढेर नखाने भो । छोरा विग्रियो ।’
काठमाडौंमा उसबेला अहिले जस्तो भीडभाड थिएन । चक्रपथ बाहिर त पूरै जंगलै जंगल । त्यसैले बिहान होस् या दिउँसो वा बेलुकी सत्याल वन चाहर्थे । कतै मौरी भुनुनु गरेको सुन्यो कि पछि लागिहाल्थे । मौरी नबसुन्जेल पछि लागिरहन्थे र बसेको ठाउँ पत्ता लगाएर मात्रै घर फर्कन्थे । कतिचोटी त बाँसबारीको मान्छे मौरीको पछि लागेर शिवपुरी जंगल भित्र पुगेको उनी सुनाउँछन् ।
अघिल्लोदिन मौरी बसको ठाउँ पत्ता लगाएर फर्केपछि  भोलिपल्ट मौरी थाप्न उतै दौडन्थे उनी । ‘पढ्न तिर ध्यान भन्दा आफ्नो काम प्रति नै झुकाव बढ्न थाल्यो,’ आकाशमा मौरी हेर्दै हिँड्दा कतिपटक ठेस लागेर पछारिएको घट्ना सुनाउँदै सत्याल भन्छन्, ‘कतै मौरी देख्यो कि घरमा ल्याएर पालौं पालौं लाग्थ्यो ।’
३० वर्ष अघि नेपालमा व्यवायिक मौरी पालक कृषक थिएनन् । महका सौखिनहरुले मात्रै घरमा घार बनाएर मौरी पाल्थे । ‘मौरी पालेर राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन,’ मौरी पाल्नुको उद्देश्य स्पष्ट पार्दै उनी भन्छन्, ‘व्यसायीक मौरी पालन सुरु गर्न नै दुःख गरेको हुँ ।’
त्यसो त व्यवसाय गर्न मन मात्रै भएर भएन । सँगै धन चाहियो । सत्यालसँग भनेजति धन थिएन । उनी भन्छन्, 'घरमा पैसा माँगौं भने पढेन भनेर बुबा चिन्तित हुनुहुन्थ्यो । उहाँको गाली खाइने । काम नलाग्ने किराको पछि नलाग भनेर बुबाको करकसो सुन्नु पर्ने ।'
उनले एउटा जुक्ति निकाले । सुरुमा एउटा घार किन्ने र वनबाट मौरी ल्याएर राख्ने । स्कुलमा पढ्दा आमाले खाजा खान दिएको पैसा जम्मा गर्दागर्दै उनीले पाँच सय जति बनाएका थिए । यसमध्ये उनले दुई सयको दरमा दुईवटा घार किने । र, घरमा ल्याएर मौरी पाले ।
उनले मौरी पालेको दखेपछि वरपरका छिमेकीले पनि पाल्ने मन गरे । र उनीसँग घार किने । उनले आठ सयमा दुइवटै घार बेचिदिए । र, उनले चाहिँ आठ सयमा चार घार मौरी किने । भन्छन्, ‘चार सयले दुई घार किने, आठ सयले चार वटा, १६ सयले आठ वटा घार । यही अनुपातमा मौरीको संख्या बढाउँदै लगेँ ।’
घरमा मौरी राख्दा बाबुको कचकच निकै सहनुपरेको याद उनलाई अझै ताजा छ । उनी भन्छन्, ‘तैले काम गरि खाँदैनस् भनेर सधैँ जसो गाली खानुपर्थ्यो ।’
बुबाले गाली गरे पनि उनी वास्ता गर्दैन थिए । कारण एउटै थियो आफ्नो उद्देश्य पूरा गरेर छाड्ने । मौरी पालेर पनि कमाइ गर्न सकिन्छ भनेर सबैलाई देखाउनु । भन्छन्, ‘म सही बाटोमा लागेको छु भन्ने ढुक्क थियो । जसले जे भने पनि म आफ्नो व्यवसाय छाड्नेवाला थिइनँ ।’
सत्यालले दुईवटा घारबाट सुरु गरेको मौरीको घारको संख्या बढाउँदै लगे । घरमा मात्रै पालेका उनलाई अब राख्ने ठाउँको समस्या भयो । उनी भन्छन्, ‘बीस वर्षसम्म घरमै जसोतसो पालेँ । बढ्दै गएपछि बुढानिलकण्ठमा सारेँ ।’
दुई घारबाट मौरी पालनको व्यावसाय सुरु गरेका सत्यालसँग अहिले मेलिफेरी जातको पाँचसय घार मौरी छ ।
मौरी पालेको झण्डै बीस वर्षसम्म परिवार र अरुलाई व्यवसायबारे बुझाउँदै ठिक्क भयो । पैसा पनि त्यति धेरै कमाएनन् । ‘पहिले पैसा कमाएन् भन्नेहरु प्रसंशा गर्न थालेका छन्,’ उनी सफलताको कथा सुनाउँदै भन्छन्, ‘पैसा कमाउन विदेश होइन स्वदेशमै पनि सकिन्छ ।’
मौरीले राम्रो आम्दानी दिन थालेको १० वर्ष भयो । त्यो भन्दा अघि नाफामा थिएन । गार्डेन अपियरी नामको कृषि फारम खोलेर उनले व्यवसायिक मौरी सुरु गरेका छन् । पाँचसय घार मौरीबाट मासिक १५ लाखको कारोबार गर्ने उनी बताउँछन् । तर गएको वर्ष राम्रो उत्पादन नहुँदा कमाइ नभएको उनले सुनाए ।
अहिले उनले उत्पादन गरेको मह काठमाडौंमा मात्रै खपत हुन्छ । माग भने देशभरी नै छ । प्रतिकेजी चारसय पचास रुपैयाँमा मह बिक्री हुन्छ । भन्छन्, 'दुईवर्षअघिसम्म चारसय रुपैयाँ प्रतिकिलो बेचेको मह गतवर्ष उत्पादन नहुँदा चारसय पचास रुपैयाँमा बेच्नु परेको छ ।'
एक घार मौरीले वर्षमा एक सय २० किलोसम्म मह उत्पादन गर्ने उनी बताउँछन् । भन्छन्, 'मौसम अनुकुल भए मेलाफेरीले एकपटकमा २० किलोसम्म मह उत्पादन गर्छ । वर्षमा ६ पटकसम्म मह काढ्न पाइन्छ ।'  

Tata
GBIME
Nepal Life

मौरी चराउने बाजे
उनलाई नेपालमा पहिलो मौरी चराउने किसान भनेर पनि चिनिन्छि । उनी तराइ र पहाडका विभिन्न जिल्लामा मौरी चराउन लिएर जान्छन् । धादिङ, चितवन, नवलपरासी लगायत विभिन्न ठाउँमा पुर्‍याउँछन् । अहले दुई सय घार मौरी चराउँदै बारा पुर्‍याएका छन् । यो वर्ष कैलालीसम्म चराउन लैजाने योजना बनाएका छन् ।
मौरी पनि चराउने भनेर धेरै मान्छेले अचम्म मान्ने गरेको उनी सुनाउँछन् । 'कसरी लैजानु हुन्छ उड्ने किरालाई पनि चराउन भनेर धेरै प्रश्न आउँछ,' भन्छन्, 'घारको मुख जालीले बन्द गरेर ट्रकमा हालेर लैंजाने हो । गाइवस्तु चराएजसरी लैजाने हैन ।'
एकचोटी मौरी चराउन लैजाँदा चार लाख रुपैयाँ खर्च हुन्छ । असोजदेखि बर्खा नलागुन्जेलसम्म मौरी चराइन्छ । भन्छन्, ‘जहाँ फूल हुन्छ, त्यहाँ लगेर चराइन्छ । त्यही मह काढेर बेचिन्छ ।’
यसरी मौरी चराउन जाँदा कति ठाउँमा त्यहाँका किसानले विरोध गर्ने गरेका छन् । यस्तै ३/४ वर्ष अघिको कुरा हो चितवनको शुक्ररनगरमा तोरी फुलेको मौसम थियो । उनले मौरी लगेर चराउन थाले । उनी काठमाडौं आइनपुग्दै । स्थानीयवासीले विरोध गरे । ‘यसरी मौरी ल्याएर छोड्दा बाली विग्रन्छ उठाएर लैजाउ भन्न थाले,’ उनी सम्झन्छन्, ‘नत्र सबै मौरी मारिदिन्छौं समेत भने ।’
भोलिपल्ट पुगेर त्यहाँको किसानलाई मौरीले बाल नविगार्ने बरु बालीमा परागसेचन गर्न सहयोग गरेर उत्पादन बढी हुन्छ भनेर सम्झाएपछि चराउन दिए । हाँस्दै भन्छन्, 'विरोध भएको ठाउँ अहिले मौरी पालन पकेट क्षेत्र भएको छ ।’
 
मौसम अनुसार महको स्वाद फरक
मौसम अनुसारको स्वादमा मह उत्पादन हुन्छ । सत्यालले पाँच स्वादका मह बजारमा बेच्दै आएका छन् । फापर, तोरी, च्युरी, रुदिलो र जामुनाको स्वादमा उनले मह बेच्दै आएका छन् ।
३० वर्षसम्म मौरीको स्याहारसुसार गर्दै आएका सत्यालले मौरीलाई निकै नजिकबाट बुझेका छन् । कस्तो मौरीले राम्रो मह उतपादन गर्छ, कस्तो खराब हुन्छ, के खान दिनुहुन्छ, के हुन्न । उनी भन्छन्, ‘मौरीको वंश सुधार गर्दै लगे राम्रो मह उत्पादन हुन्छ ।’
 
अनुभवले मौरी विज्ञ
मौरी पालन सम्बन्धी उनले न कतै ठुलो ट्रेनिङ लिएका छन् न त कतै अध्ययन नै । आफैँले काम गर्दा गर्दै व्यवहारिक ज्ञान उनले पाए । अहिले उनलाई मौरी विज्ञ भनेर धेरैले कार्यक्रममा बोलाउने गरेका छन् । भन्छन्, ‘१० दिन भारतमा गएर तालिम लिएँ । अरु आफैले काम गर्दै जाँदा सिकेँ ।’
मौरी पालनसँगै उनले घार उत्पादन र खरायो पालन पनि गरेका छन् । व्यवसायिक मौरी पाल्नेहरु बढ्न थालेपछि घारको खपत बढेको उनले बताए । एउटा घारलाई २५ सय पर्छ । यदि मौरी सहित किन्ने हो भने चाहिँ ६ देखि १० हजार रुपैयाँ पर्ने उनले बताए ।
 
मौरी पाल्ने बढेपछि घार निर्माणमा
नेपालको मात्रै मह उत्पादनले नपुगेपछि भारतबाट समेत आयात हुँदै आएको छ । तर पछिल्लो समय नेपालमा मह उत्पादन गर्ने कृषक बढ्दै गएका छन् ।
मौरी पाल्ने कृषक बढेसँगै घार किन्नेहरु पनि बढे । त्यही भएर उनले मौरी उत्पादनसँगै घार निर्माणमा पनि ध्यान दिएका छन् ।
उनले एक वर्ष भयो व्यवसायीक घार बनाउन थालेको । १० जना कामदारलाई उनले घार बनाउन रोजगारी नै दिएका छन् । उनीहरुले महिनामा तीन सय घार बनाउछन् ।
टुनीको काठबाट बनेको घारमा अत्याधिक माग रहेपनि उत्पादन गर्न नसकिएको उनी बताउँछन् । टुनीबाट बनेको घारमा मौरी नभाग्ने उनी बताउँछन् । राजधानीको तीन ठाउँमा घार उत्पादन गर्दै आएका छन् ।
गोकर्णको कारखानामा घारलाई एउटै आकारमा लैजान्छन्, मूलपानीमा जोड्ने काम हुन्छ भने बुढानिलकण्ठमा पेन्टिङ र कम्पनीको नाम लेख्ने काम हुन्छ ।
उनका अनुसार तीनै ठाउँमा महिला कामदार राखिएको छ । पुरुष कामदार काम सिकेर विदेश जान थालेपछि उनले दीर्घकालीन समाधानको लागि महिला कामदार रोजेका हुन् । भन्छन्, 'पुरुष कामदारलाई काममा टिकाउनै गाह्रो भो । महिलाहरु भए भरपर्दो हुन्छन् ।'
स्नातक तहसम्म अध्ययन गरेका सत्याल विदेश गएर कमाएको भन्दा यही नै बढि आम्दानी भएको बताउँछन् । उनको भनाइमा उनीसँग अहिले चार करोडको सम्पत्ति छ । त्यसमा साढे दुई करोड व्यवसायमा लगानी गरेका छन् । सत्याल भन्छन्, ‘सँगैका साथी विदेश गएर कमाए पनि उत्तिको कमाएका छैनन् ।’

सरकारले मौरी व्यवसायलाई चिनेन
सत्यालका अनुसार मौरी व्यवसाय अरु व्यवसाय भन्दा सुरक्षित र बढी नाफा हुने व्यवसाय हो । तर यसको लागि सरकारले मौरीसँग सम्वन्धित नीति नै नल्याउँदा किसानले मौरी व्यवसायको महत्व बुझेका छैनन् ।
उनी भन्छन्, 'नेपालमा महको माग बढ्दो छ । तर सरकारले यतातिर ध्यानै दिएको छैन ।' कृषि मन्त्रालयले मौरी व्यवसायलाई लक्षित गरेर नीति तथा कार्यक्रम ल्याउन पर्ने आवश्यकता रहेको उनी बताउँछन् ।