काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पुँजी नपुर्याएका बैंक तथा वित्तीय संस्थाहरुको नगद लाभांस वितरण तथा शाखा विस्तारमा रोक लगाएको छ। राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै भदौपछि निक्षेप संकलन र कर्जा विस्तारमा पनि कडाइ गर्ने भएको छ।
.JPG)
राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार भदौ मसान्तसम्म कायम रहने निक्षेपमा पाँच प्रतिशतभन्दा वढी हुने गरी थप निक्षेप संकलन गर्न नपाइने व्यवस्था गरेको छ। यसैगरी भदौपछि कर्जा लगानी गर्न पूर्णतया रोक लगाएको छ।
राष्ट्र बैंकले तोकेको समयमा सात बाणिज्य बैंकसहित ५१ वटा संस्थाले चुक्ता पुँजी पुर्याएका छैनन्। बैंक अफ काठमाण्डू (बिओके) अन्य तीन संस्थासँग मर्जरको प्रकृयामा छ भने भने एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, सिद्धार्थ बैंकले तोकिएको चुक्ता पुँजी पुर्याएका छैनन्।
राष्ट्र बैंकका अनुसार, बाणिज्य बैंकहरुले दुई अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले ६४ करोड, १० जिल्ले विकास बैंकले २० करोड रुपैयाँ र त्योभन्दा कम जिल्ला कार्यक्षेत्र ओग्टने विकास बैंकहरुले १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्छ।
राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले २० करोड रुपैयाँ र क्षेत्रीयस्तरका फाइनान्स कम्पनीहरुले चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनु पर्ने हुन्छ। पुँजी नपुर्याउनेमा सात बाणिज्य बैंक, राष्ट्रियस्तरका तीन विकास बैंक, १० जिल्ले एक विकास बैंक, त्योभन्दा कम कार्यक्षेत्रमा कारोबार गरिरहेका २४ विकास बैंकहरुले तिकिएको पुँजी पुर्याएका छैनन्।
यसैगरी चार वटा क्षेत्रीयस्तरका फाइनान्ससहित १८ कम्पनीले पनि तोकिएको पुँजी पुर्याएका छैनन्। तोकिएको पुँजी नपुर्याएका कतिपय विकास बैंक र फाइनान्स कम्पनीहरु हकप्रद सेयर निस्कासनको तयारीमा समेत छन्। साथै कतिपय वित्तीय संस्थाहरुले सर्वसाधारणलाई सेयर बिक्री गर्न बाँकी नै छ।
चुक्ता पुँजी नपुर्याउने बाणिज्य बैंक र विकास बैंकभन्दा वढी समस्या फाइनान्स कम्पनीमा देखिएको छ। राष्ट्र बैंकका अनुसार १७ वटा फाइनान्स कम्पनीमा बढी समस्या छ। यसमध्ये सात वटा संस्थाले बोनस र हकप्रदबाट जसोतसो पुँजी पुर्याउन सक्छन्। बाँकी १० वटा संस्था भने मर्जरमा नगइ पुँजी पुर्याउनु अवस्थामा छैनन्। १० मध्ये सात वटा संस्थाले मर्जरका लागि पार्टनर भेटिसकेका छन् भने बाँकी तीन खोजिगरिरहेका छन्।
'हामीले पुँजी बृद्धिको योजना सबैसँग मागेका छौं,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले भने, 'कतिले मर्जर र कतिले वोनस तथा हकप्रद सेयर जारी गर्ने जनाएका छन्।'
पुँजी नपुर्याउने फाइनान्समा नेपाल आवास, नेपाल फाइनान्स, काठमाडौं, युनियन, नेपाल हाउजिङ, श्रीइन्भेष्टमेन्ट, ललितपुर, प्रोग्रेसिभ, सेन्ट्रल, प्रिमियर, अरुण, श्रृजना, गुहेश्वरी मर्चेन्ट, पाटन, भक्तपुर, सगरमाथामाथा मर्चेन्ट र नेपाल एक्सप्रेस फाइनान्स छन्।
यसमध्ये नेपाल आवास, काठमाडौं, ललितपुर, सेन्ट्रल, श्रृजना, गुहेश्वरीले हकप्रद र वोनस सेयर वितरण गरेर पुँजी पुर्याउने जानकारी राष्ट्र बैंकलाई गराएका छन्। बाँकी संस्था भने मर्जरमा जाने भएका छन्। यसमध्ये भक्तपुर फाइनान्सले भने सर्वसाधारणलाई सेयर बिक्री गर्न बाँकी छ।










