दसैंको मुखमै बाटो बन्द हुँदा ल्हासाबाट आउने सामानको मूल्य बढ्ने, जुत्ता चप्पल, कपडा महँगो

बिजमाण्डू
२०७१ साउन २७ गते ००:०० | Aug 12, 2014
दसैंको मुखमै बाटो बन्द हुँदा ल्हासाबाट आउने सामानको मूल्य बढ्ने, जुत्ता चप्पल, कपडा महँगो
काठमाडौं। सुनकोशी पोहिरोपछि बाटो अबरुद्ध हुँदा तिब्बतको ल्हासाबाट काठमाडौं आउने सामान त्यहीको भन्सार कार्यालयमा थन्किएको छ। एक साताबाट सामान रोकिँदा काठमाडौंमा त्यहाँबाट आउने सामानको मौज्दात रित्तिन लागेको छ।

 
'अब केही दिन अझै बाटो खुलेन भने उताबाट आउने सामानको मौज्दात सबै सकिन्छ,' हिमालयपार व्यापार संघका दुर्गावहादुर श्रेष्ठले बिजमाण्डूसँग भने, 'त्यसपछि मूल्य पनि बढ्ने छ।' उनले दसैंका लागि सामान मगाउने बेला भइसकेकाले अबरुद्ध भएको बाटो नखुले सामान नपाउने जानकारी दिए।
त्यस नाका भएर काठमाडौैं लगायत नेपालको अन्य स्थानमा जुक्ता र रेडिमेड कपडाहरु आउने गर्छ। जुक्ता र कपडाको माग बढी हुने दसैंमा सामानको अभावसँगै मूल्य बढ्ने दुर्गावहादुर श्रेष्ठले दावी गरे। 
 
बाटो खुलाउनका लागि सरकारले पहल गरिरहेको छ। यसका लागि निजी क्षेत्रले पनि सरकारलाई दवाव दिइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पान्डेलगायका टोली अहिले सरकारी अधिकारीहरुलाई दवाव दिन लासामा रहेको सरकारी कार्यालयहरु नै पुगेका छन्। 
 
'बाटो खोल्न खासै पहल नभएपछि हामी पहिरो गएको स्थानमै पुगेका छौं,' पाण्डेसँगै रहेका महासंघका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले भने, 'बाटो खुलेन भने यसपाली ल्हासा नाकाबाट आउने बस्तु तथा समानको मूल्य निकै महँगो हुने छ।'
 
ल्हासाबाट नियमित नै सामान आउने भएकाले काठमाडौंमा चाइनिज सामानको मौज्दात खासै हुँदैन। अचानक पैरो गएर बाटो अबरुद्ध भएकाले काठमाडौंमा भएको सामानको मौज्दात सकिन लागेको छ। 'काठमाडौंको सामान सकिने र यताबाट नआउने भएपछि अरु क्षेत्रबाट आउने सामानको मूल्यमा पनि असर गर्छ,' दुर्गावहादुर श्रेष्ठले भने।

 
उनका अनुसार, सामान्य मौसममा पनि ल्हासाबाट सामान आउन कम हुँदा मूल्य बढ्ने गरेको थियो। 'दँसैमा सामानको माग उच्च हुने भएकाले यस्तोमा सामान नआउँदा अरु नाकाबाट आउने सामानको मूल्य पनि महँगिने हुन्छ ,' उनले भने।
 
ल्हासा नाकाबाट सबैभन्दा वढी जुक्ता, चप्पल, रेडिमेड कपडा, सस्ता खाले सिंगार (डेकुरेसन) का सामानहरु आउने गर्छ। साथै सामान्य खालका विद्युतीय उपकरणहरु पनि यही नाकाहरुबाट आउँछ। 
 
'यो नाकाबाट आउने सामान अर्को नाका प्रयोग गरेर ल्याउनु पर्‍यो भने यातायातकै कारणले पनि मूल्य महँगो हुन जान्छ,' राजेन्द्र श्रेष्ठले भने, 'त्यही भएर हामीले चाँडोभन्दा चाँडो बाटो खोल्न सरकारी अधिकारीहरुलाई भनिरहेका छौं।'
 
व्यवसायीका अनुसार, नेपाली क्षमताले नभ्याए चीनको सहयोगमा थुनिएको नदिलाई सुचारु गर्नु पर्छ। 'हामीले मात्र गर्न सक्ने अवस्था छैन, अब चिनको सहयोग लिएर नदि सुचारु गर्नु पर्छ, त्यसपछि मात्र बाटो खुल्छ,' दुर्गावहादुर श्रेष्ठले भने। 
 
पछिल्लो समय सामान ढुवानी गर्ने ट्रकहरुले पनि भाडा बढाएका छन्। ढुवानीको भाडा पनि सामानमै जोडिने भएकाले मूल्य अझ वढ्ने छ। व्यवसायीहरुले सामान भित्राउन अन्य विकल्पहरु हेलिकप्टर, भरियाको प्रयोग गरेका छैनन्। 'अन्य विकल्पमा जाँदा सामानको मूल्य कल्पनै गर्न नसकिने गरी बढ्छ,' उनले भने, 'त्यही भएर बाटो खुल्ने प्रतिक्षामा नै बसेका छौं।'
 

Tata
GBIME
Nepal Life