घिसिङलाई रोक्न चिलिमेका प्रबन्ध सञ्चालकको अधिकार कटौति, अध्यक्ष हटाएर आयोजनामा प्रतिनिधि

बिजमाण्डू
२०७१ साउन ७ गते ००:०० | Jul 23, 2014
घिसिङलाई रोक्न चिलिमेका प्रबन्ध सञ्चालकको अधिकार कटौति, अध्यक्ष हटाएर आयोजनामा प्रतिनिधि

काठमाडौं। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालकको अधिकार व्यापक कटौति गरिएको छ। चिलिमे जलविद्युत कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बसेको बैठकले प्रबन्ध सञ्चालकको अधिकार कटौतिको निर्णय गरेको हो।
मंगलबार बसेको सञ्चालक समिति बैठकले चिलिमेका प्रबन्ध सञ्चालक अन्य निर्माणाधिन आयोजनाको सञ्चालक समिति अध्यक्ष हुने प्रावधान हटाएको छ। चिलिमेले निर्माण सुरु गरेका तीन आयोजना रसुवागढी, मध्ये भोटेकोशीे, साञ्जेन र माथिल्लो साञ्जेन कम्पनीको सञ्चालक समिति अध्यक्ष चिलिमेको प्रबन्ध सञ्चालक हुने प्रावधान थियो। यो व्यवस्था लागु भए चिलिमेका प्रबन्ध सञ्चालक यी आयोजनाको सञ्चालक समितिमा आमन्त्रित सदस्य मात्रै हुनेछन्।  
यो कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाएपछि उत्पन्न विवाद समाधान नहुँदै प्रबन्ध सञ्चालकको अधिकारी कटौति गरेर आयोजनामा थप विवाद सिर्जना गरिएको छ। अधिकार कटौति गरेपछि कुलमान आफै पछि हट्ने विश्लेषण गर्दै यस्तो निर्णय भएको सञ्चालक समितिसम्बद्ध स्रोतले बताएको छ।
आयोजना निर्माणस्थलका स्थानीय वासिन्दा, नेपाल विद्युत प्राधिकरणका कर्मचारी युनियनहरु, आयोजना निर्माणका लागि कर्जा दिने कर्मचारी सञ्चयकोषका कर्मचारी युनियन र चिलिमेका कर्मचारीहरु भने घिसिङलाई नै पुनर्स्थापना गर्नुपर्ने पक्षमा छन्। स्थानीय वासिन्दाले घिसिङको पुनस्थापनाका लागि आन्दोलन जारी राखेका छन्।
चिलिमे सञ्चालक समितिले तीन वटा आयोजनाका लागि प्रतिनिधि तोकेको छ। रसुवागढीका लागि लिलानाथ भट्टराई, साञ्जेनका लागि सेरसिंह भाट र मध्ये भोटेकोशीका लागि हितेन्द्रदेव शाक्यलाई प्रतिनिधि तोकेको हो। यी आयोजनाको सञ्चालक समितिले नै अध्यक्ष तोक्ने गरी नयाँ व्यवस्था पनि गरिएको छ। सञ्चालक समितिले अध्यक्ष तोक्ने भएपछि चिलिमेले पठाएका प्रतिनिधि नै अध्यक्ष बन्ने पक्का छ। यी प्रतिनिधिहरु चिलिमेका सञ्चालक हुन्।
'चिलिमे सञ्चालक समितिको निर्णयले आयोजनाहरुमा राजनीतिक हस्तक्षेप बढ्छ,' चिलिमे सम्बद्ध स्रोतले भन्यो, 'यी व्यक्तिहरु प्राधिकरणका कर्मचारी हुन। राजनीतिक हस्तक्षेपकै कारण अहिलेको निर्यण भएको हो। थोरै सेयर भएको प्राधिकरणले अबै सबै आयोजनामा हस्तक्षेप गर्नेछ, स्वतन्त्र निर्णय हुन सक्दैन।'
विद्युत प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक रामचन्द्र पाण्डेले निर्माणाधिन आयोजना खुलाउन आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन्। तत्काल आयोजनामा काम सुरु नगरे प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएको स्रोतले बताएको छ।

Tata
GBIME
Nepal Life