नफुट्ने, पानी नपस्ने, हिलो र धूलोले नबिग्रने रग गियर मोबाइल बजारमा, मुल्य ६ हजार देखि ४२ हजारसम्म

बिजमाण्डू
२०७१ साउन ४ गते ००:०० | Jul 20, 2014
नफुट्ने, पानी नपस्ने, हिलो र धूलोले नबिग्रने रग गियर मोबाइल बजारमा, मुल्य ६ हजार देखि ४२ हजारसम्म

काठमाडौं । र्‍याफ्टिङ जाँदा मोबाइलमा पानी पस्छ भनेर फोटो खिच्न पाउनु भएको छैन ? वा काठमाडौंको धुलाम्मे सडकमा धूलोपस्छ भनेर मोबाइल झिकेर निर्धक्क कुरा गर्न पाउनु भएको छैन । त्यतिमात्रै होइन हातबाट मोबाइल खसेर कतिपटक फुटेर बनाउँदैमा सास्ती खेप्नु परेको पनि होला ।

Tata
GBIME
Nepal Life

यदि त्यसो हो भने अब ढुक्क हुनुहोस् । ढुंगामा खस्दा नफुट्ने, पानी नपस्ने, हिलो वा धूलोले केही नहुने र घनले जस्तै किला ठोक्न मिल्ने मोबाइल नेपाली बजारमा आएको छ। जर्मन कम्पनीले बनाएको रग गियर नामको यो मोबाइल नेपाल ग्यालेक्सी टेक्नोलोजीज प्रालिले नेपालमा भित्र्याएको हो ।
राजधानीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अहिले नेपाली बजारमा रक गियरको दुइवटा मोबाइल उपलब्ध छ, आरजी १२८ र आरजी ९७० एपेक्स । प्रालिका निर्देशक अरुण श्रेष्ठका अनुसार आरजी मोडलमा ब्लुटुथ, एफएम रेडियो, जिपिआरएस, क्याल्कुलेटर तथा ०.३ मेगापिक्सेलको क्यामरा छ । श्रेष्ठले भने, 'यो मोबाइल १/२ मिटर माथिबाट खस्दा पनि केही हुँदैन । पानीमा खस्दा तैरिन्छ र आधाघण्टासम्‍म पानीमा राख्दा पानी पस्दैन ।' उनका अनुसार यो रग गियर सिरिजको सस्तो बजेटको फोन हो । यसको बजार मूल्य पाँच हजार नौ सय उनान्सय रुपैयाँ तोकिएको छ ।
यसैगरी आरजी ९७० एपेक्स भने स्मार्टफोन हो । एन्ड्रोइड अपरेटिङ सिस्टम भएको यो मोबाइलले ओखर फुटाउन वा भित्तामा किला ठोक्न सकिने श्रेष्ठले दाबी गरेका छन् । उनले भने, 'यो मोडलको फोनबाट २ मिटर माथिबाट कंक्रिटमा खसाउन सकिन्छ । दुई मिटर गहिराइ पानीमा डुबाउँदा समेत केही हुदैन ।'
दुईवटा सिम लाग्ने यो मोडलमा पछाडि आठ मेगापिक्सेलको क्यामरा छ भने अगाडि दुई मेगापिक्सेलको छ । लिड फ्ल्यास लाइट भएको यसको नेपालमा ४२ हजार नौ सय ९९ रुपैयाँ पर्छ ।
यी दुबै मोडलको मोबाइल सेटमा कम्पनीले ब्याट्रीमा ६ महिना र मोबाइलमा एक वर्षको वारेन्टी दिएको छ । र्‍याफ्टिङ, रक क्लाइम्बिङ, ट्रेकिङ, क्यानोइङ, हाइकिङमा जानेहरुको लागि विशेष लक्षित गरेर यी सेट ल्याइएको प्रालिका अध्यक्ष नरेश कुमार जोशीले बताए । उनले भने, 'हामीले पानी, धूलोमा र धेरै हिँड्नेहरुलाई लक्षित गरेर सेट ल्याएका हौँ ।'
साथै कम्पनीले यी सेट किन्दा स्पेशल चार्जर सित्तैमा दिने जनाएको छ । यो स्पेशल चार्जरबाट मोबाइल चार्जर गर्न विजुलीको आवश्यकता पर्दैन । चार्जरमा रहेको डाइनोमोलाई हातले घुमाएपछि मोबाइल आफैँ चार्ज हुन्छ । निर्देशक श्रेष्ठ भन्छन्, 'सबै ठाउँमा विजुली पुगेको हुँदैन । यस्तो बेला चार्जरले काम गर्छ । पाँच मिनेटसम्म डाइनोमो घुमाइयो भने २० प्रतिशतसम्म चार्ज हुन्छ ।'