राडारमा खराबी देखिएपछि थन्किएको विमान मंगलबारदेखि नियमित उडानमा, पहिलो उडान विराटनगरबाट

बिजमाण्डू
२०७१ साउन ६ गते ००:०० | Jul 22, 2014

काठमाडौं । नेपाल वायुसेवा निगमको चिनियाँ जहाज 'मोडर्न आर्क' (एमए–६०) ले मंगलबारबाट फेरि नियमित व्यापारिक उडान सुरु गरेको छ । निगमले एमए ६० सञ्चालनमा आएपछि काठमाडौं-विराटनगर-काठमाडौं तथा काठमाडौं-भैरहवा-काठमाडौं उडान निर्धारित तालिका अनुसार नै हुने बताएको छ । मंगलबार बिहान ८ बजे काठमाडौंबाट विराटनगरको लागि एमए ६० जहाज उडेको थियो।  

Tata
GBIME
Nepal Life

गत असार १६ मा विराटनगर विमानस्थलमा चरा ठोक्किएर 'ग्राउन्डेड' भएको ५६ सिट क्षमताको सो जहाज असार ३२ गते फेरि राडारमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो।
'हामीले चीनबाट सामान झिकाएर चाँडै नै राडार बनायौँ । आइतबार नै सामान आएर जडान भएपनि सोमबार यात्रु हुँदा नियमित उडान भर्न सकिएन,' निगम प्रवक्ता सरोज कसजुले भने,'मंगलबारबाट नियमित रुपमा जहाज उड्छ ।'
राडारमा समस्या आएपछि निगम व्यवस्थापनले साउन ४ गते आइतबारसम्म जहाज ग्राउन्डेड हुने बताएको थियो ।  एमए–६० मा रहेको राडार बिग्रिएपछि यही जहाजको निर्माता कम्पनी जियना एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनबाट मगाएको थियो। यसका लागि पनि एक लाख डलर (करिब एक करोड रुपैयाँ) जति खर्च भएको छ। जहाजमा रहेको राडारको सहयोगमा पाइलटले 'भिजिबिलिटी' हेर्न तथा विमानस्थल टावरसँग कुराकानी गर्छन्।
विराटनगर विमानस्थलमा चरा ठोक्किएर दुई साता ग्राउन्डेड भएको यही जहाज असार ३० बाट उड्न थालेको थियो। तर, दुई दिन नबित्तै राडारमा समस्या आएपछि पुनः ग्राउन्डेड भएको थियो।
चीनको जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनमा निर्मित यो एमए–६० जहाज गत वैशाख १४ मा काठमाडौं ल्याइएको थियो। त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व पाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजले एकैचोटि असार ११ बाट मात्र नियमित व्यापारिक उडान गरेको थियो।