घर बनाउने पैसा समेत सेयरमा लगानी, जागिर गुमाउने पनि

बिजमाण्डू
२०७१ साउन ११ गते ००:०० | Jul 27, 2014
घर बनाउने पैसा समेत सेयरमा लगानी, जागिर गुमाउने पनि

विजयराज खनाल/बिजमाण्डू
काठमाडौं। नेपालका क्यासिनो बन्द हुँदा रोजिरोटी गुमाउने मध्येका एक हुन् टंकप्रसाद भट्ट। क्यासिनो एभरेष्टका जागिरे भट्ट परिवार पाल्ने आयस्रोत बन्द हुँदा पिरोलिन पुगे। कामको खोजिमा भौतारिए पनि। तर, अन्यत्र रोजगारी पाएनन्। चुप बसेर पनि उपाय थिएन। उनले हिम्मत कसे र बचेखुचेको पाँच लाख रुपैयाँ लगानीको रुपमा लिएर प्रवेश गरे सेयर बजार।

Tata
GBIME
Nepal Life

चार/पाँच महिना भयो, उनको परिचय बदलिएको। एउटा जागिरेबाट उनी अहिले लगानीकर्ता बनेका छन्। भन्छन्– 'बजारबारे सिक्दैछु, अझै पूर्णआत्मवल बनिसकेको छैन।' उनले लगानी गरेका कम्पनीको सेयर माथि नै चढेको छ। राम्रो प्रतिफल आए पछि किनेको सेयर बेच्ने पर्खाइमा छन्। बजारमा सिक्ने क्रममा रहेको हुँदा थप लगानी गर्न केही समय पर्खिने उनी बताउँछन्।


गोंगबुका उज्ज्वल कर्माचार्य, बैदेशिक रोजगारीबाट फर्किएको केही महिना मात्र भयो। फेरि अर्को देश जाने सोचमा रहेका उनी नेपाल बसाइको क्रममा सेयर बजारमा लगानी गर्न आएका छन्। 'एक हप्ता भयो बजारमा आएको, साथीले कमाइ हुने भनेपछि लगानी गर्न थालेको हुँ' उनले भने।

ग्राण्ड बैंकको सेयर तीन सय ५१ रुपैयाँको दरमा दुई सय कित्ता किनेका उनी अहिले नियमित बजार आउन थालेका छन्। बजारको रसले उनको विदेश जाने मुड पनि नबदलिएला भन्न सकिँदैन।

नेप्से परिसुचकले सर्बाधिक उचाइ छोएको मौसम क्रमशः नजिकिँदै गर्दा टंक र उज्वल जस्ता नयाँ लगानीकर्ताको भरोसा सेयर बजारप्रति बढ्दो छ। २०६५ साल भदौमा हाल सम्मकै उच्च (११७५ अंक) तहमा पुगेर ओर्लिएको नेप्से परिसुचक छ बर्ष पछि त्यहि बाटोमा देखिएको हो।

सोही कारण ब्रोकर अफिसमा रहेका स्त्रि्कन अगाडी अहिले दिनहुँ नयाँ नयाँ अनुहार देखिन थालेका छन्। सेयर बजारको प्रकृतिनै यस्तो– जब बुलिश ट्रेण्ड आउँछ अनपक्षेति लगानीकर्ता बजार तिर तानिन थाल्छन्। जुन सुकै पेशा व्यवसायका मान्छे पनि केही कमाइ हुने आशमा बजारप्रति आकर्षित हुन्छन्। वित्तीय ज्ञान भण्डारमा प्रख्यात इन्भेष्टोपिडियाले लगानीको उचित वातावरणबारे गरेको ब्याख्या अनुसारको अवस्था अहिले नेपालमा देखिएको छ।

यहि कारण हो अहिले नेपालमा अलिकति पैसा हुने सबैको गफ गर्ने विषय सेयर बजार हुन पुगेको छ। कलेज देखि कार्यालय, चिया पसल देखि सार्वजनिक यातायात, मर्निङ वाक देखि पारिवारिक 'ग्यादरिङ' सबैमा सेयर बजारबारे सोध्ने र बुझाउन खोज्नेकै बहुमत छ।

यो मानवीय प्रबृत्ति पनि हो। मान्छेले जब कमाउन थाल्छ। उसले आफ्नो कमाइको चर्चा पनि आफु भित्र सिमित राख्न सक्दैन। 'साथै अर्काले कमाएको सुन्ने वित्तिकै आम्दानीको स्रोतप्रति सार्वजनिक चासो सुरु हुन्छ' भिजन सेक्युरिटिजका प्रमूख कार्यकारी अधिकृत सचिन सिलवाल भन्छन 'अहिले बजारमा ठिक यही भएको हो, सिक्ने मनसायले लगानीकर्ता साथीसँग आउने धेरै छन्।' बजारमा लगानी गर्न अहिले धेरैले आफ्ना बुनिसकेका कार्ययोजना समेत थाती राख्न थालेका छन्। नाम बताउन नचाहने एक लगानीकर्ताले भनिन्, 'घर बनाउन जम्मा रहेको पैसा थियो, बजार बढ्न थालेको देखेर यतै हालेकी छु।'


'विद्यार्थी हुँदा अलि अलि लगानी गर्थें, अहिले बजार बढ्न थालेपछि नियमित आउन थालेको छु । बुबा, आमा बेलायतमै हुनुहुन्छ, मलाई पेन्सनको रकम चलाउन दिनु भएको छ, अब वहाँहरु आएपछि थप लगानी मागेर बजारमै जम्ने बिचारमा छु'
-लगानीकर्ता सुर्य पुन

दुई/तीन बर्ष अघि कारोबार गरेका तर बीचमा निष्त्रि्कय बनेका समेत अहिले बजारमा फकिर्ने क्रम बढेको छ। 'विद्यार्थी हुँदा अलि अलि लगानी गर्थें, अहिले बजार बढ्न थालेपछि नियमित आउन थालेको छु', सामाकोशीका सुर्य पुन भन्छन। भुपु बिटि्रस आर्मीका छोरा पुन बाबुको पेन्सनबाट रकम बजारमा लगानी गरिरहेका छन्।

उनले थपे, 'बुबा, आमा बेलायतमै हुनुहुन्छ, मलाई पेन्सनको रकम चलाउन दिनु भएको छ, अब वहाँहरु आएपछि थप लगानी मागेर बजारमै जम्ने बिचारमा छु।' सेयर बजार घट्दा बुवाले पठाइ दिएको पैसा बैंकमा निक्षेप राखेका उनलाई घट्दो व्याजदरको तुलनामा बजारको वृद्धिले तानेको हो। त्यसैले उनी आफ्नो पुरानो अनुभवलाई बजारमा ब्युँझाउने तखरमा लागेका हुन्।

'साथीहरु मार्फत् छ महिना अघि बजार पसेँ, अल्पकालिन लगानीको सोच हो, कमाइ राम्रै हुँदैछ'
लगानीकर्ता बद्री अर्याल

 

काठमाडौं जीतपुरफेदी गाविसमा कुखुरा पालन गरिरहेका युवा बद्री अर्याल पनि अहिले सेयर बजारलाई आम्दानीको दोस्रो विकल्पको रुपमा हेर्न थालेका छन्। 'साथीहरु मार्फत् छ महिना अघि बजार पसेँ, अल्पकालिन लगानीको सोच हो, कमाइ राम्रै हुँदैछ' उनले बिजमाण्डूसँग भने। चार लाख जति लगानी लिएर आएका उनको पोर्टफोलियो १०/१२ लाख रुपैयाँ जति पुगि सकेको छ। बजार जति बढ्दो छ उनको आशा पनि त्यहि उचाईसँगै उक्लँदो छ।

देशमा बढेको सेयर बजारको पारोले बिदेशमा बस्नेलाई पनि तताएको छ। सेयर लगानीकर्ता पुरुषोत्तम चिमौरिया भन्छन्, 'मेरा पोर्चुगल र क्यानडामा रहेका साथीले आफन्त मार्फत लगानी सुरु गरेका छन्, उनीहरु के के मा लगानी गरौं भनेर सोध्छन्, आफुले जानेको बताइदिन्छु।' विदेशमा बस्ने १०/१२ साथीले आफन्त मार्फत सेयरमा लगानी गर्न थालिसकेको चिमौरिया बताउँछन्।

भारतमा सिए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययनरत मेघ सुवेदीलाई पनि नेपालको बजारले तानिसकेको छ। 'मेरो पढाई लगभग सकिएको छ, यहाँ आएको बेला सेयर बजारलाई बुझौं भनेर थोरै लगानी गरेको छु' उनले भने। हप्ता दिनयता दिनहुँ ब्रोकरकहाँ देखिन थालेका सुबेदीले दुई लाख रुपैयाँ जति लगानी गरिसकेका छन्।

अध्यापनरत भिजन सेक्युरिटिजका सिलवाल कलेजमा समेत अहिले पढाई भन्दा सेयरको चर्चा बढि चल्न थालेको बताउँछन्। यो क्रम व्यवस्थापन पढाइ हुने कलेजमा धेरै छ। 'अहिले माहौल नै यस्तै छ, गुडिरहेको बसमा समेत सेयरको गफ गरेको सुनिन्छ भने सम्बन्धित बिषय पढाइ हुने कलेजमा चर्चा हुनु स्वाभाविक नै हो' सिलवाल भन्छन्।

बजारले माहौल बनाएकैले पहिले नियमित ४०/५० हजार लगानीकर्ता हुने बजारमा अहिले एक/डेढ लाखको संख्यामा लगानीकर्ता पुग्न थालेको छ। पहिले सबै गरेर १५ लाख हाराहारीमा लगानीकर्ता रहेको भनिएकोमा अहिले १८ लाख जति पुगि सकेको सिलवालको अनुमान छ। अहिले हुने कुल कारोवारमा नयाँ लगानीकर्ताबाट १०/१५ प्रतिशतको दरमा पूँजी भित्रिरहेको ब्रोकहरु बताउँछन्।

उच्च सरकारी अधिकारीका नातागोता, निजीक्षेत्रका पेशाकर्मीहरु, पेन्सनहोल्डरलगायत पनि बजारमा आकर्षित भएका छन्। लगानीकर्ताको प्रवेश बढिरहेको कारण नै गत सोमवार नेप्सेको नियमित कारोबार इतिहसकै सबैभन्दा धेरै एक अर्ब २० करोड माथिको सेयर खरिद बिक्री भयो। विश्लेषकहरु यो रेकर्ड पनि छिट्टै तोडिने बताउन थालेका छन्।