स्वदेशमै सवारी साधन उत्पादन गर्न अर्थमन्त्रीको आग्रह, भन्सारदर अव्यहारिक भएको व्यवसायीको भनाई

बिजमाण्डू
२०७१ भदौ ५ गते ००:०० | Aug 21, 2014
स्वदेशमै सवारी साधन उत्पादन गर्न अर्थमन्त्रीको आग्रह, भन्सारदर अव्यहारिक भएको व्यवसायीको भनाई


काठमाडौं। अर्थमन्त्री डा. रामशरण महतले स्वदेशमै गाडि उत्पादन गर्न अटोमोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन्। मोटरसाइकल र साना कारको बजार निकै बढेको उदाहरण दिदै अर्थमन्त्रीले यस्ता सवारी साधन स्वदेश मै उत्पादन गर्न अटो क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल अटोमोवाइल डिलर एशोसियसन (नाडा) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले व्यवसायीहरुले स्वदेशमा नै गाडि उत्पादन शुरु गरे सरकारले संरक्षण दिने बताए। 'स्वदेशमै सवारी साधन उत्पादन शुरु गर्नुहोस, सरकार प्रोटेक्सन गर्न तयार छ', उनले भने।

अर्थमन्त्रीले राजधानीको यातायात खराव अवस्थामा रहेको बताए। विशेषगरी राजधानी भित्रका ट्याक्सीको अवस्था निकै खराव रहेको अर्थमन्त्रीले बताए। उनले यस्ता ट्याक्सी हटाएर नयाँ सञ्चालन गर्नुपर्ने बताए। 'अहिलेका ट्याक्सी पर्यटक चढ्नै नसक्ने खालका छन्, चढदा पनि गनाउने छन्, उनले भने, त्यसैले काठमाडौंको ट्याक्सीको अपग्रेड गर्नुपर्यो र एयरकन्डिसनसहितका ट्याक्सी ल्याउनुपर्यो।'

अर्थमन्त्रीले सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोक्नुपर्ने भन्दै थोत्रा ट्याक्सी हटाउँदा यूनियनको घेराबन्दीमा परिने अवस्था रहेको गुनासो गरे। उनले युनियनको घेराबन्दीले सरकार नचल्ने भन्दै सरकारले कडा र बोल्ड निर्णय गर्नुपर्नेमा जोड दिए। उनले सार्वजनिक यातायात सुधारमा अर्थमन्त्रालय सकारात्मक रहेको र सम्बन्धित निकायलाई सुधारको कार्ययोजना सहित आउन निर्देशन दिएको बताए।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष शेखर गोल्छाले सरकारको सडक विस्तारको योजना राम्रो भएको भन्दै दुर्घटना घटाउने सुरक्षाका उपाय अपनाउन सबै सचेत हुनुपर्ने बताए। उनले बजेट अटोमोबाइल क्षेत्रलाई नसमेटेको गुनासो गर्दै सबैलाई मान्य हुने किसिमको भन्सार मुल्यांकन पद्धती कायम गर्न अर्थमन्त्री समक्ष आग्रह गरे। अध्यक्ष गोल्छाले नयाँ ट्याक्सी दर्ता खुला गर्नुपर्ने र अहिलेको प्रतिबन्ध हटाउनुपर्ने माग समेत गरे।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले सडक संजाल विस्तार गर्नुपर्ने भन्दै आर्थिक क्षेत्र चलायमान भएमा नै अटोमोबाइल व्यवसायको क्षेत्रपनि फराकिलो हुने बताए। उनले कर धेरै भएकोले स्पेयर पार्टसको चोरी निकासी भएको भन्दै यसलाई घटाउनुपर्ने माग गरे।

हाल मुलुकभर करिब एक लाख किलोमिटर सडक निर्माण भएको छ भने  यातायात व्यवस्था विभागका अनुसार मुलुकभर १७ लाख भन्दा बढि सवारी साधन दर्ता भएका छन्।