सजिलो छैन पाइलट बन्न, एक कराेड खर्च

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014
सजिलो छैन पाइलट बन्न, एक कराेड खर्च


कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को कोअर्डिनेट भ्यालिएसन मिसन (आइसीभीएम)को प्रतिवेदनले नेपालबाट दिइने पाइलट लाइसेन्समा कमजोरी रहेको र युरोपेली युनियनको सेफ्टी टिमले समेत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको प्रतिवेदन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले लाइसेन्स वितरणमा कडाइ गरेको छ । कडाइपछि पाइलट बन्न अहिले भन्दा महँगो पर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

प्राधिकरण अधिकारीका अनुसार आईकाओले तोकेको प्रावधान अनुसार कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) को लाइन्सेन्स लिन अब अनिवार्य रुपमा पाइलटले पनि को-पाइलटले लिने सैद्धान्तिक ज्ञान लिनैपर्ने प्रावधान बनाएको छ । यसअघि पाइटले को-पाइलट सरहको सैद्धान्तिक ज्ञान लिनैपर्ने बाध्यता थिएन ।

यसअघि विदेशमा गएर दुई सय घण्टाको तालिम लिएका व्यक्तिले नेपालमा सीपीएल पाइलटको लाइसेन्स लिन पाउने व्यवस्था थियो । प्राधिकरणले तुरुन्तै लागु हुने भन्दै यही असार १० गते पाइलटले को-पाइलट सरह ज्ञान हासिल गर्नै पर्ने सूचना निकालेको थियो ।  

प्राधिकरणले आइकाओको अनुसूचि एकमा भएको ‘रिक्वायरमेन्ट अफ एटीपीएल थ्यौरिटिकल नलेज फर पाइलट फ्लाइङ मल्टी क्रू एयरक्राफ्ट’ सम्बन्धि प्रावधान अनिवार्य रुपमा पालन गर्नुपर्ने सूचना जारी गरेको हो ।
 
सिपिएल गरेर आएकाले एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइन्सेन्स (एटिपिएल) लिनुपर्ने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक सञ्जिव गौतम बताउँछन् । उनी भन्छन्, 'सिपिएल गरेर आएका पाइलटले अब एटिपिएल सरहको ज्ञान लिनै पर्छ, अन्यथा उसले पाइलट लाइसेन्स पाउँदैन ।'
अब विदेशबाट तालिम लिएका सबै पाइलटले को-पाइलट सरहको सैद्धान्तिक ज्ञान लिएकै हुनुपर्छ । अहिले उडानमा रहेका, नयाँ र तथा आवेदन दिएर बसेकाले पनि सन् २०१५ को डिसेम्बरभित्रमा अनिवार्य रुपमा यस्तो ज्ञान लिनुपर्ने प्राधिकरणले जानकारी दिएको छ। ‘हामीले सूचना प्रकाशित गरेको दिनदेखि नै यो प्रावधान लागू हुने भनिएपनि व्यवहारत: सम्भव छैन । त्यसैले डेढ वर्षभित्रको समय दिएर सबैलाई एटिपिएल कोर्ष गर्नैपर्ने बनाएका छौ ।’ सन् २०१५ डिसेम्बरभित्र पनि कोही पाइलटले एटिपिएलको ट्रेनिङ लिन सकेन भने सन् २०१६ सम्म त्यसलाई समय दिइने उनी बताउँछन् ।

प्राधिकरणले नेपालको पाइलटलाई आइकाओको मापदण्ड अनुसार बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । यो व्यवस्थाले पाइलट अध्ययन महङ्गो हुनुका साथै कठिनसमेत हुने भएको छ। गौतम भन्छन्, 'पढ्न जानेलाई त महँगो हुन्छ नै । तर यो व्यवस्थाले हवाइ दुर्घटनामा कमी आउने हामीले विश्वास लिएका छौं ।'

उनका अनुसार कतिपय दुर्घटना पाइलटले को-पाइलटसँग सहकार्य नगर्दा हुने गरेको छ । गौतम भन्छन्, 'पाइलटले पनि को-पाइलटको जत्ति ज्ञान लिए त कमसेकम आपत परेको बेला को-पाइलटको भूमिका खेलेर दुर्घटनाबाट जोगाउँछ ।' गत फागुनमा नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा पाइलटकै गल्तीले दुर्घटना भएको प्रतिवेदन विमान दुर्घटना छानविन समितिले मन्त्रीलाई बुझाएको थियो ।

अहिले फिलिपिन्समा गएर दुई सय घण्टाको तालिम लिनेले करीब ४० लाख र अमेरिका, दक्षिण अफ्रिका, मलेसियालगायतका मुलुमा पाइलट अध्ययनका लागि करीब ५० लाख खर्च गर्नुपर्छ। देश अनुसार हुने थप सात सय ७० घण्टाको सैद्धान्तिक ज्ञानले पाइलट खर्च एक करोडसम्म पुग्ने प्राधिकरणले अनुमान गरेको छ ।

विदेशबाट एक करोडसम्म खर्च गरेर भित्रिएका पाइलटले नेपालका निजी वायुसेवामा प्रवेश गर्दा लाग्ने तालिम शुल्क पनि आफैंले व्यहोर्नुपर्छ। सिङ्गल इन्जिनका लागि कम्तिमा १० लाख, बीचक्राफ्टका लागि २५ र एटीआर जहाजका लागि ३० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने नेपाली एयरलाइन्स सञ्चालकहरु बताउँछन् ।
 
करोड खर्च गरेर पढ्यो जागिर पाइँदैन
 
चार/पाँच वर्ष अगाडि नेपालमा पाइलट कम थिए। त्यतिबेला वायुसेवा कम्पनीलाई पाइलट खोज्नै गाह्रो हुन्थ्यो। एयरलाइन्सले आफैँले तालिम दिने र जागिर पनि दिने गर्थे । तर पाइलट पेसाको क्रेजले पछिल्लो समय पाइलटको संख्या बढेपछि एयरलाइन्सले पालटललाई रोजगारी दिइसकेपछि दिनुपर्ने कम्तिमा १० घण्टाको तालिमको खर्च पनि पाइलटले  नै गर्न थालेका छन् ।

लाखौं खर्चेर पनि रोजगारी नपाएको अवस्थामा थप खर्च गर्नुपर्ने व्यवस्थाले पाइलटहरु निराश बन्न थालेका छन् । फिलिन्सिबाट तालिम पूरा गरेर नेपाल फर्केका एक पाइलटले नाम नलेखिदिन आग्रह गर्दै भने 'करिव ४० लाख खर्च गरे पनि पटकपटक प्रयास गर्दा जागिर पाइएको छैन ।' सन् २००९ मा फिलिपिन्स गएर पाइलट कोर्स पुरा गरेका उनले पाँच वर्षसम्म जति नै प्रयास गर्दा केही सीप नलागेपछि अब पेसा परिवर्तन गर्ने सोच बनाएका छन् । घरपरिवारले भएको पैसा पनि सकेको र बेरोजगार पनि बसेको भनेर गनगन गर्न थालेपछि कतार वा मलेसिया नै भएपनि जाने तयारीमा जुटेको उनी बताउँछन् ।

नेपालमा सन् २००८ पछि पाइलट अध्ययन गरेर आउनेको संख्या मात्रै बढेको र वायुसेवा कम्पनीको विकास तथा पर्याप्त जहाज नभएका कारण पाइलटको बेरोजगारी दर बढेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ९३ वटा मुलुकका लागि नौ सय ७५ जनाले पाइलट अध्ययन गर्नको लागि अनुमति लिएर गएका छन् । पाँच सय १९ जनाले मात्रै विभागबाट सीपीएल लाइन्सेन्स पास गरेका छन् । विदेशमा कम्तिमा दुई सय घण्टा तालिम लिएका पाइलटले प्राधिकरणबाट अनिवार्य रुपमा सीपीएल लाइसेन्सको परीक्षा उत्तीर्ण गर्नुपर्छ । यसपछि मात्रै सम्बन्धित वायुसेवामा आवेदन दिन पाउँने प्रावधान छ।

नेपालमा पाइलटमा रोजगारी पाउने आफन्त नै चाहिने तथा वायुसेवा कम्पनीले भनेजति पैसा खर्च गर्न सक्नेबाहेकले अवसर पाउनै गाह्रो भएको ती बेरोजगार पाइलट गुनासो गर्छन् ।
 
पाइलट धेरै अवसर कम
 
एयरलाइन्स कम्पनी बन्द हुने, कम्पनीहरुले पाइलटको लागि आवेदन नखुलाउने र नयाँ वायुसेवा कम्पनी नआउँदा पाइलट कोर्ष पुरा गरेर आएकाहरु बेरोजगार बन्न थालेका छन् । प्राधिकरणका उपमहानिर्देशक गौतम भन्छन्, 'पाइलट बन्नेहरु धेरै भए तर एयरलाइन्स कम भयो ।'
 
नेपालमा नयाँ पाइलटले रोजगारी नपाउँने समस्या चुलिदै गएको छ भने यो पेसा प्रवेशमा गर्नुपर्ने खर्चको सीमा पनि अधिक हुन थालेको छ । नेपालमा पाइलट तालिम दिने संस्था नहुँदा विदेशमै जानुपर्ने, अधिक खर्च लाग्नुका साथै तालिमपश्चात रोजगारीको सुनिश्चितता नहुनुले पाइलट अध्ययन नै महँगो बन्न पुगेको सम्बन्धित क्षेत्रका विज्ञ बताउँछन् ।
 
एक जना पाइलट तयार हुन कम्तिमा एक करोडसम्म खर्च गर्नुपर्ने तथा कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) लिएर बसेकाले सहजै रोजगारी नपाउनाले यो पेसामा प्रवेश पाउनु नै जटिल भएको पाइलटहरुको भनाई छ ।

करिब एक दसक अघि नेपालबाट निकै पाइलट रोजगारीका लागि बाहिएर । नेपाल बायु सेवा निगमको जागिर छाडेर भारत र खाडी मुलुकका एयरलाइन्समा धेरै पाइलट पुगे । अहिले निगम पनि पाइलट अभावको समस्या झेलिरहेको छ ।