सस्ता सेयरमा खरिद आदेश बढी, बजार २.४२ अंकले घट्यो, वित्तीय संस्थाको मूल्य बृद्धि

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
सस्ता सेयरमा खरिद आदेश बढी, बजार २.४२ अंकले घट्यो, वित्तीय संस्थाको मूल्य बृद्धि
काठमाडौं। तीन घण्टाको कारोबारमा हरियो/रातोको संकेत गर्दै सेयर बजार २.४२ अंकले घटेर बन्द भएको छ। सेयर बजार परिसुचक एक हजार ७९ अंकमा बन्द भएको हो। सुरुमा बढेको बैंकिङ परिसुचक कारोबार अन्त्यतिर घटेको छ। कारोबारको अन्त्यतिर भने नप्से परिसूचक सुधारको क्रममा देखियो । तर पनि बजार भने बढ्न सकेन । नेप्से परिसूचक केही दिन देखि साइड वेज मुभमेन्टमा देखिएको छ । यो प्रवृत्ति बढेर अन्त्य भएमा बजार बढ्ने र घटेर अन्त्य भए घट्ने बिश्लेषण गरिन्छ । त्यस्तै, यो अवधिमा नेप्सेले अंग्रजी अक्षरको एम वा डबल टप बनाउन लागेको देखिन्छ । यो आकृती बनेमा भने बजार केही समय घट्ने विश्लेषण गरिन्छ । 
बजारलाई डोर्याउने प्रमूख सुचक बैंकिङ, जलविद्युत् र बीमा समूहको परिसूचक घटेपछि नेप्सेमा प्रभाव परेको हो । चिलिमे जलविद्युत्, सिटिजन्स बैंक, नेपाल बैंक, ग्राण्ड बैंक लगायतको चार करोडभन्दा माथीको कारोबार भएको छ । यसमध्ये चिलिमे जलविद्युत्को मात्र सेयर मूल्य घटेर कारोबार भएको छ । साताको अन्तिम दिन विकास बैंक र फाइनान्स कम्पनीका सेयर मूल्य बढेका छन्। तुलनात्मक रुपमा सस्तो मूल्यका सेयरमा लगानीकर्ताहरुले खरिद आदेश दिएको सेयर किनबेच गर्ने ब्रोकरहरुले बताए। प्रिमियर फाइनान्स, विश्व बिकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, युनियन फाइनान्स, निलगिरी बिकास बैंक, रिडी हाइड्रो, एनआइडीसी क्यापिटल मार्केट्स, नेपाल फाइनान्स, युनाइटेड फाइनान्स, सेवा बिकास बैंकको सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढ्यो । 
विकास बैंक समूह ६.३६, फाइनान्स ०.५८ र होटल ०.९४ अंकले बढेका छन्। बैंकिङ १.९६, जलविद्युत् ४८.९१ र बिमा २१.९१ अंकले घटेको छ। 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार दिनभरीमा ७५ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। एक सय ५४ कम्पनीका १७ लाख ७४ हजार नौं सय ८७ कित्ता सेयर किनबेच भएको हो। दिनभरीमा चार हजार छ सय ८९ वटा कारोबार भएको छ। 
 नेप्सेको कारोबार टेलिभिजनबाट हेर्न पाइने 
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र एस्ट्रिक टेक्नोलोजीबीच टेलिभिजनमार्फत सेयर बजार कारोबार विवरण प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ । नेप्सेले पठाउने तथ्याकलाई एस्ट्रिक टेक्नोलोजीले विभिन्न टेलिभिजनसंग सम्झौता गरेर प्रसारण गर्ने छ । हाललाई इमेज च्यानबाट अगामी आइतावारबाट प्रसारण गरिने भएको नेप्सेले उल्लेख गरेको छ । प्रत्यक्ष प्रसारणबाट प्राप्त हुने आम्दानी दुवै पक्षले बाँडफाँड गर्ने गरी सम्झौता भएको हो ।
 

Tata
GBIME
Nepal Life