काठमाडौं। बीटि (ब्ल्यांक ट्रान्सफर)मार्फत् कारोबार भएको सेयर बर्षको दुई पटक अनिवार्य रुपमा नामसारी गर्नुपर्ने नया व्यवस्था नेप्सेले गरेको छ । नया व्यवस्था अनुसार साउन देखि पुष मसान्तसम्म कारोबार भएका बीटीका सेयर माघ पहिलो साता र माघ देखि असार मसान्तसम्म कारोबार भएकाको साउन पहिलो साता नामसारी गर्नुपर्ने हुन्छ ।
यसअघि आर्थिक बर्ष सकिएपछि लगानीकर्ताले बीटीमा रहेको सेयर अनिवार्य नामसारी गर्नुपर्ने व्यवस्था रहदै आएको थियो । यसरी नामसारीमा पठाउन केही दिनको अवधि दिइने गरिएको छ । तर नामसारीको लागि नेप्सेले दिएको अवधिमा पनि बीटीमा रहेको सेयर किनबेच हुने भएकोले खरीदकर्ताले त्यो सेयर चलिरहेको आवको अन्त्यमा मात्र नामसारीमा पठाउन पाउन्दथ्यो । यस्तो प्रवृत्तिले बीटीमा रहेको सेयर लामो समयसम्म नामसारीमा नजाने भएकोले नेप्सेले नया व्यवस्था गरेको हो ।
अब भने लगानीकर्ताले तोकिएको अवधिमा बीटीमा रहेको सेयर नामसारी नगरेमा कारोबार नै गर्न पाउँदैन, नेप्सेका कायम मुकायम प्रबन्धक शम्भु पन्तले भने ।
तर नेप्सेले गत आर्थिक बर्षसम्ममा कारोबार भएको सेयरको लागि भने नया व्यवस्था लागु नहुने बताएको छ । गत आवसम्म बीटीमा रहेको सेयर नामसारीको लागि भने नेप्सेले यसपटक समय नतोक्ने भएको छ । यसअघि नेप्सेले साउन मसान्त वा कम्पनीको बुक क्लोज मिति मध्ये पहिले आउने अवधि भित्रमा बीटी (ब्ल्यांक ट्रान्सफर)मा रहेको सेयर नामसारी गर्न निर्देशन दिएको भएपनि पछि फिर्ता लिएको थियो ।
कम्पनीहरुले लाभांश दिएपछि त्यस्तो लाभांश लिन पनि लगानीकर्ताहरुले बुक क्लोज मिति अघि नै सेयर नामसारीमा पठाउने गर्दछन । बजार उच्च अवस्थामा रहेकोले अहिले छेटो छोटो समयमा प्रतिफल लिन लगानीकर्ताहरुले बीटीमा सेयर राख्ने चलन छ । बीटीमा रहेको सेयरको स्लिपको आधारमा समेत सेयर कर्जा पाइने गरेकोले पनि लगानीकर्ताहरुले नामसारीमा नै सेयर पठाउनु पर्ने बाध्यता पनि छैन । तर केही समयपछि नै कम्पनीहरुको साधारण सभा शुरु हुन थाल्ने र बुक क्लोजको मिति पनि सार्वजनिक हुने भएकोले बीटीमा रहेको सेयर नामसारीमा जाने क्रम शुरु हुने कोहिनुर सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले बताए ।











