गण्डकी र धवलागिरीमा सात हजार करदाता थपिए, पोखरामा चार सय वकिल र दुई सय सहकारी दायरामा

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
गण्डकी र धवलागिरीमा सात हजार करदाता थपिए, पोखरामा चार सय वकिल र दुई सय सहकारी दायरामा

पोखरा । गण्डकी र धवालगिरीका १० जिल्लामा गत आर्थिक वर्षमा सात हजार करदाता थपिएका छन्। यो सँगै आन्तरिक राजश्व कार्यालय पोखरा अन्तर्गत करिब  ६३ हजार करदाता पुगेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत जगदीश्वर उपाध्यायले जानकारी दिए।

Tata
GBIME
Nepal Life

करदाताको संख्यासँगै कर संकलनको बृद्धिदर पनि सन्तोषजनक रहेको उनले बताए। गत आर्थिक वर्षमा अध्यादेशमार्फत निश्चित वर्षको आयव्यय घोषणा गरी विवरण बुझाएमा त्यस अघिको कारोबारमा कर नलाग्ने योजना ल्याएकाले उत्साहजनक रुपमा करदाता थपिएको उनको विश्लेषण छ।
उक्त योजना अन्तर्गत वकिल, लेखापढी व्यवसायी, सहकारी र केही चिकित्सकहरु समेत सहभागी भएका छन्। पोखरामा मात्रै चार सय वकिल, दुई सय सहकारी करमा आबद्ध भएको उपाध्यायले बताए। यो वाहेक व्यवसायबाटै धेरै करदाताले सहभागिता जनाएका छन्। पछिल्लो समयमा व्यवसायीहरु करप्रति सचेत हुँदै गएकाले सजिलो भएको कार्यालयका अधिकारी बताउँछन्।

यसवाहेक गत आवमा दशैं अघि पोखरामा १५ जना स्वयंसेवक नियुक्त गरी बजार अनुगमन पश्चात व्यासायिक फर्महरुलाई करमा दर्ता हुन प्रेरित गरिएको थियो। यसको साथै शिक्षा सेवा शुल्कमा समेत विशेष योजना ल्याइएकाले निजी क्षेत्रका विद्यालयमा पनि करमा आबद्ध भएका थिए।
पोखराबाट धेरै कर तिर्ने फर्महरुका संख्या बढेर फाइल ठूला करदाताको कार्यालयमा गएका छन्। ठूला करदाता बाहिरिए पछि पनि आन्तरिक राजश्व कार्यालय पोखरामा भने लक्ष्य पुरा गरिरहेको छ। गत आर्थिक वर्षमा दुई अर्ब ३० करोड ३० लाख लक्ष्य रहेकोमा दुई अर्ब ३० करोड ५४ लाख रुपैयाँ कर असुली भएको छ।

उपाध्यायले भने, 'हरेक वर्ष ठूला करदाताको फाइल माथि जाने क्रम बढ्दो छ, चुनौतीकाबीच पनि लक्ष्य हासिल गर्न सकिएको छ, यसमा उद्योग वाणिज्य संघ, निजी विद्यालयका संगठन, संचारकर्मी र नागरिक समाजको उल्लेखनीय भूमिका छ।'

कर असुलीमा सबैभन्दा ठूलो योगदान आयकरबाट हुने गरेको छ। प्रमुख कर अधिकृत उपाध्यायका अनुसार, आयकरमा एक अर्ब २८ करोडको लक्ष्य रहेकोमा लक्ष्य भन्दा पाँच करोड कम अर्थात् एक अर्ब २३ करोड संकलन भएको छ। साना करदाताले तिर्न आनाकानी गर्ने र ठूला फाइल माथि जानुले लक्ष्य पुरा गर्न नसकिएको उनले सुनाए।

घरबहाल करमा लक्ष्य अनुसार नै आठ करोड ६० लाख असुली भएको छ। ब्याजकरमा १५ करोड लक्ष्य रहेकोमा १२ करोड, मूल्य अभिवृछि करमा ५३ करोड ६४ लाख रुपैयाँ उठाउनुपर्नेमा ५७ करोड ५१ लाख असुली भएको छ। अन्तशुल्कमा लक्ष्यभन्दा दुई कराड बढी अर्थात् २३ करोड, स्वास्थ्य सेवा करमा पनि लक्ष्य भन्दा एक करोड बढी अर्थात् तीन करोड २३ लाख संकलन भएको छ। यसैगरी शिक्षा सेवा करमा तीन करोड ६० लाख असुली भएको छ। यो लक्ष्य भन्दा एक करोड भन्दा बढी हो।

चालु आर्थिक वर्षमा समेत सरकारले कर संकलनका लागि विशेष छुटसहितका योजना सार्वजनिक गरिसकेको छ। करको दर भन्दा पनि दायरा विस्तार गरेमा असुली बढाउन सकिने भएकाले सरकारले यसमा ध्यान केन्द्रित गरेको हो। 'करदाता शिक्षा, उद्योग वाणिज्य संघ र अन्य निजी क्षेत्रसँग सहकार्य, सघन बजार अनुमगन गरी करको दायर बढाउन हामी लागेका छौं,' उनले भने।

पोखरामा ठूलो लगानी भएको होटेल तथा रेस्टुरेन्ट क्षेत्रबाट करमा अत्यन्तै कम सहभागिता रहेकोमा यो वर्ष विशेष अभियान नै चलाउने तयारीमा कार्यालय छ। शिक्षा सेवा कर तिर्दै आए पनि भर्ना भएका विद्यार्थी भन्दा कम देखाउने विद्यालयहरु समेत कार्यालयको नजरमा परिसकेकाले हाजिरी रजिस्टर नै हेर्ने गरी अनुगमनको तयारी रहेको उपाध्यायले बताए।