कार्लोस स्लिमको सम्पत्ती १२ दिनमा पाँच अर्ब बढ्यो, विल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी

बिजमाण्डू
२०७१ साउन ५ गते ००:०० | Jul 21, 2014
न्युयोर्क । मेक्सिकोका टेलिकम उद्यमी कार्लोस स्लिम हेलुले फेरी एक पटक विश्वधनीको सूचीमा विल गेट्सलाई पछि पारेका छन् । टेलिकम जायन्ट अमेरिका मोविलको सेयर मूल्यमा तिव्र वृद्धि भएपछि स्लिम विश्वको धनी बनेका हुन् । 
केही दिन यता अमेरिका मोविलको सेयर र मेक्सिको दुवै  मूलुकको सेयर बजारमा तिव्र वृद्धि भैरहेको छ । सन् २०१३ मा विल गेट्सले हेलुलाई पछि पार्दै विश्वको धनी सूचीमा एक नम्वरमा आफ्नो नाम लेखाएका थिए ।
स्लिमको अमेरिका मोविलको मूल्य एक प्रतिशतले बढ्दा उनको सम्पत्ती ८० करोड ५० लाख डलर बढेको थियो । यसपछि स्लिमको सम्पत्तीको मूल्यांकन ७९ अर्ब ६० करोड डलर पुगेको फोब्र्सले लेखेको छ । उता विल गेट्ससँग भने ७९ अर्ब १० करोड डलर मात्रै सम्पत्ती छ ।
मेक्सिकोले सुरु गरेको टेलिकमसम्वन्धि नयाँ नीतिपछि अमेरिका मोविलले आफ्नो केही सम्पत्ती विक्री प्रक्रिया सुरु गरेको थियो । सम्पत्ती विक्रीको प्रक्रिया सुरु भएपछि अमेरिका मोविलको सेयर मूल्य बढ्न थालेको हो ।
समाचार चुहिएपछि गत बुधवार कम्पनीको सेयर मूल्य अहिलेसम्मकै उचाईमा पुगेको हो । गतवर्ष पनि न्युयोर्क स्टक एक्सचेञ्जमा कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको थियो ।
फोब्र्सका अनसार जुलाई १ देखि जुलाई ११ को बिचमा स्लिमको सम्पत्ती मूल्यांकन ७४ अर्ब ५० करोड डलरबाट बढेर ७९ अर्ब ६० करोड डलर पुगेको छ । यो १२ दिनमा उनको सम्पत्तीको मूल्यांकन मात्रै पाँच अर्ब १० करोड डलरले बढेको हो ।
अहिले स्लिमका अमेरिका मोविलसँग मेक्सिकोको मोवाइल बजारको ७० प्रतिशत बजार हिस्सा छ भने साधरण टेलिफोन सेवाको ८० प्रतिशत हिस्सा छ । 
 

Tata
GBIME
Nepal Life