संस्थागत लगानीकर्ता प्रवेश गरेका कारण बजार अझै बढ्ने विश्लेषकको दावी, पुरानो अंक सजिलै

बिजमाण्डू
२०७१ साउन ६ गते ००:०० | Jul 22, 2014
संस्थागत लगानीकर्ता प्रवेश गरेका कारण बजार अझै बढ्ने विश्लेषकको दावी, पुरानो अंक सजिलै

काठमाडौं। पुँजी बजारमा एकैदिन एक सय २० करोड रुपैयाँको कारोबार भएको छ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक पनि एक हजार ८४ अंकसम्म पुगिसकेको छ।
आमलगानीकर्ताले प्रश्न गर्न थालिसकेका छन्, नेप्सेमा कारोबार रकम र परिसुचक दुबै उच्च अंकमा पुगेको छ, अब सेयर बजारले कस्तो दिशा लिन्छ त?
सेयर विश्लेषक रविन्द्र भट्टराई बजारले अहिलेसम्मको उच्चतम विन्दु ११ सय ७५ अंकलाई चाँडै भेट्टाउने बताउँछन्। २०६५ भदौ १५ गते अहिलेसम्मको उच्चतम अंकमा पुगेको परिसुचकलाई चाँडै भेट्टाउने आधारहरु पनि उनले प्रस्तुत गरेका छन्।

Tata
GBIME
Nepal Life

'अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुसँग उच्च तरलताको अवस्था छ, यि संस्थाहरुले सेयर धितोमा मात्र ऋण लगानी गरेका छैनन्, आफ्नो लगानीको निश्चित प्रतिशत आफैले पनि सेयर किन्नमा लगाएका छन्,' उनले भने, 'संस्थागत लगानीकर्ताहरु ऋण नलिइकनै बजारमा प्रवेश गरेका कारण सेयर बजार चाँडै नै ११ सय ७५ अंकमाथि पुग्छ।'

बैंकहरुले सेयर बजारमा कुल लगानीको १.०७ प्रतिशत ऋण लगानी गरेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले दुई प्रतिशतभन्दा कम लगानी गरेका छन्। ग्राहकले पाएको ऋण वाहेक पनि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरु, नागरिक लगानी कोष, सामूहिक लगानी कोष कम्पनीहरुले पनि अर्बौको लगानी सेयर बजारमा गरेका छन्। संस्थागत लगानीकर्ताहरुले ऋण नलिइ आफ्नै स्रोतबाट सेयरमा लगानी गरेकाले बजार कुनै नीति सार्वजनिक हुँदैमा घट्ने सम्भाना पनि नरहेको लगानीकर्ताहरुको भनाइ छ।

'बजार सँधै बढ्छ भन्ने होइन, तर बढ्नु पर्ने सीमासम्म बजार बढिसकेको अवस्था छैन, बैंकिङ परिसुचक भर्खरैदेखि बढ्न थालेको छ,' इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले भने, 'अहिलेसम्म बिमा कम्पनीहरुको सेयर मूल्यका कारण परिसुचक माथि गएको हो, बैंकिङ बढ्न बाँकी रहेकाले नेप्से अझै माथि जान्छ।'

उनका अनुसार, नेप्से ११ सय ७५ अंक पुगेका बेला 'ब्लु चिप' सेयरहरुको मूल्य अहिलेको भन्दा तीन/चार गुणामाथि थियो। अहिले नेप्से एक हजार ८४ अंक पुग्दा पनि ती कम्पनीको सेयर मूल्य खास बढ्न सकेको छैन। 'बजार परिपक्क हुँदै गएको पनि छ र बैंकहरुको सेयर मूल्य नेप्से बढेको अनुपातमा अझै अन्डर भ्यालु नै छ,' उनले भने, 'बैंकिङ परिसुचक पुरानो अनुपातमा बढ्ने हो भने नेप्से दुई हजार अंक वरिपरी पुग्छ।'

लगानीकर्ताका अनुसार, बैंक तथा वित्तीय संस्थाहरुले राम्रो आम्दानी गरिरहेको र  स्प्रेड दर कार्यान्वयनमा राष्ट्र बैंकले खुकुलो नीति लिएका कारण बैंकहरुको नाफा भविस्यमा पनि संकुचन नआउने देखिएकाले बजार सकारात्मक दिशातिरै अगाडि वढ्छ।
सेयर कारोबार गर्ने ब्रोकरहरु पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाबाट प्रतिफल घोषणा गर्ने समय भर्खर सुरु भएकाले नेप्से घट्नु पर्ने कारण नरहेको बताउँछन्।

'सेयर धितोमा राखेर लिएको कर्जा फेरी सेयर किन्नमा नै प्रयोग भएको छ भन्न सकिन्न,' भट्टराईले भने, 'कतिले त्यो पैसा घर बनाउन, जग्गा किन्न वा आफ्नो गर्जो टार्न प्रयोग गरेको पनि हुन सक्छ।' उनले सेयर बजार अझ उचाइमा पुग्ने बताए।