राज्यका गुप्तचरमाथि अख्तियारको गुप्तचरी, अनुसन्धान विभागका दुई प्रहरी घुससहित पक्राउ

बिजमाण्डू
२०७१ भदौ ३ गते ००:०० | Aug 19, 2014
काठमाडौँ । विदेश जानलाई सजिलो बनाउन सेटिङ मिलाइदिने भन्दै रेस्टुरेन्ट बोलाएर घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकारीलाई नियन्त्रणमा लिएको पहिलोपोस्ट अनलाइनले जनाएको छ।
 
सिनामंगलस्थित 'बाजेको सेकुवा' रेस्टुरेन्टबाट अख्तियार टोलीले विभागका निरीक्षक राजन थापा र असई विश्वेश्वर आचार्यलाई ७५ हजार रकमसहित नियन्त्रणमा लिएको हो। 
 
राष्ट्रिय अनुसन्धान विभाग गुप्त सूचना संकलन गर्ने देशको प्रमुख निकाय हो।
 
असई आचार्य गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला प्युठान निवासी हुन्। गौतम गृहमन्त्री भएपछि उनलाई अनुसन्धान विभागका प्रमुख जितबहादुर केसीले विमानस्थल खटाएका हुन्। निरीक्षक थापामाथि भने यसअघि नै भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको आरोपमा अनुसन्धान भइरहेको थियो।
 
दुवैलाई राष्ट्रिय अनुसन्धान विभागले विमानस्थलको गतिविधिबारे सूचना स‍ंकलन गर्न खटाएको हो। 
 
तर उनीहरुले अध्यागमनमा रहेर विदेश जाने तयारीमा रहेका व्यक्ति वा आफन्तसँग सेटिङ मिलाउन घुस माग्ने गरेको उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो। 
 
यसअघि अख्तियारले सम्पति शुद्धिकरण अनुसन्धान विभागका शाखा अधिकृत शम्भु चालिसेलाई १० लाख घुस लिँदालिँदै साउन ३१ गते पक्राउ गरेको पहिलोपोस्टले जनाएको छ। 

Tata
GBIME
Nepal Life