नेपाली कामदार पठाउन मलेसियाको आग्रह, कामदारलाई मलेसिया जाँदा लाग्ने दस्तुर कम गर्न माग

बिजमाण्डू
२०७१ भदौ ५ गते ००:०० | Aug 21, 2014
नेपाली कामदार पठाउन मलेसियाको आग्रह, कामदारलाई मलेसिया जाँदा लाग्ने दस्तुर कम गर्न माग
  काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइमले नेपालबाट साधारण कामदार जस्तै घरेलु कामदार पनि पठाउन नेपाली पक्षसँग आग्रह गरेका छन् ।

दुई दिने नेपाल भ्रमणको क्रममा बुधबार नेपाल आएका मन्त्री जइमले बिहीबार नेपालका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग भेटी नेपालबाट घरेलु कामदार लैजाने वातावरण बनाउन आग्रह गरे । राज्यमन्त्री गुरुङले भेटघाटमा भएको छलफलबारे सञ्चारक्रमीलाई जानकारी दिँदै भने, 'मलेसीयाले हाउसमेड (घरेलु कामदार) भन्दा माथिको पद 'हाउस म्यानेज' मा नेपाली कामदार लैजान माग गरेको छ । हामी यसमा सकारात्मक छौँ ।'

Tata
GBIME
Nepal Life

राज्यमन्त्री गुरुङका अनुसार भेटमा मलेसिया र नेपालबीच घरेलु कामदार र सामान्य कामदार लैजाने विषयमा समझदारीपत्र (एमओयु) बनाउने सहमति भएको छ । यसका लागि दुवै देशका श्रममन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिनेछ।

'कार्यदलले दुई महिनाभित्र समझदारीपत्र तयार पार्ने र समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सहभागिता जनाउन नेपालका श्रममन्त्री मलेसिया जाने कुरा भएको छ, ' मन्त्री गुरुङले भने ।

मलेसियाले अन्य मुलुकसँग पनि घरेलु कामदार पठाउनेबारेको सम्झौतामा हस्ताक्षर गरेकाले ती सम्झौता अध्ययनका लागि नेपाललाई पठाउने र त्यसमा दुवै पक्षले थप छलफल गरी सम्झौतालाई अन्तिम टुङ्गो लगाउने सहमति बिहीबारको भेटवार्तामा भएको छ।

भेटमा नेपाली पक्षले नेपाली कामदारहरुलाई मलेसियामा जाँदा लाग्ने दस्तुर कम गर्नसमेत आग्रह गरेको थियो।
बायोमेट्रिक प्रणाली लागू गर्दा नेपाली कामदारलाई थप आर्थिक भार पर्ने भएकाले त्यसबारे पुनःविचार गर्न मलेसियाली मन्त्रीसँग आग्रह गरिएको मन्त्री गुरुङले जानकारी दिए।

भेटपछि मलेसियाली मन्त्री जइमले नेपाली कामदार इमान्दार, परिश्रमी र मिलनसार भएकाले उनीहरुलाई काममा राख्न प्रोत्साहन दिने नीति आफ्नो सरकारले लिएको बताए। उनले भने, 'मलेसियामा पाँच लाख नेपाली कामदार छन् । थप नेपाली कामदार लैजान हामी इच्छुक छौँ ।'

मन्त्री जइमले मलेसिमा अवैधरुपमा बसिरहेका नेपाली कामदार र मलेसियामा बन्दी जीवन बिताइरहेका नेपालीलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउने बारेमा छलफल भइरहेको जानकारी दिए ।

नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार यहाँ आएका मन्त्री जइम बिहीबार मलेसिया फर्कने कार्यक्रम छ।