मेगा बैंकको निक्षेप १७ अर्ब १५ करोड रुपैयाँ पुग्याे, साझेदारीमा भारतमा शाखा खोल्ने योजना

बिजमाण्डू
२०७१ साउन ७ गते ००:०० | Jul 23, 2014
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बुधबार आफ्नो चौंथो बार्षिकोत्सव मनाएको छ । बैंकका अध्यक्ष प्रा. डा. मदनकुमार दाहालले वितेको बर्षलाई सुनौलो बर्षको संज्ञा दिँदै पहिलोपटक नौं प्रतिशत नगद लाभांश बाँड्न सफल भएको बताए । उनले चार बर्षको छोटो अबधिमा मेगा बैंकले स्वदेश र विदेशमा समेत उच्च छवि बनाउन सफल भएको भन्दै भारतको सिक्किम, दार्जीलिङ, देहरादुनबाट शाखा खोल्नका लागि माग आएको बताए । 
‘प्रतिस्पर्धा र क्षमताको आधारमा देश बाहिर संयुक्त रुपमा मेगा बैंक खोल्ने हाम्रो दीर्घकालिन उद्देश्य हो । युरोप, अमेरिका, जापान जान नसकेपनि हिन्दुस्तानमा साझेदारीमा बैंक खोल्न चाहन्छौं,’ उनले भने, ‘क्षेत्रीय कार्यालय पनि कमसेकम ४–५ ठाउँमा खोलेर अगाडि बढाउने हामीले सोच बनाएका छौं ।’ 
अध्यक्ष दाहालले केही पुराना एवं नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको जानकारी दिए । ‘मेरो अध्यक्षतामा मर्जर कमिटी गठन भएको छ । हाम्रो मर्जर नीति पनि गतबर्ष पारित भएको छ । मर्जर र एक्विजेशन एउटा प्रक्रिया हो । हामी एक्विजेशनमा पनि जान तयार छौं,’ उनले भने, ‘हाम्रो शर्त मन्जुर गरेर राम्रो आर्थिक अवस्था भएका वित्तीय संस्थासँग मर्ज गर्ने हाम्रो अवधारणा हो ।’ 
गत बर्ष बैंकले १७ अर्ब १५ करोड बरावर निक्षेप संकलन गरेको छ भने १४ अर्ब ८७ करोड बरावरको कर्जा प्रवाह गरेको छ । बैंकका ग्राहक संख्या करिब एक लाख ३० हजार पुगेको छ । कर्जाको औसत आकार १६ लाख र निक्षेपको एक लाख ४३ हजार रहेको छ । 
देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटिएम सञ्जाल छन् । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले ११ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ । 
सहयोग हस्तान्तरण
वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा गरिएको कार्यक्रममा बैंकले अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई ९९ हजार ९ सय ९९ रुपैंया नगद सहयोग प्रदान गरेको छ । 
कार्यक्रममा अध्यक्ष दाहाल र निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पवित्र समाज सेवा नेपालको भवन निमाणार्थ सहयोग रकम हस्तान्तरण गरेका छन् । पवित्र समाज सेवामा ३२ जना असहाय बालबालिका, महिला तथा बृद्धाहरु आश्रित छन् ।

Tata
GBIME
Nepal Life