सांग्रिला होटलका चार दशक दश करोड लगानीमा बुटिक

बिजमाण्डू
२०७१ साउन १० गते ००:०० | Jul 26, 2014
सांग्रिला होटलका चार दशक दश करोड लगानीमा बुटिक


प्रभात भट्टराई/बिजमाण्डू

काठमाडौं । साढे तीन दशक अघि काठमाडौंमा खासै पर्यटकको चहल पहल थिएन । व्यवसायी श्यामबहादुर पाण्डेले एउटा जोखिम उठाए, राजधानीका पानीपोखरीमा होटल सांग्रिला स्थापना गरेर ।

Tata
GBIME
Nepal Life

होटलको नाम सुहाउने संरचना निर्माण गरियो । हेर्दै नेपालको परम्परागत कला र संस्कृति झल्किने वास्तु स्वरुप, सुन्दर बगैंचा र शान्त प्रकृति । भिडभाड र कोलाहलयुक्त काठमाडौंमा आज सांग्रिला होटल विदेशी पर्यटकका लागि मात्र होइन स्वदेशीहरुकै लागि पनि प्रिमियम गन्तव्य बनेको छ ।

२०६२/६३ को जनआन्दोलन सफलता पछि मुलुकमा विस्तारै पर्यटन उकालो लाग्यो । सांग्रिला व्यवस्थापनले पनि समयको पदचाप बुझेर होटललाई पाँचतारेमा स्तरोन्नती गर्यो । प्राकृतिक स्वरुपलाई कायम राख्दै होटलमा कोठा थपिए । संरचना विस्तार भयो । अहिले सांग्रिला अर्को विशिष्ट पहिचान बोक्ने अभियानमा छ, पाँच चारे बुटिक बनेर ।
 
नेपाली परम्परा, संस्कृति, कला र उत्पादनलाई प्रबद्र्धन गर्ने हेतुले सांग्रिलालाई बुटिक होटलमा परिणत गरिँदैछ । होटलका कार्यकारी निर्देशक प्रविणबहादुर पाण्डे भन्छन्, ‘वर्गीकरण पाँचतारे नै हो तर थिम बुटिक गर्दैछौं ।’

सरकारी परिभाषामा निजी क्षेत्रले प्रबद्र्धन गरेको र अधिकतम सय कोठा भएको होटल जहाँ सम्बन्धित देशको संस्कृति र मौलिक पहिचान झल्कियोस, त्यसैलाई बुटिक होटल भनिने उल्लेख छ ।

स्थानीयतालाई प्रबद्र्धन
सांग्रिलामा पनि अहिले एक सय कोठा छन् । पाँच तारे बुटिक होटलको त्यहि अधिकतम सीमामा रहेर योे नयाँ चरणको यात्रा थालनी गर्न लागेको हो । कार्यकारी निर्देशक पाण्डे अन्तर्राष्ट्रिय जगतमा समेत स्थापित हुँदै आएको दीगो पर्यटनको अवधारणालाई पनि आपूmहरुले उत्तिकै महत्व दिएको बताउँछन् ।

दिगो पर्यटन अन्तर्गत होटलमा बिक्री हुने प्रोडक्टदेखि व्यवस्थापन र कामदार लगायत अधिकांश क्षेत्रमा स्थानीयलाई प्रोत्साहन गरिन्छ । सांग्रिलामा शतप्रतिशत स्थानीय व्यवस्थापन छ । महाप्रबन्धकदेखि सबै कर्मचारी नेपाली छन् ।

त्यसबाहेक नेपाली कफि प्रबद्र्धन अभियान पनि होटलले सुरु गरेको छ । इलि कफि बिक्री गर्दै आएको होटलले अब हिमालयन लगायत नेपाली कफि प्रबद्र्धनको नीति लिएको छ । होटलले आफ्नो मेनुमा नै नेपाली किसानले उत्पादन र प्रबद्र्धन गरेको कफि भन्ने व्यहोरा खुलाउने भएको छ । यसरी स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने सांग्रिला पहिलो होटल बन्नेछ ।

नेपाली कफि प्रबद्र्धनकै लागि होटलमा छुट्टै लाउञ्ज निर्माणधिन छ, घुर्मे क्याफे लाउन्जको नाममा । ‘झट्ट हेर्दा होटलले आफ्नो व्यापार त गर्न खोज्या हो नि भन्ने देखिएला’ पाण्डे भन्छन् ‘तर त्यसो होइन, हामी यसमा व्यापारभन्दा माथि छौं, नेपालका कफि किसानलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने तथा नेपाली कफिलाई पनि कोलम्बियाको कफि जस्तै अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान हो यो ।’ विदेश जाँदा स्टारवक्समा नेपाली कफि अर्डर गरेको देख्नु आफुहरुको चाहना भएको उनको भनाइ छ ।

‘होटल भएको नाताले सबै खाले खाना राख्नु पर्छ’ उनी भन्छन् ‘तर, आफ्नो प्राथमिकता नेपाली चिनारीको अभाव होटलमा नखड्कियोस भन्ने हो ।’ दीगो पर्यटन बुटिक होटलको पनि अपरिहार्यता रहेको उनी बताउँछन् ।

नामैदेखि बुटिक
सांग्रिला दर्ता गरेको ४० बर्ष पुगिसक्यो । नेपालको सन्दर्भममा जुन नामले नै बुटिकलाई संकेत गर्छ । जबकी सांग्रिला स्थापनाकालमा बुटिक अवधारणको कुनै गुञ्जायस थिएन । कतिपयले सांग्रिलालाई अन्तर्राष्ट्रिय सांग्रिलासँग मिल्दो नाम पनि भन्छन् । तर, हङकङमा खुलेका पहिलो अन्तर्राष्ट्रिय सांग्रिला पनि नेपालको सांग्रिला भन्दा दुई÷तीन बर्ष कान्छो रहेको पाण्डे बताउँछन् ।

३५ बर्ष अघि नेपाल आउने पर्यटक काठमाडौं बाहिर त्यति जाँदैन थिए । त्यसैले बाहिरको चर्चा पनि खासै थिएन । आफ्नो बुवाको त्यस बेलाको भिजन सम्झँदै पाण्डे भन्छन्, ‘त्यस बेलाको काठमाडौं र अहिलेको सिङ्गो नेपाल नै समग्रमा सांग्रिला हो, यही तथ्य बुझेर बुवाले नाम जुराउनु भएको थियो ।’ नेपाललाई त्यसै स्वर्ग भनेका होइनन् उनले । यसमा धेरै तथ्य जेम्स हिल्टनको किताबमा पनि उल्लेख गरिएको उनी बताउँछन् ।

‘त्यति मात्र होइन अहिले कुनै विदेशी साथीलाई वेगनास या अरु नेपाली भूमीमा पुर्याउँदा संसारकै शान्त क्षेत्र भनेर हर्षविभोर हुन्छन्’ उनी भन्छन् । सांग्रिलालाई बुटिकमा स्तरोन्नती गरेर शान्तिको खोजीमा रहेका विश्व भरका पर्यटकलाई औपचारिक संदेश समेत दिन खोजिएको उनको भनाइ छ ।

सांग्रिलाको अर्को होटल पोखरामा पनि छ । त्यहाँ भवन निर्माणदेखि सबै काम वुटिक अवधारणा अनुरुप नै गरिएको छ । काठमाडौंमा पनि नाम जस्तै बुटिक नेपाली मौलिकता अनुरुप नै चल्दै आएको छ सांग्रिला । पोखरा र काठमाडौं दुबै ठाउँमा होटलको प्रयोजन र रुममा लोक्ताबाट बनेको नेपाली कागज चलाउने गरेको छ ।

त्यसबाहेक रुममा चाहिने कपडामा पनि सकेसम्म नेपाली फेब्रिकबाट उत्पादित खोजिने गरेको छ । ‘वेटरहरुको कपडामा पनि अलिकति ढाकाको संकेत राख्ने गरेका छौं’ उनी भन्छन् ‘यसको अर्थ हो हामी कुनै न कुनै स्थानीय थिम दिन चाहन्छौं ।’

बुटिक भनेकै आधुनिकतामा मौलिकताको फ्युजन हो । किनभने मौलिकताको नाममा घर र होटल भने छुट्टिनु पर्ने उनी बताउँछन् । ‘आयातित सामान मात्र राखेर गरिएको पर्यटनको पनि अर्थ हुँदैन’ उनी भन्छन् ‘त्यस्तै होमस्टेलाई पर्यटन मानेर पनि अघि बढ्न सकिँदैन ।’ होमस्टेलाई दुर्गम क्षेत्रमा लैजान र शहरका सबै होटललाई करको दायरामा आउनु पर्ने उनी बताउँछन् ।

अहिले सयको संख्यामा रहेका सांग्रिलाका कोठा त्यस भन्दा माथि विस्तार भए डिलक्स होटलमा रुपान्तरण हुनेछ । जे भए पनि सांग्रिलाले अहिले थालेको रिन्नोभेसनलाई यसलाई पाँच तारेहरुको समुहमा पृथक बनाउनेमा भने दुई मत छैन । ‘अहिले बजारमा रहेका सोल्टी, हायातलाई के भन्ने या मल्ल लगायत अरुलाई के भन्ने भन्ने मन्थनबाट चाहिँ हामी अब पुर्णतः बाहिर आउँछौं’ उनी भन्छन् ।
 
पाँचतारे भित्रै रहेको अवस्थामा अब सांग्रिलाको मुख्य फेसन हो बुटिक । जुन सर्भिसमा, प्रोडक्टमा, रुममा र समग्रमा सिङ्गो होटलमा प्रतित हुनेछ । त्यसैले होटल भित्रै विविधता देखिने गरि रिन्नोभेसन सुरु गरिएको छ । नयाँ चरणमा एउटा क्लव फ्लोरको व्यवस्था छ ।

जहाँ एउटा स्टाफ अप टु डेट राखेर आगन्तुकलाई चाहिएको सम्पुर्ण सुविधा दिने तथा व्रेक फाष्ट र इभिनिङ हाइ टी सर्भ गरिने छ । त्यो सर्भिस रुमको मुल्यमा नै समाहित हुनेछ । केहि कोठमा ज्याकुजी पनि डिलक्स रुमको रुपमा विकास गरिएको छ ।

बुटिकको सिद्धान्तले हरेक कोठाको छुट्टाछुट्टै पहिचान कायम होस् भन्ने मान्यता राखेको हुन्छ । त्यसैले क्लव फ्लोरको छुट्टै पहिचान छ । त्यसका लागि डिजाइनर नै भारतबाट आएका थिए । अहिले भइ रहेको कोठा स्तरोन्नतीमा स्थानीय डिजाइनर छन् ।

उनीहरुले आधुनिक र नेपालीपन दुबैको सम्मिश्रण गराएका छन् । केही तिब्बती स्वरुप पनि लिइएको छ । तिब्बती सभ्यता नेपालीसँग मिल्दो जुल्दो र आकर्षक भएको हुँदा त्यसो गरिएको हो ।

यहि कारण होटलमा बसेको ग्राहकले रुम परिवर्तन गर्दा, डिलक्समा जाँदा या क्लव फ्लोरमा पुग्दा म छुट्टै होटलमा छु भन्ने अनुभुती गर्नेछ । ‘जबकी काठमाडौंकै नाम चलेका ठुला होटलमा तल देखि माथि सम्मको स्वरुप र बनावट एउटै हुन्छ’ उनी भन्छन् । पृथक पहिचान र बुटिक स्वरुपले होटलको आयको दायरालाई पनि फराकिलो बनाइदिने छ ।
 
प्रति रात डिलक्स तीन सय डलर, क्ल्व फ्लोर दुई सय डलर र स्ट्यान्डर्ड बुटिक रुम न्युनतम एक सय ५० अमेरिकी डलरमा बिक्री गर्ने लक्ष राखिएको छ । त्यति मात्र होइन भारतीय पर्यटक लक्षित गरि केही कोठमा इन्डियन शैलीको शौचालयको समेत व्यवस्था गरिएको छ, ताकि होटल बस्दा उनीहरुलाई असहज नओस् ।

त्यस बाहेक भुँइतलाका कोठामा अपाङ्गता भएका व्यक्तिलाई आवागमन सहज होस् भन्ने ढंगले बनाएको उनी बताउँछन् । होटलको लवी लगायत बिभिन्न ठाउँका सार्वजनिक शौचालय समेत अपाङ्गता मैत्री बनाइएको छ ।

‘होटललाई बजारमा पुर्णतः रिपोजसनिङ, रिइन्भेन्सन र रिक्रिएटिभ गर्न खोजिएको हो’ पाण्डे भन्छन् । यो चरणमा १० करोड रुपैयाँ भन्दा बढि लगानी भइ सकेको छ । रिन्नोभेसनका लागि सांग्रिला व्यवस्थापनसँग दुई विकल्प थिए ।

एक पुरानो होटललाई भत्काएर नयाँ संरचनामा जाने । तर, विगत ३५ बर्षको इतिहासमा जुन पहिचान बनाएर सांग्रिलाले पर्यटक आकर्षित गरि रहेको छ यो संरचना तोड्दा उक्त छवि पनि भत्किने अवस्था आउँथ्यो ।

त्यसैले दोस्रो विकल्प स्वरुप गुणस्तरको मापदण्ड बनाएर पहिचान पनि जिवित अभियान थालिएको छ । सांग्रिलाले पहिचान आर्जेको पनि यहि फरकपनाले गर्दा हो । अरुले जग्गा पायो कि भवन ठड्याइ हाल्छन् । सांग्रिलाले ‘शान्ति भूमी’को बचाएको बगैंचा र खाली जमिन पनि यसको अर्को चिनारी हो ।

‘हामीले प्रतिश्पर्धाका लागि पनि स्थानीयताको जगेर्ना गर्नु पर्नेछ’ पाण्डे भन्छन् ‘अझ अब दुई बर्ष भित्र झन् ठुल्ठुला होटल आउँदैछन्, उनीहरुसँग प्रतिश्पर्धा गर्न पनि स्थानीय होटल विशिष्टिकृत हुनै पर्छ ।’

समग्र गुणस्तरमा चासो
सांग्रिला मात्र होइन नेपालका समग्र होटलहरुले नै गुणस्तर कायम गर्नु पर्ने पाण्डेको भनाइ छ । पछिल्लो समय सरकारको मापदण्ड तयार गर्ने समितिमा पनि निजी क्षेत्रको तर्फबाट प्रतिनिधि थिए उनी । होटललाई होटलको स्तरमा पुर्याउने र मुल्यमा पनि एउटा गुणस्तर कायम गर्ने लक्ष आफुहरुले लिएको उनको भनाइ छ ।

गुणस्तरको पहिचान बोकेको मेरियट डिलक्स होटल नेपाल आउन लागेको छ । त्यस बाहेक नेपालका सोल्टी, हायात, र्याडिसन लगायत होटलले पनि आफुलाई डिलक्समा बदल्न सक्ने उनी बताउँछन् । ‘अहिले मैले नेपालका होटलको सात÷आठ वटा क्याटोगरीको कुरा गरेको छु’ उनी भन्छन् ‘जंगल रिसोर्ट, माउन्टेन रिसोर्टदेखि लिएर सबै खाले होटलमा मापदण्ड बनाइनु पर्छ ।’ यसका लागि संसारको कुनै न कुनै देशबाट स्याम्पल लिनु पर्ने तर त्यस अनुरुपको आर्थिक स्रोत नभएको उनी बताउँछन् ।

सन् १९९८ मा स्तर निर्धारण गर्दा भारतीय र थाई होटल एसोसिएनले सहयोग गरेको स्मरण गर्दै उनी भन्छन्, ‘होटलको स्तर निर्धारणले समग्र उद्योगलाई नै फाइदा पुर्याउँछ ।’ भुटानमा राज्यले नै होटलको स्तरिकरण गरेको छ । सरकारले तोकेको न्युनतम मुल्यभन्दा कममा कोठा दिन होटललाई प्रतिबन्ध छ ।

‘यो एक किसिमको वैधानिक कार्टेलिङ हो’ उनी भन्छन् ‘यसमा गुणस्तर कायम गरि जति धेरै मुल्य लिन सक्यो मुलुकलाई उतिनै फाइदा हुन्छ ।’ ठमले लगायत कतिपय ठाउँमा दुई डलर÷पाँच डलरमा समेत रुम दिइ रहेको आफुले सुनेको उनी बताउँछन् । ‘यसले हानका धेरै सदस्य समेत मारमा परेका छन्, उनीहरुलाई भाडा तिर्न नै समस्या छ’ उनी भन्छन् ‘त्यसैले हामीले एउटा मापदण्ड त बनाउनै पर्छ ।’