केएफसीलाई भ्याली कोल्ड स्टोरले मासु आपुर्ती गर्ने, फाइनल अडिट गर्दै, १० दिनभित्रै संझौता

बिजमाण्डू
२०७१ साउन १४ गते ००:०० | Jul 30, 2014
केएफसीलाई भ्याली कोल्ड स्टोरले मासु आपुर्ती गर्ने, फाइनल अडिट गर्दै,  १० दिनभित्रै संझौता

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । अन्तर्राष्ट्रिय फास्टफुड चेन केएफसी र पिज्जाहटले नेपालमै उत्पादित कुखुराको मासु प्रयोग गर्ने भएको छ । केएफसी र पिज्जा हट  सञ्चालन गर्दै आएको देवयानी इन्टरनेशनलले कुखुरा उत्पादन तथा प्रशोधनमा संलग्न भ्याली कोल्ड स्टोरबाट मासु लिएर प्रयोग गर्न लागेको हो । हालसम्म यो कम्पनीले ब्राजिलबाट मासु आयात गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life

यो कोल्डस्टोरबाट मासु लिन केएफसीले फाइनल अडिट गर्दै छ । केही दिनमै अडिट सक्ने र दुई पक्षबीच सम्झौता गर्ने तयारी भएको छ । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलले भने, 'उनीहरु विभिन्न प्राविधिक प्रोसेड्युरहरुमा व्यस्त छन् । त्यो सक्किएपछि हामी सम्झौता पत्रमा हस्ताक्षर गर्छौँ । अबको १० देखि १२ दिन भित्र सबै प्रक्रिया सक्छौँ । र मासु सप्लाईको काम सुरु गर्छौँ ।'
 

केही समयअघि पनि नेपालको कुखुरा उत्पादन र प्रशोधनमा संलग्न दुई फरक कम्पनीले केएफसीलाई मासु उपलब्ध गराउने प्रस्ताव गरेका थिए । तर तोकिएको गुणस्तर पुर्‍याउन नसक्ने भन्दै केएफसीले ती प्रस्ताव अस्वीकार गरेको थियो ।

रावलले दिएको जानकारी अनुसार नेपालमै उत्पादित कुखुराको मासु प्रयोग गर्दा केएफसीलाई धेरै नाफा हुनेछ । उनले भने, 'पहिला त उनीहरुको मासु ल्याउँदा लाग्ने लागत कम हुन्छ, जसले गर्दा यहाँको खानेकुरा सस्तो हुन्छ ।'

यसैगरी केएफसीले कुखुराको मासु ल्याउन एकैचोटी धेरै लगानी गर्नु नपर्ने, ग्राहकलाई ताजा खुवाउन सकिने,  मासु स्टक राखिरहनु नपर्ने र गुणस्तरीय मासु भएकोले पनि भ्यालीसँग सहकार्य गर्न इच्छुक रहेको रावलले बताए । उनले भने, 'ब्राजिलबाट ल्याउने मासुको जत्तिको क्वालिटी हामीले नै दिने भएपछि उनीहरु राजी भएका हुन् ।'

एक महिनाअघि भारतबाट नै केएफसीका कन्ट्री म्यानेजर लगायत टिमले भ्याली कोल्डस्टोरले गर्ने मासु प्रशोधनको काम हेरेको थियो ।

भ्याली कोल्डस्टोरले बालाजुस्थित औद्योगिक क्षेत्र भित्र निकै ठूलो लगानीमा गरेर प्रशोधन केन्द्र सञ्चालन गरेको छ भने बिक्री बालाजु नयाँबजारबाट गर्दै आएको छ । स्टोरले कुखुरा प्रशोधनअघि भेटनरी डाक्टरबाट जाँच गराएपछि मात्रै प्रशोधनमा पठाउँछ । रावल भन्छन्, 'हामीले जनस्वास्थ्यमा गम्भीर असर पुग्ने कुरामा लापरबाही नै गरेका छैनौँ । हामी पोल्ट्रीबाट कुखुरा ल्याएपछि त्यसलाई जाँच गरेर खान योग्य छ भनेपछि मात्रै प्रशोधनमा लैजान्छौँ ।' उनका अनुसार प्रशोधनको काम सबै स्वचालित मेशिनबाट हुन्छ ।
 
केही व्यापारीले यसअघि कुखुरा उपलव्ध गराउने विषयमा प्रस्ताव गरेका थिए । केएफसी र पिज्जाहट सञ्चालक देवयानी इन्टरनेसनलले आफ्नो मापदण्डमा कुखुरा उत्पादन गर्न सजिलो नभएकोले अहिलेसम्म नेपालमा उत्पादित कुखुरा प्रयोग नगरिएको जनाउँदै आएको थियो ।

केएफसीले कुखुराको उमेरका आधारमा त्यसको तौल निर्धारण गर्छ । कुखुरालाई खुवाइएको दानाको गुणस्तर तथा मासु प्रशोधनलाई उनीहरुले विशेष ध्यान दिने गरेका छन् ।

मूल्यभन्दा पनि केएफसीको ध्यान गुणस्तरमा छ,' रावलले भने, 'उनीहरुले प्रयोग गर्ने मासु हातले समेत छोइँदैन, मासु प्रशोधन पूर्णरुपमा मेसिनबाटै हुन्छ । हामी पनि हातले नछोइकन मेसिनबाट मासु प्रशोधन गर्छौँ ।' उनका अनुसार तोकेको गुणस्तरको मासु तयार गर्ने प्रशोधन यन्त्रकै मुल्य करिब ६ करोड भारु (नौं करोड ६० लाख रुपैयाँ) भन्दा बढी पर्छ ।

भारतमा समेत दुइटा कम्पनीले मात्रै मासु उपलब्ध गराउँदै आएका छन् । भारतमा केएफसीका दुई सय आउटलेट सञ्चालनमा छन् । यी आउटलेटमा भारतमा प्रशोधित मासु पर्याप्त नभएकाले ब्राजिलबाट आयात हुने गर्छ । नेपालमा भने बर्ड फ्लुका कारण भारत र थाइल्यान्डबाट मासु तथा कुखुरा-अन्डा आयात रोक लगाइएको छ । त्यसैले देवयानी इन्टरनेशनलले ब्राजिलबाट मासु आयात गर्छ । केएफसी र पिज्जाहटका विश्वभर ३५ हजार आउटलेट छन् । यी सबै आउटलेटमा एउटै गुणस्तर मापदण्ड पूरा गरिएका मासुमात्र प्रयोग हुने दाबी सञ्चालकले गर्दै आएका छन् ।