काराेबारमा रेकर्ड: दुई दशकमा पहिलो पटक एकै दिन एक अर्बको सेयर किनबेच, परिसूचक १०८३ मा

बिजमाण्डू
२०७१ साउन ५ गते ००:०० | Jul 21, 2014
काराेबारमा रेकर्ड: दुई दशकमा पहिलो पटक एकै दिन  एक अर्बको सेयर किनबेच, परिसूचक १०८३ मा
काठमाडौं। बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएपछि नेप्से परिसूचक १०८३ मा आइपुगेको छ । नेप्से अघिल्लो दिनभन्दा ८.५८ अंकले बढेको छ । सोमवार एकै दिन एक अर्ब २० करोड रकमको कारोबार भएको छ ।

Tata
GBIME
Nepal Life

हालसम्मको उच्च बिन्दु ११७५ को निकै नजिक आइपुगेको कारण बजारमा लगानीकर्ताहरुको चाप पनि बढ्दै गएको हो । कारोबार शुरु भएको केही समयमै १०८८ मा पुगेको बजार केही समयपछि भने तल ओर्लिएर १०७५.८३ मा आइपुग्यो । तर अन्त्यमा बजारमा पुन सुधार भयो ।

लघुवित्त कम्पनीहरुको सेयर मूल्य दैनिक नौं प्रतिशतले वृद्धि भइरहेको छ । निर्धन उत्थान, आरएमडीसी, कालिका माइक्रोक्रेडिटका् सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढ्यो ।

सहयोगी बिकास, डिप्रोक्स डेभलपमेन्ट, नेरुडे, स्वरोजगार, स्वावलम्बन लगायतको सेयर मूल्य बढ्ने क्रममा छ ।

यस दिन सेयर बजारमा दुई दशक यता पहिलो पटक एकै दिन एक अर्ब २० करोड रुपैयाँ बढिको कारोबार भएको छ । नेप्सेले सञ्चालन प्रणाली, डाटा बेस सफ्टवेयर, आइआइएस सर्भर, नेट फेमवर्क लगायतमा स्तनोत्तरी गरिएको कारण धेरै संख्यामा कारोबार गर्न सम्भव भएको र कारोबार रकम बढेको प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आफ्नो सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लि. मार्फत कारोबार फछ्र्यौट तथा राफसाफ प्रक्रियालाई सहज बनाउने प्रयास भइरहेको र यसबाट दोस्रो बजार कारोबार अझै गतिशील हुने विश्वास नेप्सेले लिएको छ ।

नेपाल बैंकको मात्रै तीस करोड रुपैयाँको कारोबार भएको छ । यो कुल कारोबारको २५ प्रतिशत बराबर हो । नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि नेपाल बैंकका सेयर खरिदकर्ताहरुको नाम सार्वजनिक भएको छ । कारोबार र सेयर संख्या नदेखिएपनि लगानीकर्ताहरुको नाम भने देखिएको हो ।

बैंकको सेयर नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट,  अम्बिका पौडेल,  एसजी सेक्युरिटिज, सिवान्गी इन्भेष्टमेन्ट, एस बी होल्डिङ, युनिभेष्ट सेभिङ एण्ड क्रेडिट, भोलेबाबा गारमेन्ट, लगायतका संस्थागत तथा ठुला लगानीकर्ता संलग्न भएको देखिन्छ ।

त्यस्तै, कुमारी बैंकको पाँच करोड, आरएमडीसीको चार कारोड, ग्लोबल आइएमइको तीन करोड रुपैयाँको कारोबार भएको छ । एक सय ४८ कम्पनीको सेयर कारोबार भएकोमा ३८ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।
सिभिक डेभलपमेन्ट बैंकको २५ प्रतिशत हकप्रद सेयर नेप्सेले समायोजन गरेको छ ।

अघिल्लो दिन दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको बैंकको समायोजन पछि मूल्य दुई सय ३२ रुपैयाँ भएको छ । यो समायोजन अघिको भन्दा १२.४५ प्रतिशत कम हो । बैंकको सोमवार भने सेयर कारोबार भएन ।