आन्तरिक राजस्व एक खर्ब ४० अर्ब संकलन, गत वर्ष लक्षभन्दा दुई अर्ब ६८ करोड रुपैयाँ बढी उठ्यो

बिजमाण्डू
२०७१ साउन ७ गते ००:०० | Jul 23, 2014
आन्तरिक राजस्व एक खर्ब ४० अर्ब संकलन, गत वर्ष लक्षभन्दा दुई अर्ब ६८ करोड रुपैयाँ बढी उठ्यो

काठमाडौं। आन्तरिक राजस्व विभाग अन्तर्गत आर्थिक वर्ष २०७०/७१मा एक खर्व ४० अर्व ४४ करोड २८ लाख ९६ हजार रुपैयाँ राजस्व असुली भएको छ। यो संकलन लक्ष्यभन्दा दुई अर्व ६८ करोड बढी हो। गत वर्षका लागि आन्तरिक राजस्वलाई एक खर्व ३७ अर्व ७५ करोड ८२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष थियो।

Tata
GBIME
Nepal Life

विभागले बुधबार आयोजना गरेको समीक्षा कार्यक्रममा राजस्व संकलनको तथ्यांक सार्वजनिक गरिएको हो। विभागले गत आर्थिक वर्षमा आयरक ७७ अर्व ८० करोड ६३  लाख ८० हजार, मूल्य अभिवृद्धि कर ३४ अर्व ३७ करोड ५६ लाख ५५ हजार र अन्तःशुल्क २७ अर्व ३८ करोड ५६ लाख १० हजार रुपैयाँ संकलन गरेको छ। त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ४३ करोड ४७ लाख ५५ हजार र ४४ करोड चार लाख ९६ हजार असुली भएको छ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै स्वास्थ्य सेवा शुल्कमा सुधार देखियो भने व्याजकर लक्ष अनुसार पनि असुली भएन। शिक्षा सेवा शुल्क र भ्याट असुली पनि लक्ष भन्दा बढी भएको जानकारी विभागले दिएको छ।

समीक्षा कार्यक्रममा विभागका महानिर्देशक टंकमणी शर्माले लक्षभन्दा बढी राजस्व असुली गर्न सफल भएकोमा राजस्व प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिए। कार्यक्रममा उपत्यका भित्रका ठूला करदाता कार्यालय लगायत आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरूको उपस्थिति थियो।