साउनभित्रै सुचिकृतलाई सिडिएससीमा दर्ता हुन नेप्सेकाे निर्देशन, कात्तिकपछि डिम्याटको कारोबार

बिजमाण्डू
२०७१ साउन ६ गते ००:०० | Jul 22, 2014
साउनभित्रै सुचिकृतलाई सिडिएससीमा दर्ता हुन नेप्सेकाे निर्देशन, कात्तिकपछि डिम्याटको कारोबार


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सुचिकृत सम्पूर्ण कम्पनीहरुलाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड सिडिएससी) मा दर्ता हुन कडा निर्देशन दिएको छ। नेप्सेले साउन मसान्तभित्र सबै सुचिकृत कम्पनीहरुलाई सिडिएससीमा सुचिकृत हुन निर्देशन दिएको हो।
एक महिनाको अवधिसम्म सिडिएससीमा सुचिकृत नभएमा नेप्सेले ती कम्पनीको सुचीकरण खारेज गरेर कारोबारमा रोक लगाउने निर्णय नै गरेको छ। 
 
कम्पनीहरुले एक महिनाको अवधिसम्म पनि सिडिएससीमा दर्ता हुन नगएमा सूचीकरण खारेज गरेर कारोबारमा रोक लगाउँछौं

सीताराम थपलिया
महाप्रबन्धक, नेप्से


 
'कम्पनीहरुले एक महिनाको अवधिसम्म पनि सिडिएससीमा दर्ता हुन नगएमा सूचीकरण खारेज गरेर कारोबारमा रोक लगाउँछौं,' नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले मंगलबार बिजमाण्डूसँग भने। 
 
नेप्सेले धितोपत्र वोर्डसँग छलफल गरेर कडा निर्णय गरेको हो। सिडिएससीले सुचिकृत हुन गरेको अनुरोधलाई कम्पनीहरुले वेवास्ता गरेपछि सिडिएससीको माउ कम्पनी नेप्सेले एक महिनाको समय दिँदै सुचिकृत हुन निर्देशन दिएको हेा। 
 
नेप्सेमा अहिलेसम्म दुई सय ३२ कम्पनी सुचिकृत भएपनि सिडिएससीमा जम्मा १७ कम्पनी मात्र दर्ता भएका छन्। सिडिएससीमा २७ कम्पनी दर्ताको प्रकृयामा रहेका छन्। 
सिडिएससीमा कम्पनीहरु दर्ता भएपछि सुचिकृत कम्पनीका लगानीकर्ताले तोकिएको निक्षेप संग्रहकर्ता (डिपी) कहाँ गएर विद्युतीय रुपमा सेयरको अभिलेख राख्नु पर्ने हुन्छ। 
 
गत बैसाख २ गते विद्युतीय रुपमा अभिलेखीकरण (डिम्याट/अभौतिकीकरण) भएका सेयरको पहिलो पटक कारोबार गरेर सिडिएससीले तीन महिनाभित्र कम्पनीहरुलाई दर्ता हुन निर्देशन दिएको थियो। सिडिएसले आगामी कात्तिक २ गतेपछि डिम्याटमा भएका सेयरको मात्र कारोबार हुने बताइसकेको छ।। नेप्सेले कात्तिक २ गतेलाई नै आधार मानेर कम्पनीहरुलाई साउनभित्र दर्ता हुन निर्देशन दिएको हो।
 
धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ ले सिडिएससी कम्पनी प्रारम्भ भएको छ महिनापछि डिम्याट भएका सेयरको मात्र कारोबार हुने उल्लेख छ। डिम्याटमा भएका सेयरको कारोबार गर्न अहिलेको पुर्वाधार पर्याप्त भएको भन्दै कम्पनीहरुलाई सिडिएससीमा दर्ता हुन निर्देशन दिइएको हो 
 
अहिले सिडिएससीमा १० वटा निक्षेप संग्रहकर्ता र ५० ओटा राफसाफ सदस्य दर्ता भएका छन्। छ सय २४ जनाले डिम्याट एकाउन्ट खोलिसकेका छन् भने एक लाख ७९ हजार कित्ता सेयर डिम्याट (विद्युतीय रुपमा अभिलेख राख्ने काम ) भइसकेको छ। 
 
नेपाल ब्रोकर्स एशोसिएशनका अध्यक्ष नरेन्द्रराज सिजापतीले सबै पक्षले चाहेमा कात्तिकपछि डिम्याट भएका सेयरको मात्र कारोबार गर्न सकिने बताएका छन्। डिम्याट भएका सेयरको कारोबार भएमा सेयर राफसाफ अर्थात् सेयर किनेकोलाई प्रमाणपत्र र बेचेकोलाई रकम दिने प्रक्रिया केही छिटो हुने छ।

Tata
GBIME
Nepal Life