
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपाललाई स्वदेशी तथा विदेशी लगानीको आकर्षक गन्तब्यस्थल बनाउने प्रयास थालिएको बताएका छन् । चालु आर्थिक बर्षको बजेटमा घोषणा गरेरै लगानी तथा व्यापारसँग सम्वन्धित कानूनमा सुधार गरी नेपाललाई एक आकर्षक गन्तब्यस्थलको रुपमा स्थापित गर्ने प्रयास थालनी गरिएको उनले स्पष्ट पारे ।
व्यापार तथा लगानी संरचना सम्झौता(टिफा) अन्तर्गतको व्यापार प्रतिनिधि परिषदको वैठक तयारीका लागि नेपाल आएका मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा बरसँग अर्थमन्त्री डा. महतले जलविद्युतमा लगानी बढाउन आग्रह गरे ।
अमेरिकी दूतावासका पदाधिकारी समेत सम्मिलित भेटमा अर्थमन्त्री डा महतले नयाँ सरकार आएपछि आर्थिक एजेण्डालाई अगाडि बढाईरहेको बताए । उनले अहिले विदेशी लगानीकर्ता पनि उत्साहित भएर सोधखोज गर्न थालेको, सरकारले सन २०२२ सम्ममा कम विकसित स्तरबाट विकासशील मुलुकको स्तरमा पुग्न भौतिक तथा कानूनी सुधार व्यापक मात्रामा गरिरहेको जानकारी पनि दिए ।
नेपालमा जलबिद्युत विकासको प्रचुर संभावना रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भने, नेपालमा उत्पादन भएको उर्जा नेपालले मात्र उपभोग गर्न सक्दैन । त्यसैले ठूलो बजार प्राप्तिको लागि भारतसँग उर्जा व्यापार सम्झौता हुँदैछ ।
सरकारले कतिपय आयोजना आफै बनाउने र बिद्युत प्रसारण लाइनहरुको निर्माण गर्ने जस्ता कुरा बजेटमा उल्लेख भएको चर्चा गर्दै उनले आगामी दिनमा हुने ठूलो लगानीबाट उत्पादित बिद्युत छिमेकी देशमा बिक्री गर्न उर्जा व्यापार सम्झौता हुन लागेको स्पष्ट पारे ।
जलविद्युतका साथै बन तथा खनिज, पर्यटन, कृषि जस्ता क्षेत्रमा पनि लगानी गरेर लाभ लिन सकिने संभावना भएकोले यस क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरु हिच्किचाउन नहुने पनि उनको भनाई थियो ।
सन २०११ अप्रिलमा नेपाल र अमेरिकाबीच लगानी र व्यापार सम्वन्धी सम्झौता टिफा भएको थियो । यस सम्झौतालाई दुई देशको व्यापार तथा लगानी प्रवद्र्धनका लागि पहिलो कदमको रुपमा लिइएको छ । बरको भ्रमण दुई देशको व्यापार तथा लगानी बढाउन फलदायी हुने अपेक्षा गरिएको छ ।
बरले भारतका प्रधानमन्त्रीको भ्रमणताका हुन लागेको दुई मुलुकबीचको उर्जा व्यापार सम्झौतामा नेपालको उर्जा क्षेत्रमा भारतका लगानीकर्तालाई मात्र अनुमति दिन लागेको हो भनी जिज्ञासा राखेकि थिइन् । उनले लगानीका लागि नेपालले केही कानूनहरुमा सुधार गर्नुपर्ने र त्यस्तो सुधार गरिएमा विदेशी लगानीकर्ता र अमेरिकी लगानीकर्ता पनि आउने जानकारी दिइन् ।











