विजयराज खनाल/बिजमाण्डू
काठमाडौं। गत ५ गते १०८३ मा पुगेर फर्किएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवारसम्ममा करिब ६० अंक (५.७२ प्रतिशत) गुमाइसकेको छ। मंगलवार मात्रै नेप्से परिसुचक १८.७३ अंकले घटेको छ।
नाफा वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरिरहेका कम्पनीहरुको मूल्यमा समेत सुधार हुन सकेको छैन। बजारमा करेक्सन देखिएको र लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतिर लागेकोले बजार घट्न थालेको विश्लेषक तथा लगानीकर्ताहरु बताउँछन्। बजार घट्नु पर्ने खासै कारण नरहेकाले सेयर होल्ड गरेर राख्नु बुद्धिमानी हुने उनीहरुको भनाइ छ।
बिजमाण्डूले चार जना विश्लेषक, बजार निर्माता र लगानीकर्ताहरुसँग सोधेको छ– सेयर बजार किन घटिरहेको छ?
उनीहरुका अनुसार, नौं प्रतिशत व्याजदरमा नै सेयर कर्जा पाइरहेको र तरलता पनि पर्याप्त रहेकोले बजार घट्नु पर्ने खास ठूलो कारण छैन। तर सेयर किनबेच गर्ने ब्रोकरहरु सेयर राफसाफ गर्न गर्न आवश्यक रकम जोहो गर्न नसकेर आउट हुने क्रम बढेकाले परिसुचक घटेको हो। बजार घट्न थालेपछि नयाँ लगानीकर्ताले आत्मविश्वास गुमाएर धमाधम बिक्री गर्न थालेका बजार फराकिलो अन्तरले ओरालो लागेको उनीहरुको तर्क छ। पनि
प्रतिफल सुरक्षित गर्न थालेकाले बजार घटेको होः पराजुली
– आधारभुत पक्षबाट हेर्दा अहिले बजारमा करेक्सन देखिएको छ। प्रतिफल सुरक्षित गर्ने क्रम बढेकाले बजार घटेको हो।
– केही निश्चित कम्पनीको मात्र दशैंअघि बार्षिक साधारण सभा हुने देखिएकोले छोटो अवधिमा प्रतिफलको आशा गर्न नसकिने भएकोले यसको प्रभाव बजारमा परेको हो।
– बीमा र जलविद्युत् समूहका केही कम्पनीहरुको मूल्य उच्च भइसकेकोले तीनिहरुकोमा करेक्सन देखिएकोले पनि केही प्रभाव सगम्र बजारमा परेको हो। अघिल्लो पटक बजार बढेको बेलामा बैंकहरुले पाएको मूल्य पनि खासै ओभर भ्यालु देखिएका थिएनन तर यस पटक यो समूहका कम्पनीहरुको मूल्य बढ्न सकेको छैन।
– बजार घट्नु पर्ने अन्य बाहिरी कारणहरु केही पनि छैन, अहिले पनि बजारमा पर्याप्त तरालता छ, व्याजदर कम छ।
– कम्पनीहरुको बार्षिक साधारण सभा हुन थालेपछि भने बजार बढ्ने देखिन्छ।
– अहिलेको बजार तथ्यांकले चलेको छैन, बुलिश वा वियरिश प्रवृत्तिमा यस्तो अवस्था आउछ। त्यसैले नाफा बढेका कम्पनीको प्राइस बढ्न नसकेको हो। तर यस्तो तथ्यांकले भने मूल्य मेनटेन हुन सहयोग पुगेको छ।
समय अगावै बजार घट्न थाल्यो : बस्नेत
– बजार डिप्रेस्ड बुल रनमा रहेकोले तत्काल ११ सय ७५ अंक नभेट्ने देखिन्छ। त्यसैले समय अगावै बजार घट्न थालेको हो।
– लगानीकर्ताहरुले मुनाफा सुरक्षित गर्दै जानु उचित हुन्छ। बजार अझै केही सय अंक घट्न सक्छ। २०६५ मा पनि नेप्से १०६५ मा पुगेर केही सय अंक घटेको थियो। त्यसपछि मात्र नेप्से ११ सय ७५ अंकमा पुगेको थियो।
– केही समयभित्रै नेप्सेले दुई पटक बढ्दो प्रवृत्ति समात्छ। लगानीकर्ता आत्तिहाल्नु पर्ने अवस्था छैन, किनभने बजारले केही समय लगाउला तर नयाँ उचाई बनाउँछ नै।
नयाँ लगानीकर्ताहरु अपरिपक्व देखिएका हुन्ः प्रियराज रेग्मी, प्रमूख, क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज
– नयाँ लगानीकर्ताहरु अपरिपक्व देखिएका हुन्। उनीहरुमा सेयर किन्ने बेला र घटेको समय दुवै अवस्थामा आत्तिने प्रवृत्ति रहेकाले बजारमा प्रभाव परेको हो।
– कतिपय लगानीकर्ता पोर्टफोलियो चेन्जको क्रममा रहेका छन्। यसले गर्दा आफुले बिक्री गरेपछि सस्तो दरमा अरु सेेयर किन्ने प्रयासमा छन्। यसले पनि मोलमोलाई बढेको छ। जसले गर्दा बजार घट्छ भन्ने मनोबिज्ञानले बजार बढ्छ भन्ने मनोविज्ञानलाई जितिरहेको छ।
– निकै कम मूल्यमा सेयर किनेकाहरुले अहिले पनि उच्च प्रतिफल पाइरहेका छन्। बजार घटिरहेकाले केही लगानीकर्ता अहिले नै भएको प्रतिफल सुरक्षित गर्ने प्रयासमा लागेका छन्।
– राफसाफमा ढिलाईले ब्रोकरहरु आउट भएका छन्। यसले कारोबारमा कमी आएको छ र बजार प्रभावित भएको छ। तर पनि राफसाफ कै कारण ठुलो रकम होल्ड भने भएको छैन। लगानीकर्ताहरुले चार दिनको सट्टा पाँच दिनमा रकम पाएका होलान् तर रकम नै नपाएको अवस्था भने होइन।
ऋण तिर्न शुरु गरेका लगानीकर्ताहरुले सेयर बेचिरहेका छन्ः दुर्गा उप्रेती, सेयर लगानीकर्ता
– राफसाफमा ढिलाईले लगानीकर्ताले समयमै रकम पाएका छैनन्, यसका असर बजारमा परेको हो।
– केही दिनमै बजार लगातार ६० अंकभन्दा बढिले घटिसकेको छ, यही कारण कतिपय लगानीकर्ताले कन्फिडेन्स गुमाएका छन् । ५० अंकसम्म घटेर बजार पुनः बढेको भए आत्मविश्वास गुम्दैन थियो।
– ऋण तिर्न शुरु गरेका लगानीकर्ताहरुले सेयर बेचिरहेका छन् जसको असर बजारमा देखिएको हो।
– सबैभन्दा महत्वपूर्ण कुरा, बजार उच्च बिन्दुमा हुँदा सेयर बिक्री गर्न कठिन हुन्छ। बजारले उच्चतम अंक भेटेको कतिपयको विश्लेषण छ, यही बेला सेयर बेचेर राफसाफ गरिसक्नु पर्छ भन्ने मनोविज्ञानले काम गरेकाले बजारलाई प्रभावित पारेको हो।
– लगानीकर्ताको आत्मविश्वास घटेकाले यो बढ्न केही समय अवश्य लाग्छ। अहिले खासै बजार मूल्यलाई प्रभाव पर्ने कुराहरु नआएपनि अब सार्वजनिक हुने लाभांश घोषणाले बजारलाई गति दिन सक्छ।











