अर्थमन्त्री महतसँग भारतीय राजदूतको भेट, कर्जा उपयोगमा छलफल, सडक र विद्युत नेपालको प्राथमिकता

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014

काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि भारतका राजदूत रञ्जित रेबीच बुधवार भेट भएको छ । भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा घोषणा भएको विकास सहायतालाई कार्यान्वयन गर्ने सम्वन्धमा छलफल भएको अर्थमन्त्रालयले जारी प्रेस विज्ञप्तिमा छ ।
भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका अवसरमा नेपाललाई एक अर्ब डलर बराबरको सहयोगको घोषणा गरेका थिए । घोषणा भएको सहयोगलाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा अर्थमन्त्री डा महतले जोड दिएका छन् ।
नेपालको प्राथमिकता काठमाडौं तराई द्रुतमार्ग, मध्यपहाडी सडक र जलबिद्युत आयोजना भएको जानकारी दिदै अर्थमन्त्री डा. महतले जलबिद्युत आयोजनामा विशेषगरी बुढीगण्डकी र नलसिंगाड भएको स्पष्ट पारे ।
अर्थमन्त्री डा महतले भारतका प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशको सम्वन्धलाई प्रगाढ बनाउन ठोस भूमिका निर्बाह गरेको समेत राजदूत रेलाई बताए ।
भेटमा क्रिकेट एकेडेमी निर्माणका साथै पोखरा, भैरहवा र नेपालगञ्जमा क्रिकेट खेल मैदान निर्माण, झुलाघाट पुल निर्माणमा पनि छलफल भएको अर्थमन्त्रालयले जारी प्रेस विज्ञप्तिमा छ ।
नेपालका लागि भारतका राजदूत रेले प्रधानमन्त्री मोदीको भ्रमणका अवसरमा घोषित सहयोगलाई शीघ्र कार्यान्वयनमा ल्याउन भारत तयारीमा रहेको जानकारी दिए । उनले सहयोगको सहुलियतपूर्ण ब्याज १.७५ प्रतिशतको सट्टा एक प्रतिशत मात्र भएको जानकारी पनि दिए ।
राजदूत रेले नेपाल र भारतबीच सहमति भैसकेका बुँदाहरुमा फेरि छलफल नगरी असहमत बुँदालाई पनि छिटो सहमतिमा लगि बिद्युत व्यापार र बिद्युत विकास दुबै सम्झौता गर्नुपर्नेमा जोड दिए ।

Tata
GBIME
Nepal Life