घोषणा पत्रमा गरेको प्रतिवद्धता पुरा गर्न एमाले अध्यक्ष ओलीसँग आग्रह, साझा आर्थिक एजेण्डा तय गरौ

बिजमाण्डू
२०७१ भदौ ३ गते ००:०० | Aug 19, 2014

काठमाडौं। नेपाल चेम्वर अफ कमर्सको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुसार काम गर्न आग्रह गरेको छ। चेम्बरका प्रतिनिधिले सोमबार अध्यक्ष ओलीलाई भेटेर लगानीको वातावरण बनाउन पनि आग्रह गरेका हुन्।

Tata
GBIME
Nepal Life

चेम्वरका अध्यक्ष श्री राजेश काजी श्रेष्ठले राजनैतिक दलहरुले घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुसार काम गर्नुपर्ने बताउँदै न्युनतम साझा आर्थिक एजेण्डा तय गरेर मुलुकको आर्थिक क्रियाकलापलाई अगाडि बढाउन आग्रह गरे। विभिन्न मुलुकका राजदूत एवं उद्योगी व्यवसायीहरुसँगको छलफलमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक रहेको पाएको बताउंदै उनले सरकार तथा राजनैतिक दलहरुलाई लगानीमैत्री वातावरण बनाउन अनुरोध पनि गरे।

अध्यक्ष श्रेष्ठले आर्थिक ऐनकानूनहरु आउन ढिलाई हुदां लगानीमा प्रत्यक्ष असर परेको बताउंदै लोडसेडिङ, शान्तिसुरक्षा, दक्ष जनशक्तिको अभाव, श्रम समस्या, भौतिक पूर्वाधार, चर्काे व्याजदर, बन्द हडताल, चन्दा आतंक जस्ता समस्याले निजी क्षेत्र आक्रान्त रहेको बताए।

अवरुद्ध अरनिको राजमार्ग छिटो खुलाउन पहल गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे। राजमार्ग अवरुद्ध हुँदा राजश्व घट्नुका साथै औद्योगिक कच्चा पदार्थको अभावमा उद्योग धन्दा प्रभावित हुने र उपभोग्य बस्तुको अभावले शान्ति सुरक्षा समेत प्रभावित हुन सक्ने उनले बताए।

छलफलका क्रममा अध्यक्ष ओलीले संविधान सभाको दोस्रो निर्वाचनले राज्य संचालनका कठिनाईहरु अन्त्य गरी नयाँ संविधान निर्माणको मार्ग प्रशस्त गरेको बताए। उनले आर्थिक सम्मृद्धिले मात्र मुलुकमा दीगो शान्ति र स्थायित्व हासिल हुने भएकाले आर्थिक क्षेत्रका समस्याहरु समाधान गर्न आफूले पहल गर्ने बताए।

अध्यक्ष ओलीले मुलुकमा उपलव्ध साधन र श्रोतको समुचित प्रयोगले आर्थिक रुपान्तरण सम्भव हुने बताउँदै लगानीमैत्री वातावरण बनाउन राज्यले गर्नु पर्ने कार्यहरु बारे स्पष्ट खाका आवश्यक रहेको पनि बताए।