४३ दिनपछि एक हजार मुनि आइपुग्यो नेप्से परिसूचक, विज्ञ भन्छन्: डराउनु पर्ने अवस्था होइन

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014
४३ दिनपछि एक हजार मुनि आइपुग्यो नेप्से परिसूचक, विज्ञ भन्छन्: डराउनु पर्ने अवस्था होइन
काठमाडौं। नेप्से परिसूचक ४३ दिनसम्म एक हजार माथि रहेपनि बुधवार भने यो तहबाट तल झर्‍यो । नेप्से परिसूचक करिब १८ अंकले घटेर नौं सय ९५ मा आइपुगेको छ । ४३ दिनको अवधिमा नेप्से एक हजार ८३ सम्म पुगेर तल आर्लिएको छ । 

Tata
GBIME
Nepal Life

‘हामीले एक हजारमा टर्निङ प्वाइन्ट होला भन्ने सोचेका थियौं, तर त्यसो भएन, अहिलेको अवस्थालाई प्यानिङ सेल नै मान्नु पर्छ,’ एबीसी सेक्युरिटिजका प्रबन्ध निर्देशक नितेश कुमार अग्रवाल भन्छन् । बजारमा पर्याप्त तरलता भएकोले लगानीमा भने कमि आएको छैन । बुधवार पनि ५१ करोड रुपैयाँको कारोबार भएको छ । अहिले सेयर धितोमा नौं प्रतिशतमै कर्जा उपलब्ध भइरहेको अग्रवाल बताउँछन् । 

अहिले बजारमा चाहेर पनि लगानीकर्ताले म्यानुपुलेशन गर्न सकने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । एक, दुई कम्पनीको सेयर मूल्यमा सक्लान तर सबै बजारलाई प्रभावित पार्न अहिलेको अवस्थामा सम्भव छैन ।

२० प्रतिशत बोनस सेयर घोषणा गरेको गरिमा बिकास बैंकको भने सेयर मूल्य १५ रुपैयाँले बढेको छ । बैंकको सेयर मूल्य चार सय दुई रुपैयाँ पुगेको छ । एक सय ३७ कम्पनीको सेयर कारोबार भएकोमा १६ कम्पनीको मात्र मूल्य बढेको छ ।


नेपाल फाइनान्स, टुरिजम डेभलपमेन्ट, नेपाल इन्स्योरेन्स लगायतको सेयर मूल्य आठ देखि करिब १० प्रतिशतसम्म घटेको छ । ललितपुर फाइनान्सको सेयर पनि ९.७९ प्रतिशतले बढेर तीन सय ७० मा कारोबार भएको छ । नाफा ५६ करोड रुपैयाँ पुर्याएको वित्तिय विवरण प्रस्तुत गरेको कम्पनीको सेयर मूल्य बढेको हो । प्रोगेसिभ र अरुण फाइनान्ससँग मर्जरमा रहेपनि राष्ट्र बैंकसँग अनुमति लिएर कम्पनीको सेयर कारोबार केही साता अघि खोलिएको थियो ।
  

डराउनु पर्ने अवस्था होइनः लगानीकर्ता निरञ्जन टिवरेवाला
 
अहिलेको सेयर मुल्यलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन। यसमा तीन वटा पक्ष छ।  पहिलो विदेशी साझेदार भएका बलिया बैंकहरु र विदेशी चेन भएका होटल तथा जलविद्युत कम्पनीहरु, दोस्रोमा स्थानीय व्यवस्थापनकै बलिया सस्थाहरु र तेस्रोमा कमजोर व्यवस्थापन भएका बैंक तथा वित्तीय र अन्य पब्लिक कम्पनी। सेयर मुल्यलाई यही आधारबाट विश्लेषण गर्नुपर्छ।

व्याकअप राम्रो भएका कम्पनीको सेयर मुल्य धेरै तल झर्दैन। विदेशी साझेदार रहेका केही बैंकहरुको निकै राम्रो व्याकअप छ। यस्ता सस्थाहरुको सेयरको मुल्य घट्ने संभावना छैन। बढ्ने संभावना धेरै छ। कति प्रतिसत बढ्छ भन्ने मात्र हो। उनीहरु प्रविधि, पुँजीलगायतमा कुनै समस्या छैन। कमजोर व्याकअप भएका सस्थाको सेयर मुल्य धेरै बढ्दैन।

होटल र जलविद्युतमा पनि यस्तै अवस्था छ। बलियो व्यवस्थापन भएका यस्ता सस्थाको सेयर मुल्य घट्दैन, बढ्ने संभावना नै धेरै हुन्छ। यस बाहेक कम्पनीहरुले दिने लाभांसले पनि केही असर गर्छ। लगानीकर्ताले यही दृष्टिकोणबाट बजारलाई हेर्दा उपयुक्त हुन्छ।