चीनले नेपाल पठाउन इन्स्ट्रक्टर पाइलट पाएन, वाई–१२ई जहाज भित्र्याउने मिति अनिश्चित

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014

काठमाडौं । चीनले अंग्रेजी भाषा बुझ्ने इन्स्ट्रक्टर पाइलट (आइपी) उपलब्ध गराउन नसकेपछि नेपाल वायुसेवा निगमले चिनियाँ अनुदानमा ल्याउन लागेको वाई–१२ई जहाज भित्र्याउने मिति अनिश्चित भएको छ । निगम र चिनियाँ जहाज निर्माता कम्पनीबीच साउन ९ (जुलाई २५) गते काठमाडौं ल्याउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
नेपाल र चीनबीच २०७० मंसिर १३ मा भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार जहाज उडाउन आवश्यक पाइलट (इन्ट्रक्टर पाइलट) पनि चीनले केही अवधिका लागि निःशुल्क दिने उल्लेख छ ।
निगमका महाप्रबन्धक मदन खरेललाई विमान निर्माता कम्पनी एभिक इन्टरनेसनलले असार २२ गते चीनको हार्विममा १८ सीटको यो विमान हस्तान्तरण गरेको थियो । तर आइपी उपलब्ध गराउन नहुदाँ विमान नेपाल ल्याइएको छैन ।
निगमले साउन ९ गते चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराउने र त्यसको १५ दिन पछि व्यवसायिक उडान सुरु गर्ने योजना बनाएको थियो । तर चीनले अंग्रेजी भाषाको इन्स्ट्रक्टर पाइलट नपाएको भन्दै जहाज नेपाल पठाउन नसक्दा निगमको योजना विफल भयो । न्युनतम चौथो तहको प्रोफिसेन्सी भएको इन्ट्रक्टर पाइलट आवश्यक हुन्छ । यस्तो प्रोफिसेन्सी छ तहसम्म हुन्छ ।
नागरिक उड्डयन प्राधिकरणबाट सबै प्रमाणपत्र लिएर उडान थाल्न आवश्यक काम निगमले प्रारम्भ गरिसेकेको छ। ‘सम्झौताअनुसार वाइ१२ उडाउन इन्स्ट्रक्टर पाइलट (आइपी) को नाम सँगै ल्याउनु पर्थ्यो तर चीनमा अंग्रेजी भाषा जान्ने आइपी नहुँदा भनेको समयमा जहाज ल्याउन सकिएन,' निगमका महाप्रबन्धक खरेलले बिजमाण्डूसँग भने, 'यसले गर्दा जहाज कहिले आउने भन्ने नै अनिश्चित भएको छ ।'
उनका अनुसार चीनले आइपी खोजिरहेको छ । यो भन्दा अघि ल्याइएको एमए६० मा पनि अंग्रेजी भाषा जान्ने आइपी नहुँदा भनेको समयमा जहाज उड्न सकेको थिएन । एमए ६० को लागि चिनियाँ जहाज निर्माता कम्पनीले दोभाषे आइपीको नाम उल्लेख गरेर पठाएको थियो ।
नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार दोभाषे राखेर जहाज उडाउन पाइँदैन । पाइलटले ककपिटभित्र बसेर एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अंग्रेजी भाषामै कुरा गर्नुपर्छ । यो नियम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको हो । नेपाल आइकाओको सदस्य राष्ट्र हो ।
'हामीले नयाँ जहाज ल्याउँदा त्यसलाई कसरी चलाउने भनेर सिकाउने पाइलट नै इन्स्ट्रक्टर पाइलट हुन्,' खरेल भन्छन्, 'ककपिटमा बसेर एटिसीलाई अरु भाषामा जानकारी गराएर भएन । त्यसैले अंग्रेजी नै भाषा जानेको आईपी हुनुपर्छ । व्यवहारिक रुपमा पनि दोभाषे ल्याएर कामै छैन ।'
चीनबाट अंग्रेजी बुझ्ने प्रशिक्षक र को–पाइलट आएपछि उनीहरूको पाइलट लाइसेन्सलाई प्राधिकरणले अनुमोदन गरेपछि परीक्षण उडान गरिने खरेलले जानकारी दिए । उताबाट आउने पाइलटलाई कम्तिमा एक वर्षसम्म निगमका पाइलटलाई तालिम दिने व्यवस्था मिलाउन चीनसँग आग्रह गरिएको उनले बताए ।
एमए ६० जस्तो दुई महिना थन्क्याएर राख्नु नपरोस् भनेर यो पटक सबै प्रक्रिया अहिले नै अगाडि बढाइएको र प्राधिकरण समेत सकारात्मक रहेको महाप्रबन्धक खरेलले बताए । उनले भने, 'नयाँ जहाज किन्दा त्यो बारे बुझ्नसक्ने पाइलट हामीकहाँ छैनन् । त्यही भएर उतैबाट आइपी ल्याउनु परेको हो, ' उनी भन्छन्, 'प्रत्यके जहाज कम्पनीको आफ्नै विशेषता हुन्छ । त्यही अनुसार उडाउनु पर्छ । चिनियाँ जहाज उडाएको अनुभवी पाइलट हामीसँग छैनन् ।'
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० मोडेलका दुई र १८ सिटयुक्त ‘वाई१२–ई’ मोडेलका चार जहाज उपलब्ध हुनेछन् । तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ । यी मध्ये एमए ६० ले असार १५ गतेदेखि व्यवसायिक उडान सुरु गरिसकेको छ ।
निगमका अनुसार चीनले सबै ६ जहाजको हस्तान्तरण मिति यसअघि नै दिएको थियो । अनुदानमा पाइने एउटा वाई–१२ई असार १६ मा यहाँ आइपुग्ने मिति तय गरिएको थियो । त्यसैगरी सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने तालिका छ ।
जहाजका लागि दुवै देशबीच ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । त्यसमध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा तीन अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो । नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ । चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध हुनेछ । यी जहाज अर्थ मन्त्रालयले बढीमा एक प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिने तयारी गरेको छ ।

Tata
GBIME
Nepal Life