पुष्प व्यवसाय प्रवर्दनका लागि चार करोड रुपैयाँ, चोभारमा प्याक्टमार्फत होलसेल मार्केट बनाउने

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014

काठमाडौं । कृषि बिकास मन्त्रालयले यस वर्ष पुष्प व्यवसाय प्रवर्दनका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । राजधानीमा बुधबार आयोजित फ्लोरिकल्चर एशोसियसन नेपालको २२ औं साधारण सभामा कृषि अर्थविज्ञ सुनिल कुमार सिंहले फ्लोरिकल्चर क्षेत्रको बिकासका लागि सरकारले चार करोड रुपैयाँ विनयोजन गरेको र यस बाहेक पनि सरकारले पुष्प व्यवसायका लागि धेरै काम गर्न बाकी रहेको बताए ।

कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायका प्रमुख समस्या कर, बित्तिय क्षेत्रको लगानी र सरकारी नीतिनियमका अप्ठेराहरु रहेको बताएका छन् । यी समस्या सुल्झाउन महासंघले सरकारसँग लबिङ गर्ने उनले बताएका छन् ।

Tata
GBIME
Nepal Life

कृषि विकास मन्त्रालयका सहसचिब तथा प्याक्टका निर्देशक योगेन्द्र कुमार कार्कीले फ्लोरिकल्चरको सम्बन्ध आर्थिक, सामाजिक, साँस्कृतिक,सौन्दर्य तथा स्वास्थ्यसँग जोडिएको कारणले गर्दा प्याक्ट मार्फत यो क्षेत्रलाई बिशेष प्राथमिकता दिएको बताए । उनले चोभारमा फ्लोरिकल्चरको होलसेल मार्केट बनाउन पहल भइरहेको जानकारी पनि दिए ।

फ्यानका अध्यक्ष लोकनाथ गैरेले कृषिमा भ्याट नलाग्ने भनिएपनि सरकारी निकायमा प्रतिस्पर्धा गर्न भ्याटमा दर्ता भएको हुनुपर्ने नियमका कारण अप्ठेरो अवस्था सृजना भएको बताए । फ्यानका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले ३८ जिल्लाका एक सय ३७ हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिरहेको, छ सय ५० पुष्प फार्महरु दर्ता भइ ४१ हजार भन्दा बढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेको बताए । उनले एक अर्ब १५  करोडको कारोबार भइरहेको जानकारी दिए । 

फ्लोरिकल्चर एशोसियसन नेपालले हरेक बर्ष अन्तर्राट्रिय मेला, गोदावरी मेला र लालुपाते मेलाको आयोजना गर्दै आएको छ ।